विश्व

पुटीन र बाइडेनबीचको बार्तामा के के भए उपलब्धी ?

PETER KLAUNZER / POOL\BBC

जेनेभा । अमेरिका र रुसी राष्ट्रपतिबीच जेनेभामा करीव ३ घण्टा वार्ता भयो । सम्बन्ध चिसिएको बेला भएको यो वार्तालाई विश्वभरबाट चासोका साथ हेरिएको थियो । बीबीसीका अनुसार सन् २०१८ यता भएको पहिलो प्रत्यक्ष भेटवार्तामा दुई नेताहरूले खासै ठोस प्रगति कायम गर्न भने सकेन । अमेरिकी राष्ट्रपति जो बाइडेनले बढाइचढाइ नगरी फरक मत प्रस्तुत गरिएको बताएका छन् । रुसले नयाँ शीतयुद्ध नचाहेको उनको भनाई छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटीनले बाइडेन अनुभवी राजनेता भएको बताउँदै धेरै विषयमा समान धारणा बनेको बताए । रुसी नेताका लागि बाइडेनले आफूलाई मनपर्ने एभिएटर चस्मा उपहार स्वरूप लिएर गएको समाचारमा उल्लेख छ । पुटीनले बाइडेनलाई उपहार दिए वा दिएनन् भन्ने खुलेको छैन । सन् २०१८ मा हेलसिन्कीमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्दा उनले फुटबल उपहार दिएको समेत बीबीसीले लेखेको छ ।

दुवै पक्षले परमाणु अस्त्र नियन्त्रणबारे छलफल आरम्भ गर्न सहमति जनाएका छन्। उनीहरूले एक अर्काका देशमा राजदूतहरू पठाउने पनि निर्णय गर्ने छन्। सन् २०२० को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको आरोप अमेरिकाले लगाएपछि दुवै देशहरूले छलफलका लागि भन्दै आआफ्ना राजदूत फिर्ता गरेका थिए।