समाचार

नेपालीलाई न्यूयोर्कको सरकारी भाषा बनाउने अभियानमा सिटी काउन्सिल उम्मेद्वार बग्गा

न्यूयोर्क

न्यूयोर्क सिटी काउन्सिलका एक प्रभावशाली उम्मेद्वारले नेपाली भाषालाई सहरको सरकारी कामकाजको भाषा बनाउने उद्घोष गरेका छन् । न्यूयोर्कको २६ नम्बर डिष्ट्रिक्टबाट सिटी काउन्सिल उम्मेद्वार रहेका अमित सिंह बग्गाले नेपाली भाषालाई अमेरिकामा अहिलेसम्मकै सर्बोत्कृष्ठ सम्मान दिलाउने प्रतिबद्धता जनाएका हुन् ।

डिष्ट्रिक्ट २६ मा क्वीन्स बोरो अन्तर्गतका सन्नी साइट, उडसाइट, लङ आइल्यान्ड सिटी र एस्टोरिया पर्छन् । यी क्षेत्रमा नेपालीको बाक्लो बसोबास रहँदै आएको छ । अहिलेसम्म १२ भाषालाई न्यूयोर्क सिटीले सरकारी भाषाको रुपमा स्वीकारेको छ । त्यसमा उर्दु र बंगाली समेत समावेश छन् । नेपाली भाषामा भने सवारी साधानको लाइसेन्स लिन लिखित परिक्षा मात्र दिन पाइन्छ ।

बग्गाको क्षेत्रमा सिटी काउन्सिलका लागि सबैभन्दा धेरै उम्मद्वार खडा भएका छन् । सबैभन्दा पहिले उनले आउँदो जुन २२ को प्राइमरी चुनावमा डेमोक्रेटिक पार्टीका १५ जना प्रत्याशीसँग प्रतिश्पर्धा गर्नुपर्ने हुन्छ । प्राइमरी निर्वाचन जितेमा नोभेम्बरको २ मा हुने अन्तिम निर्वाचनमा उनी रिपब्लिकन प्रत्याशीसँग प्रतिश्पर्धा गर्नेछन् ।

उनको निर्वाचन क्षेत्र डेमोक्र्याटका लागि सहज रहँदै आएको हुँदा प्राइमरी चुनाव जितेमा नोभेम्बरमा निर्वाचित हुने संभावना प्रवल हुनेछ । बग्गाले आफु निर्वाचित भएमा स्थानीय स्तरका ‘कम्युनिटी बोर्ड’हरुमा तत्कालै नेपालीको प्रतिनिधित्व सुनिश्चित गराउने बताएका छन् । ‘आफ्नो समुदायमा बाटोघाटो स्तरोन्नती देखि मदिरा बिक्रीको लाइसेन्स वितरणसम्मको निर्णय गर्ने कम्युनिटी बोर्डमा नेपालीहरुको प्रतिनिधित्व भएको पाइँन, उनले विश्व न्यूजसँग भने- म निर्वाचित भएमा तुरुन्तै त्यस्ता बोर्डमा नेपालीको प्रतिनिधित्व सुनिश्चित गराएर नीति निर्माण तहमा नेपालीको सहभागिता बृद्धि गराउँछु ।’ त्यस बाहेक न्यूयोर्क विद्यालयमा दक्षिण एसियाको इतिहास पढाउँदा नेपालको इतिहास समेत समावेश गर्ने कार्यक्रम उनले सुनाए ।

बग्गाले आर्थिक न्याय बिना सामाजीक न्याय एवं अल्पसंख्यको रुपमा पहिचानको मुद्दा स्थापित गर्न कठिन पर्ने हुँदा रोजगारी सुनिश्चिततालाई आफुले मुख्य प्राथमिकताका राखेको बताएका छन् । तल्लो तहमा रहेका सबै न्यूयोर्कबासीहरुलाई आर्थिक न्यायको सुनिश्चितताको लागि बार्षिक १०० मिलियन डलरको ‘फेयर इकोनोमी फन्ड’ समेत बग्गाले प्रस्ताव गरेका छन् । त्यो रकम कामदार एवं भाडामा बसोबास गर्नेहरुलाई न्याय दिलाउन खर्च गर्ने उनको भनाइ छ । त्यस बाहेक क्वीन्समा दुई मात्र सार्वजनिक अस्पताल रहेकोमा निजी क्षेत्रका जमिन लिएर सरकारी लगानीमा स्वास्थ्य सेवा क्लिनिक विस्तार गर्ने आफ्नो योजना रहेको उनले सुनाए ।  

भारत र पाकिस्तान विभाजित हुँदा पाकिस्तानबाट विस्थापित शिख शरणार्थी दम्पतीबाट जन्मिएका बग्गाले १४ बर्ष बिभिन्न सरकारी संरचनामा काम गरि सकेका छन् । उनले करियरको सुरुवात कंग्रेशनल स्टाफको रुपमा गरेका थिए । त्यस पछि न्यूयोर्क सिटीमै काम गरे । कन्जुमर प्रोटेक्सन विभाग र सोसियल सर्भिस विभागको डेपुटी कमिसनरसम्मको जिम्मेवारी निभाएपछि आफुले जागिर छोडेको उनले बताए । यी जिम्मेवारीमा रहँदा ४० मिलियन डलरको कम्युनिटी फन्डिङ कार्यक्रम आफुले सञ्चालन गरेको बग्गाको भनाइ छ । त्यो रकम नेपालीको हितमा काम गरि रहेको अधिकार, युनाइटेड शेर्पा जस्ता संस्थाले समेत पाएका थिए ।

बग्गालाई वर्किङ फेमिली पार्टी लगायत प्रोग्रेसिभ राजनीतिक संस्थाहरुले समर्थन गरेका छन् । अभिनेतृ सिन्थिया निक्सन, स्टेट सिनेटरहरु जेसिका रामोस, जुलिया सलाजर लगायत ४३ बिभिन्न संघ संस्था र प्रभावशाली व्यक्तिहरुले बग्गाको उम्मेद्वारीलाई साथ दिएका छन् । अरु उम्मेद्वारले अघि सारेका कार्यक्रम पनि राम्रा रहेको तर सरकारी संरचना र ब्युरोक्रेसीको काम गर्ने तवर तरिका आफुले भित्रैबाट बुझेको हुँदा अरुले भन्दा राम्रो परिणाम दिनसक्ने उनको दावी छ ।

तस्वीर- अमितफरकाउन्सिल डट कम