समाचार

नेपाली समुदायलाई अगाडी बढाउने अवसरको रुपमा प्रारम्भिक निर्वाचन

न्युयोर्क

प्रारम्भिक निर्वाचन सम्वन्धि बिशेष जानकारी;

न्युयोर्क सिटीमा नेपाली-भाषीको संख्या तिब्र गतिमा बढेसंगै राजनैतिक चेतना र शक्ति पनि बढि रहेको छ। हरेक वर्ष नेपाल, ईण्डिया, भुटान, तिब्बत र बर्मा लगायतबाट आएका नेपाली-भाषीहरुको मतदाताहरुको संख्या बढ्दो छ। आउँदो प्रारम्भिक निर्वाचनले हामीलाई हाम्रो समुदायको आवाज उठाउन र हाम्रो प्रतिनिधित्व निश्चित गर्न एक विशेष अवसर दिएको छ।

न्यूयोर्क सिटीको प्रारम्भिक निर्वाचनमा कसले मतदान गर्न सक्छन्?
तपाईं अमेरिकी नागरिक हुनैपर्छ, हाल मतदान गर्न रजिस्टर गरेको हुन पर्छ, र कुनै राजनैतिक पार्टीसंग रजिस्टर भएको हुन पर्छ। यदि यि कुराहरु तपाईंले पुरा गर्नु भएको छ या छैन हेर्न परेमा तपाईंले यो लिंकमा गएर हेर्न सक्नु हुन्छ: https://voterlookup.elections.ny.gov, या अधिकारलाई ७१८-९३७-१११७ मा फोन गर्न सक्नु हुन्छ।

कहिले र कहाँ मतदान गर्ने?
● प्रारम्भिक निर्वाचनको लागि चाँडै मतदान गर्ने अवधि: जुन १२ देखि २० सम्म
● प्रारम्भिक निर्वाचन: जुन २२
जानकारी: तपाईंको चाँडै मतदान गर्ने मतदान केन्द्र र प्रारम्भिक निर्वाचन (जुन २२) को मतदान केन्द्र फरक हुन सक्छ। तपाईंको मतदान केन्द्रको ठेगाना र खुला रहने समय हेर्न यो लिंकमा जानु होला:
https://findmypollsite.vote.nyc

यदि तपाईंलाई दोभाषेको सेवा चाहिन्छ भने, न्यू योर्क सिटीमा मतदाता को हकमा तपाईंले दोभाषेको सहयोगको लागि कसैलाई (जस्तै, परिवारको सदस्य, या अन्य) मतदान केन्द्रमा लिएर जान सक्नु हुन्छ।

चाँडै मतदान गर्ने अवधि शुरु भई सकेको छ (जुन १२ देखि २० सम्म), र प्रारम्भिक निर्वाचन पनि अब केहि दिन मै हुनेछ (जुन २२)। यदि तपाईं मतदान गर्न रजिस्टर भई सक्नु भएको छ भने हामी चाहन्छौं कि तपाईं मतदान गर्नुहोस्! सिटीको जन प्रतिनिधिहरुले हाम्रो छर-छिमेक र हाम्रो शहरको विभिन्न मुद्दा र विषयहरुको प्रतिनिधित्व गर्छन्। उदाहरणको लागि, प्यान्डेमिकको बेला अधिकारले क्वारेन्टाईनमा बस्ने व्यवस्था र जन साधारणको लागि रासनको व्यवस्था गर्न सिटी काउनसिल सदस्य ड्यान्नी ड्रोमसंग प्रत्यक्ष काम गर्ने अवसर पाएका थियौं। काउनसिल सदस्य ड्रोमको हाम्रो समुदायसंग राम्रो सम्बन्ध भएको कारण, अनि अधिकार र अन्य संस्थाहरुले वहाँलाई यो कामको महत्व, क्षेत्र नम्बर २५ मा बस्ने समुदायको शक्ति, र खाँचो बुझाउन खेलेको सक्रिय भूमिकाले मात्र यो सम्भव भएको थियो। त्यस्तै गरेर, हामीले तत्कालीन अन्तरिम बोरो प्रेसिडेन्ट शारोन ली संग पनि मिलेर नेपाली समुदायहरुको लागि कोभिड १९ को बेला विभिन्न सहयोगहरु जुटाएका थियौं।

हाम्रो समुदायहरुको चासोको मुद्दाहरु प्रत्यक्ष रुपमा सिटी हलसम्म पुर्याउने जिम्मा सिटी काउनसिलको सदस्यहरुको हुन्छ। तुलना गर्दा, सिटी काउनसिल सदस्य भनेको नेपालको नगर र गाऊँहरुहरुको वडा अध्यक्ष जस्तो हो। न्यू योर्क सिटीमा तपाईंको जिप कोडको आधारमा सिटी काउनसिल सदस्यले तपाईंको छिमेकको प्रतिनिधित्व गर्छ, र तपाईंलाई कुनै कुराको चासो पर्यो भने सबभन्दा पहिला सम्पर्क गर्नु पर्ने वहाँहरु नै हुनुहुन्छ।

मतदाताहरुको हैसियतमा हामीलाई कसले प्रतिनिधित्व गर्नेछ भनेर हामीले रोज्न सक्छौं। यो हलुका संग लिने अवसर पक्कै होईन, र यो हाम्रो नागिक दायित्व मात्र पनि होईन – यो हाम्रो अधिकार हो, र हामीले यो प्रयोग गर्नै पर्छ। यो वर्षको प्रारम्भिक निर्वाचन झनै महत्वपूर्ण छ किनभने यसपालि न्यू योर्क सिटीको विधानसभाको सबै ५१ वटै सिटहरुको लागि प्रतिस्पर्धा हुँदैछ, र “टर्म लिमिट” (सिमित पदावधि) को कारण २०२२ को जनवरीमा जन प्रतिनिधिहरुले कार्य वहाली गर्ने बेला त्यो ५१ मध्ये ३५ वटा सित नयाँ अनुहार सम्हाल्नेछन्।

जुन २२ मा हुने निर्वाचनमा सिटी काउनसिल सदस्य वाहेक निम्न पदहरुको लागि पनि प्रतिस्पर्धा हुँदैछ:

● न्यू योर्क सिटी मेयर: मेयरको बारे सोंच्दा यो विचार गर्नुहोस् कि, मेयर भनेको सिटीको कार्यकारी निर्देशक हुन्। मेयरले थुप्रै सिटीको विभागहरुको प्रमुखहरु तोक्नेछन्, सिटीको निति परिवर्तनको प्राथमिकताहरु बारे निर्णय गर्छन्, र विधेयकहरुलाई स्वीकृति दिने या त्यस माथि “भिटो” (निषेधाधिकार) प्रयोग गर्न पाउनेछन्। न्यू योर्क सिटी मेयरको लागि जम्मा २२ जना उम्मेद्वारहरु छन् (१३ जना डेमोक्र्याट, २ जना रिपब्लिकन, र केहि स्वतन्त्र उम्मेद्वारहरु)। मेयरको उम्मेद्वार को को छन् भनेर जानकारी पाउन यो लिंकमा जानुहोस्: https://www.thecity.nyc/22233474/the-race-for-nyc-mayor-whos-running-to-run-this-town-in-2021

● कम्पट्रोल्लर: कम्पट्रोल्लर भनेको सिटी को पैसाको व्यवस्था गर्ने पद हो। कुन विभागले कति पैसा पाउने भनेर निर्णय उनले नै गर्छन्, सिटीको बजेट सम्हालछन्, र बोरो प्रेसिडेन्टहरुलाइ उत्तरदायी बनाउने जिम्मा पनि उनकै हुन्छ। कम्पट्रोल्लरको लागि १२ जना उम्मेद्वारहरु छन् (१० जना डेमोक्र्याट, र १-१ जना रिपब्लिकन र स्वतन्त्र उम्मेद्वारहरु जो निर्विरोध उठेका छन्। कम्पट्रोल्लरको उम्मेद्वारहरु को को छन् भनेर जानकारी पाउन यो लिंकमा जानुहोस्: https://www.thecity.nyc/22233698/what-to-know-about-the-2021-city-comptrollers-race-in-new-yor

● पब्लिक एड्भोकेट: सिटी सरकारको कार्यपालिकामा सम्पूर्ण सिटीको जनताको प्रतिनिधित्व गर्ने “पब्लिक एड्भोकेट” हो। हाम्रो एड्भोकेटको हैसियतमा हामीलाई जरुरी लागेको मुद्दाहरुमा उनले ध्यानाकर्षण गर्ने काम गर्छन्, विधेयकहरु प्रस्ताव गर्ने या समर्थन गर्ने गर्छन्, र यदि मेयरलाई केहि भएमा या केहि परेमा बहालवाला उत्तराधिकारी बन्न पहिलो क्रममा पब्लिक एड्भोकेट पर्नेछन्। पब्लिक एड्भोकेटको लागि जम्मा ४ जना उम्मेद्वारहरु छन् (२ जना डेमोक्र्याट र १-१ जना रिपब्लिक र स्वतन्त्र उम्मेद्वारहरु निर्विरोध उठेका छन्। सबै उम्मेद्वारहरुको बारे जानकारी पाउने यो लिंकमा जानुहोस्: https://www.thecity.nyc/22233762/what-you-need-to-know-about-the-public-advocate-race-in-2021

● बोरो प्रेसिडेन्ट: न्यू योर्क सिटीको हरेक बोरो को आ-आफ्नै प्रेसिडेन्टहरु हुन्छन्, र यो सबै पदको लागि निर्वाचन हुन्छ। विभिन्न संघ-संस्थाहरुको लागि पैसा छुट्याउने काम बोरो प्रेसिडेन्टले गर्छन्, कम्यूनिटी बोर्डको सदस्यहरु मनोनित गर्छन्, विधेयकहरु प्रस्ताव गर्न सक्छन् (उनीहरु आफैंले चाहिं त्यसमा भोट गर्न पाउँदैनन्, र शहर को जग्गा-जनिमहरु कसरी प्रयोग गर्ने भन्ने कुरामा उनिहरुको पहुँच हुन्छ। समुदायहरुको विभिन्न मुद्दाहरुमा ध्यानाकर्षण गर्ने (उदाहरणको लागि, जस्तै कोभिड र सो संग सम्बन्धित राहतको मुद्दाहरु) जिम्मा पनि उनीहरुको हुन्छ। हरेक बोरो मा को को यो पदमा उठेका छन् भनेर जान्न यो लिंकमा जानुहोस्: https://www.thecity.nyc/22233782/what-you-need-to-know-about-the-borough-president-races

यि जानकारीहरु धेरै हुन सक्छ, र बुझ्न गाह्रो लाग्न सक्छ। अनि कसको लागि मतदान गर्ने त? तपाईंले मतदान गर्ने बेला आफू, आफ्नो परिवार, र बृहत समुदायलाई असर पार्ने कुराहरुको बारे सोंच्नु जरुरी हुन्छ। के तपाईं कामदार हुनुहुन्छ? उम्मेद्वारहरुले कामदारहरुको अधिकारको बारे के भन्छन्? के तपाईं आप्रवासी हुनुहुन्छ? आप्रवासी मुद्दाहरुलाई सम्बोधन गर्ने उम्मेद्वारहरुको कस्तो योजना छ? के तपाईं अँग्रेजी बाहेक नेपाली, तिब्बती, या अन्य भाषाहरु बोल्नुहुन्छ? सार्वजनिक स्थलहरुमा भाषिक सेवाको सुधार गर्ने बारे उम्मेद्वारहरुको अडान कस्तो छ? उम्मेद्वारहरुको बारे जानकारी लिने सबभन्दा सजिलो ठाऊँ उनीहरु कै अनलाईन वेबसाईटमा हो (यदि तपाईंले उम्मेद्वारहरुको नाम गुगल गर्नुभयो भने सबैको आ-आफ्नै प्लेटफर्म को वेबसाईट भेटाउनुहुनेछ)। गएको केहि हप्तामा उम्मेद्वारहरुको फोरम (गोष्ठी) हरु पनि भएको थियो, जसमा उम्मेद्वारहरुले उनीहरुको प्लेटफर्मसंग सम्बन्धित प्रशनहरुको जवाफहरु दिनुभएको थियो। अधिकारले आयोजाना गरेको क्षेत्र नम्बर २५ (ज्याक्सन हाईट्स, एल्महर्स्ट) र क्षेत्र नम्बर २६ (वुडसाईड, सन्नीसाईड, लङ् आईलेन्ड सिटी) को फोरमहरु यो लिंकमा गएर हेर्न सक्नु हुन्छ: bit.ly/nycelections2021

यसपालिको निर्वाचनमा सबभनन्दा महत्वपूर्ण फरक कुरा के हुँदैछ भने, सिटीले यसपालि श्रेणी-वद्ध मतदान (“र्याङ्क चोईस भोटिङ्” – RCV) भन्ने मतदान गर्ने नयाँ तरिकाको शुरुवात गर्दैछ। RCV को प्रकृयामा मतदाताले आफ्नो ईच्छा अनुसार अधिकमा ५ जना सम्म उम्मेद्वारलाई श्रेणी-वद्ध गरेर मतदान गर्न सक्नेछन्, या चाहेमा १ जना मात्र, या २, ३, ४ जना मात्रमाई पनि श्रेणी-वद्ध गरेर मतदान गर्न सक्नेछन्। याद गर्नु पर्ने जरुरी कुरा के हो भने, तपाईंले अधिकमा ५ जना सम्म उम्मेद्वारहरुलाई मतदान गर्न सक्नु हुन्छ। अकसर गरेर साधारण निर्वाचनहरुमा २ भन्दा धेरै उम्मेद्वारहरु हुँदा ५०% भन्दा कम मत ल्याउने उम्मेद्वार पनि विजय हुन सक्छ। कसको विजय हुने भन्ने मामलामा मातदाताहरुको सरोकार अझ बढाउनको लागि, सिटीले सबै सिटी संग सम्बन्धित चुनावहरुमा RCV को नयाँ व्यवस्था शुरु गरेको हो। RCV लाई अझ राम्रो संग बुझ्न, र यसको विस्तृत जानकारीको लागि तपाईंले हामीले तयार पारेको छोटो कुराकानी भिडियो यो लिंकमा गएर हेर्न सक्नु हुन्छ: bit.ly/nycelections2021

हामीले आज मतदान दिने जन प्रतिनिधिहरुले नै पछि हाम्रो सरोकार भएको कुराहरु सुनिदिने जिम्मेवारी लिनेछन्। सिटीको स्थानिय चुनवाहरुमा कसको जित हुन्छ भन्ने कुरामा थोरै मतले पनि निर्णायक भूमिका खेल्न सक्छ। यसैले पनि यो हाम्रो लागि ठुलो अचसर हो, र फाईदा पनि। नेपाली-भाषी समुदाय अरु समुदायहरुको दाँजोमा सानै छ, तर हाम्रो संख्या तीब्र गतिमा बढ्दैछ। हाम्रो समुदायहरुले चासो राख्ने मुद्दाहरुको हितको लागि हामीले स्थानिय निर्वाचनहरुको नतिजाहरुमा अवश्य पनि केहि असर पार्न सक्छौं।

अधिकारको नागरिक सहभागिता अभियान बारे जानकारी: अधिकारले गत केहि महिना देखि मतदाताहरुमा निर्वाचनको बारे पहुँच पुर्याउने विभिन्न क्रियाकलापहरु गर्दै आएको छ। ति क्रियाकलापहरुको छन्: हाम्रो सदस्यता र सामाजिक संजाल मार्फत सुचनाहरु दिने, सिटी व्यापी मतदाताहरुलाई फोनहरु गर्ने, स्थानिय नेपाली व्यवसायहरु मार्फत आम सुचाना दिने, उम्मेद्वारहरुसंग भर्चुअल (अनलाईन) कार्यक्रमहरु गर्ने, र सडक अभियानमा विभिन्न सहभागी संस्थाहरुसंग सहकार्य गर्ने, आदि। मतदाताहरुलाई जानकारी दिने र वहाँहरुको प्रश्नहरुको जवाफ दिने स्रोतको रुपमा हामी काम गरि रहनेछौं। हाम्रो समुदायको सदस्यहरुले हामीलाई ७१८-९३७-१११७ मा फोन गर्न सक्नु हुन्छ, अथवा हामीलाई फेसबुकमा सिधै मेसेज पठाउन सक्नुहुन्छ।