फिचर

सात प्रदेशमा साढे दुई खर्ब माथिको बजेट, कुनमा कति ?

काठमाडौं । मंगलबार मुलुकका सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८\७९ को बजेट सार्वजनिक गरेका छन् । सम्बन्धित प्रदेशको प्रदेश सभामा आज बजेट प्रस्तुत भएको हो । सात वटा प्रदेशमा कुल २ खर्ब ६४ अर्ब भन्दा माथिको बजेट आएको छ । यसमा सबै भन्दा ठूलो आकार बागमती प्रदेश सरकारको रहेको छ ।

प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८\०७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । यो प्रदेशले चालुमा १४ अर्ब १६ करोड १५ लाख रुपैयाँ र पुँजीगतमा १४ अर्ब पाँच करोड ३५ लाख रुपैयाँ खर्च गर्ने योजना बनाएको छ । प्रदेश १ सरकारले प्राथमिकतामा स्वास्थ्य क्षेत्र रहेको बताएको छ ।

प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८\०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको छ । यो बजेटले समेत कोरोना महामारी रोकथाम र स्वास्थ्य पूर्वाधारलाई प्राथमिकता दिने भनेको छ । बागमती प्रदेश सरकारले ५७ अर्ब ७२ करोड नौ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ । यो प्रदेशले कोभिड–१९ विरुद्धको खोप ल्याउन दुई अर्ब रुपैयाँ बजेट छुट्याएको छ । कोभिड—१९ का कारण आमाबाबु दुवै गुमाएका बालबालिकालाई पालिकासँगको सहकार्यमा मासिक तीन हजार रुपैयाँ शैक्षिक तथा सामाजिक भत्ता दिने घोषणा प्रदेश सरकारले गरेको छ ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८\०७९ का लागि ३० अर्ब तीन करोड ९४ लाख रुपैयाँको बजेट ल्याएको छ । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको छ । कर्णाली प्रदेश सरकारले साढे ३६ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारको आउँदो आर्थिक वर्ष २०७८\०७९ का लागि ३० अर्ब रुपैयाँको बजेट ल्याएको छ ।