विज्ञान प्रविधि

शनिबार पनि नेपालमा ठूलो वर्षाको सम्भावना, पहिरो र बाढीको जोखिम

फाइल तस्वीर

काठमाडौं । नेपालमा शनिबार समेत देशभर ठूलो वर्षा जारी रहने छ । अहिले मनसुन सक्रिय भएको छ । जसको प्रभावले देशभर वर्षा भइरहेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन वटा प्रदेशमा ठूलो वर्षाको सम्भावना छ । देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १ र सुदूरपश्चिम प्रदेश, लगायत देशका पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षा जारी छ । शनिबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन चट्टयाङ्गसहित भारी वर्षा हुने छ ।

शनिबार राति प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । आइतबार र सोमबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ । उक्त प्रदेशहरुको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम हुने छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै महाशाखाले सचेत गराएको छ ।