फिचर

नेपालले सिधै एसियाकप छनोटको तेस्रो चरण खेल्न पाउने

काठमाडौं । नेपालले सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कप फुटबल प्रतियोगिताको छनोटमा प्लेअफ नखेली सिधै तेस्रो चरणको खेल खेल्न पाउने भएको छ । यसअघिको छनोट चरणमा चौथो स्थानमा रहेको नेपालले यसअघि प्ले अफ खेली त्यहाँबाट मात्र तेस्रो चरण जान पाउने नियम थियो । तर, एसियाली फुटबल महासंघ (एएफसी)ले नियम परिवर्तन गर्दै नेपालले अब एसिया कप छनोटको तेस्रो चरणको खेल खेल्न पाउने भएको छ ।

विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोट खेल सकिएपछि एएफसीले बुधबार एसिया कप छनोटको तेस्रो चरणको खेल खेल्ने टोलीको नाम सार्वजनिक गरेको हो ।

एसियाली क्षेत्रको छनोट खेलेका ८ समूहका शीर्ष ८ टिम र दोस्रो हुनेमध्ये उत्कृष्ट चार टिमसहित आयोजक चीन सिधै एसिया कप खेल्न छनोट भएका छन् । अब छनोट खेलमा दोस्रो हुने ३ टिम, तेस्रो हुने र चौथो हुने ८, ८ टिम र पाँचौ हुनेमध्ये उत्कृष्ट ३ टिम गरी २२ टोली एसिया कपको तेस्रो चरणका खेलमा सहभागी हुने छन् ।