बिचार

संस्कृत के हो ? योग कहाँबाट आयो ?

डा. बद्री पोख्रेल
(केन्द्रीय अध्यक्ष)
जयतु संस्कृतम्, नेपाल

आजभोलि कसैकसैले संस्कृत के हो ? किन संस्कृत पढ्ने ? संस्कृत भित्र के जान्नुपर्ने कुरा छन् ? भनि सकारात्मक सोचकासाथ अनभिज्ञता प्रकटगरी जिज्ञासा राखेको सुनिन्छ । यद्यपि संस्कृतको आलोचना गर्ने, मृत भाषा भन्ने, बाहुनको विद्या र पुरोहित्याईंको विद्या भनेर आलोचनागर्नेहरुको संख्या पनि त्यत्तिकै छ । बुझेर वा नबुझेर वा कुनै पनि स्वार्थमा लागेर अनाहकमा संस्कृतका सम्बन्धमा प्रश्नगर्नेहरु पनि धेरै हुन्छन् । ती सवै किसिमका जिज्ञासुहरुको निमित्त चित्तबुझ्दो जवाफ दिएर संस्कृतको महत्ता र उपादेयतालाई स्पष्टगर्नु जरुरी भएको छ । त्यसपछि मात्र संस्कृत र योगको सम्बन्धमा गरेको चर्चा सार्थक हुन जान्छ । यद्यपि यतिखेरको यो लेखको अहं प्रश्न संस्कृत र योगका सम्बन्धमा सामान्य चर्चागरी आम जिज्ञासुहरुमा भएको जिज्ञासा शान्तगर्न प्रयासगर्नु मात्र हो ।
संस्कृत र योगको वारेमा चर्चागर्नृु अगाडि संस्कृत के हो बुझ्नु आवश्यक हुन्छ । सामान्यतः संस्कृतलाई दुई पाटाबाट बुझ्नुपर्ने हुन्छ – १. ज्ञान भण्डार र, २. प्राचीन भाषा । ब्रह्माण्डमा भएका सवै शास्त्र, विद्या, कला, सिद्धान्त, ज्ञान विज्ञान संस्कृतमा भएकाले यसलाई ज्ञान भण्डार भनिएको हो । योग यसै संस्कृतको विशालताभित्र पर्ने एउटा पाटो हो । साथै, संस्कृत संसारकै प्राचीन भाषा समेत भएकाले संस्कृत भन्ने वित्तिकै यी दुवै पाटोबाट हेर्न र बुझ्न पर्ने हुन्छ । संस्कृतमा १ खर्व २ अर्व ७८ करोड ५० लाख शब्दसागर छन् भन्ने उल्लेखहुनुले नै यसको समृद्धिलाई अजागर गरेको छ ।
▪️ संस्कृत के हो, असंस्कृत के हो ?
संस्कार गरिएको कुनै पनि वस्तु, (दृश्य) र सोच (अदृश्य) संस्कृत हो । कुनै पनि वस्तु वा ज्ञानलाई मानवोपयोगी वनाउन आवश्यक सवै गुण र विशेषता भएको वनाए पछि नै त्यो वस्तु संस्कार गरिएको हुन्छ । संस्कृत वस्तु र सोचले जहिले पनि विश्वबन्धुत्व, भाइचारा, मित्रता, सद्भाव, सहयोग, सदाचारको पाठ सिकाउँदछ । त्याग, सहयोग मिठो वोली, सवैमाथि सम्मान, सहृदयता सिकाउने विद्या संस्कृत नै हो । आमा वाबु, गुरु, बुढो, अशक्त, रोगी, भोको नाङ्गोको सम्मान आदर र उचित व्यवस्थापन गर्नुपर्छ भनेर सिकाउने विद्या संस्कृत नै हो । म मात्र धन कमाउँ, म मात्र ठूलो वनूँ, अशक्त रोगी दुर्बलहरुलाई जित्न सिकुँ भनेर संस्कृतले कहिल्यै पनि भन्दैन । अहिले संसारमा धेरै मानिसलाई धन कमाउनु परेको, अरुलाइृ दवाएर भएपनि आफैं ठूलो बन्नु परेको, धन कमाउनलाई भ्रष्ट आचार, दुराचार, वदमासी, ठगी पनि गर्न पछिनपर्ने संस्कार विकास भएको अवस्थामा संस्कृतले त्यस्तो कामलाई कहिल्यै पनि साथ र सहयोग गर्दैन । जालझेल, रुखो वचन, फट्याँइको वकालत संस्कृतले गर्दैन । त्यसैले गर्दा आजभोलि केही वदमास, धूर्त, जालझेली र असंस्कृत कामगरेर फाइदालिने हरुले संस्कृतको महत्वको सट्टा उपेक्षा र आलोचना गर्नथालेको सुनिन्छ र पाइन्छ ।
बुढो भएपछि वावु आमाको सेवागर्नु पर्ने अवस्थामा वृद्धाश्रममा वस्नुपर्ने वनाउने, घरमै वसेको अवस्थामा पनि उचित आदर र सेवा नगर्ने, श्रीमती र श्रीमानका वीचमा झैझगडा परिरहने, विवाह सम्बन्ध कायम राखिरहन सधैं त्रसित हुनुपर्ने र सम्बन्ध विच्छेदको पीडा सहनुपर्ने, विषाक्त भोजनको कुलतले शरीर दुर्बल र रोगी भइरहने, मदिरापानले सम्पत्ति र शरीरको नाश गरिरहने, सम्पत्ति आर्जनको लागि सधैं मानसिक उल्झन, उत्पीडन भोगिरहनुपर्ने जस्ता व्यवहार प्रशस्तै बढ्न थालेका छन् । यसरी समाजको लागि दुख, पीडा दिने, समाजमा अनास्था फैलाउने, सनातन संस्कृतिमा विरोध, दुविधा र आशंका पैदा गरिदिने काम संस्कृत नभएर असंस्कृत हो । समाजमा कायम रहदै र बढ्दै आएको सनातन संस्कृत शिक्षा पद्धति, संस्कृत कार्य व्यवस्था, संस्कृत आचरणमा आएको असंस्कृत काँडालाई हटाउने औषधी भएको विद्या पनि संस्कृत नै हो ।
संस्कृत भित्र अनन्त ज्ञानराशी विद्यमान छ । संस्कृतमा भएको ज्ञानराशीलाई मुख्यतः निम्न अनुसार हेर्न र बुझ्न सकिन्छ –
क. ज्ञान विज्ञान –
ज्ञान विज्ञानको दृष्टिले हेर्दा संसारकै धनी र समृद्ध वाङ्मय (सवै किसिमका ज्ञानविज्ञानका शास्त्र र सिद्धान्तहरुको समष्टि) भएको विद्या संस्कृत नै हो । हजारौ वर्ष अगाडि लेखिएको वेद संस्कृतमै छ भने उपनिषद, पुराण, रामायण महाभारत जस्ता विश्वविख्यात प्राचीन ग्रन्थहरु संस्कृतमै लेखिएका छन् । आदिम मानव सभ्यतालाई परिस्कृत वनाउने ज्ञानविज्ञान संस्कृृतमै छ । ज्ञान र विज्ञानका विषयहरु कुनै पनि काल, भूगोल, वर्ण, जाति भन्दा माथि हुन्छन् र सर्वकालजयी हुन्छन् । नैतिक शिक्षा, समाज शिक्षा, धर्म शिक्षा, राजनीति, अर्थनीति, कला एवं विज्ञान भित्रका जीव विज्ञान, गणित, आयुर्वेद, ज्योतिष, योग आदि संस्कृतकै ज्ञानराशी हुन् । नारद पुराण, ब्रह्माण्ड पुराण, भागवत पुराण आदिको अध्ययनले यसको पुष्टि गर्दछ ।
ख. दर्शन –
संस्कृतमा भएको अर्को अथाह ज्ञानराशी भित्रपर्ने विषय दर्शन हो । ‘म’ भन्ने शारीरिक पिण्ड र यसलाई सञ्चालनगर्ने तत्वका वीचको भिन्नतालाई दर्शनले नै उजागर गर्दछ । दर्शन पनि दुई भागमा विभाजित छ – आस्तिक र नास्तिक । आस्तिक दर्शनले वेदको ज्ञानलाई अनुमोदन गर्दछ र ईश्वरीय सत्तालाई स्वीकार गर्दछ । नास्तिक दर्शन पूर्वीय दर्शनको पर्खाल भित्र पर्ने भए पनि प्रत्यक्ष प्रमाणलाई मात्र स्वीकार्ने भएकाले ईश्वरीय अदृश्य शक्तिलाई प्रमाण मान्दैन । आस्तिक दर्शन मूलतः ६ वटा (न्याय, मीमांसा, वैशेषिक, सांख्य, योग र वेदान्त) र नास्तिक दर्शन ३ वटा (बुद्ध, जैन र चार्वाक) मानिन्छन् ।
ग. साहित्य –
संस्कृतको अर्को महत्वपूर्ण सम्पत्ति यसभित्रको साहित्य हो । कथा, आख्यान, नाटक, उपन्यास, महाकाव्य आदिका रूपमा रहेको संस्कृत साहित्य अत्यन्त उत्कृष्ट, आह्लादकारी, मर्मस्पर्शी, मनोविनोदी मानिन्छ । कालिदास, भारवि, माघ, दण्डी आदि प्रसिद्ध साहित्य सर्जकहरुले संस्कृत साहित्यलाई विश्वकै उत्कृष्ट साहित्यका रुपमा स्थापनागर्न सकेको पाइन्छ । रामायण, महाभारत, पुराण आदि संस्कृतका साहित्य ग्रन्थ हुन् ।
घ. कर्मकाण्ड –
संस्कृतको अर्को महत्वपूर्ण सम्पत्ति यस भित्रको कर्मकाण्डीय ज्ञानराशी हो । वेदमा आधारित धर्मशास्त्रीय संस्कार र ती संस्कारको पालनाविधिको अभिलेख, निर्देशन, प्रक्रिया र फल विवरण समेत उल्लेख भएको कर्मकाण्डीय ज्ञानले नै सनातन हिन्दु संस्कृतिको संरक्षण र पालन भएको छ । कर्मकाण्डको अनुशरणले नै संस्कृतको संरक्षण हुन सकेको छ । हिन्दु दर्शनले वताएका जन्म, विवाह, मृत्यु आदि षोडश संस्कारको उल्लेख कर्मकाण्डमा नै भएको छ । हरेक सामाज र देशले आ–आफ्नो संस्कृतिको संरक्षणगरी मानवीय पहिचान दिनुपर्ने सोच र मान्यतालाई मननगर्दा हिन्दु संस्कृति संरक्षणगर्ने कर्मकाण्डीय ज्ञानप्रवाह भएको संस्कृतको महत्व नेपालीहरुको पहिचानसंग पनि गासिएको विषय हो ।

संस्कृतमा भएका यिनै ज्ञानराशीको कारणले अहिले संस्कृतको महत्व बोधगरेर यसको विकासमा पश्चिमी विद्वानहरु नै लागिपरेको पाइन्छ । युरोप अमेरिकाका विश्वविद्यालयहरुमा खुलेका संस्कृत अध्ययन अध्यापनका छुट्टै विभाग, केन्द्र र संस्थानहरुले यसलाई प्रमाणित गरेका छन् । हिन्दुत्व, आर्यु संस्कृति र मानवीय मूल्यको सम्वर्धनमा लाग्न प्रेरणादिने वेद, उपनिषद, पुराण आदिको उद्गम थलो हिमालयको देश नेपाल भए पनि हालका वर्षहरुमा यसको उचित संरक्षण र प्रवर्धन हुन नसकेकाले सम्बद्ध विद्वानहरुमा चिन्ता भैरहेको समयमा पश्चिमा जगतमा भएको संस्कृतको प्रचार प्रसार र अनुसन्धानले संस्कृतको जीवन्तता र महत्वलाई थप उजागर गर्न सकेको छ ।
▪️ योग
योग संस्कृतको ज्ञानभण्डार भित्र पर्ने अर्को सम्पत्ति हो । योगले मानिसमा भएको शारीरिक र मानसिक शक्तिलाई एकत्रित र एकाकार गरेर कार्यगर्न सक्ने वनाउँदछ । महर्षि पतञ्जलिले प्रतिपादन गरेको अष्टाङ्गयोगबाट अहिले सम्म धेरै किसिमका योगको विकास भैसकेको छ । विक्रम योग, हठ योग, विन्यास योग आदि योगका शाखाहरु पतञ्जलिको योग सूत्रमा वताएको अष्टाङ्ग योग (यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि) कै धरातलमा फैलिएका हुन् । भगवान श्रीकृष्णले गीतामा वताउँनु भएको ज्ञान योग, कर्म योग हाल प्रचलनमा आएको राज योग पनि अष्टाङ्ग योगकै महत्वमा रहेर गरिएका व्याख्या र शाखा हुन् । जुनसुकै देशमा गएर योगको अभ्यासगर्दा पनि आसनहरुको नाम संस्कृतमै उच्चारण गरिनुले योग संस्कृतकै ज्ञानराशी भित्रपर्ने विषय भएको कुरालाई छर्लङ्ग वनाउँदछ । आजको विश्वलाई पूर्वीय दर्शनले दिएको उपहार योग पनि हो । यसैले संस्कृतमा रहेको योगको ध्यान, धारणा र अनुगमन आज विश्वभर भइरहेको छ । आधुनिक औषधी विज्ञानले पनि विहान उठेर योगगर्नुपर्ने कुरालाई स्वीकारिसकेको छ ।
वस्तुमा भएको उपयोगिता शक्तिकै कारणले मूल्य सिर्जना हुने र माग वढी भएको वस्तुको मूल्य माग वृद्धिकै अनुपातमा वृद्धि हुँदैजाने आधुनिक अर्थशास्त्रीय सिद्धान्त अनुसार पनि योगको मूल्य र महत्वमा भएको वृद्धिलाई बुझ्न सकिन्छ ।
अन्तमा, संस्कृत ज्ञान र भाषा दुवै दृष्टिबाट व्यावहारिक, श्रेष्ठ र उपयोगी छ । अहिले आएर योगको माध्यमबाट यसको महत्व अझ छिटो फैलिएको अनुभव भएको छ । सवैले संस्कृतमा भएको ज्ञानराशीलाई बुझेर अनुगमनगर्न सकेमा समाजबाट असंस्कृत सोच र चिन्तनलाई परास्तगर्न सकिन्छ ।