रोचक खवर

दोन मोन्तेरो !

अच्युत सिग्देल, न्युयोर्क

दोन मोन्तेरो स्पेनको प्रख्यात रेष्टुरेन्टका मालिक थिए। चेन रेष्टुरा ज़्यादै लोकप्रिय थियो। “सबै मानव जातिलाई सम्मान गर, सबैलाई सेवा देउ” भन्ने उनको मुलमन्त्र थियो। “रैतिदेखि रँकसम्म रोगीदेखि भोगीसम्म” सबैको बराबर ईज्जत दिनु उनको रेष्टुराँको नारा थियो।
उत्तम सेवा र गुणस्तरीय खानाले प्रसिद्धि कमाएको उनको रेष्टुराँ ज्यादै व्यस्त थियो। कामको चापाचापमा उनलाई आफ्नो स्वास्थ्यको बारेमा ध्यानदिने फुर्सद पनि थिएन।

मेसिन त बेला बेलामा मर्मत गर्नु पर्छ मान्छेको शरिरको त के कुरा ? उनलाई हल्का छातीको भित्र पट्टी दुख्न सुरू भएर चर्किदै गईरहेको थियो। भरे जँचाउन जाउँला, भोली जाऔला भन्दाभन्दै एक दिन स्वास फेर्न नै नसकेपछि अस्पताल जचाउन गए। डाक्टरले उनलाई लङ क्यान्सर भएको नतिजा आएको बताए। उनको अनुहार पहेलो भयो। डाक्टरले लामो स्वास फेर्दै उनीसँग पॉच छ महिना मात्र बॉकि रहेको कुरा बताए। सँसार जित्ने उद्देश्य लिएर सफलताको सगरमाथा चढ्दै गरेको मान्छेलाई नियतिले धोका दियो। लाग्यो उनलाई आफ्नै भरोसाको दैवले पनि ढाँट्यो।

उनले गहिरो स्वाश लिए। ऑखा अगाडि आफ्नो बिगत चलचित्र बनेर घुमिरह्यो। आफू छँदै आफूले गरेको कामको मुल्यॉकन र पारख गर्ने अठोट गरे उनले। यतिकै त के मर्नु र हौ। मर्नु अगाडि एउटा गतिलो निर्णय लिनुपर्ने भान भयो उनलाई। आफूले आफैलाई जोख्न र के पाएको र के गुमाएको परिक्षण गर्ने अठोट गरे।

एक दिन भेष र हुलिया बदलेर उनले आफूलाई घरबार बिहिन मागन्तेको स्वरूपमा ढाले। लवज फेरे, मैला लुगा लगाएर आफ्नो रेष्टुरेन्टको भ्रमणमा निस्किए।

पहिलो रेस्टुराको गेटमा नपुग्दै गेटपालेले उनलाई रोके। तिमी जस्ता होमलेस भिखारी यो रेष्टुरामा आउन मनाही छ। दोन मोन्तेरो अवाक् भए । मेनेजरलाई भेट्न अनुरोध गरे। मेनेजर उनको नजिक नै आएन अचकाली गाली दिएर उनलाई त्यहॉबाट भगाइयो।

उनी दोश्रो रेष्टुरामा गए । त्यहाँको सेफले उनलाई तिमी पछाडीको ढोकावाट आए हिजोको बासी पाउरोटी दिन्छु। त्यो पनि तिमीलाई ज़िन्दगीको सबैभन्दा ठूलो गिफ्ट हुनेछ। यो रेष्टुरामा खान त तिमी नुहाएर नयॉ कपडा लगाएर आए पनि पाउने छैनौ भने। यो उच्च घरानीया र खानदानीहरूको ठाउँ हो। तिमी यो रेष्टुराको वरिपरीनै नपर्नु भन्दै उनलाई भगाईयो।

दोन मोन्तेरो जहॉ जहॉ गए उनको रेष्टूरामा उनलाई नराम्रो गाली र अपहेलना खानु पऱ्यो। उनले सबैलाई लेक्चर दिदै तालिममा सिकाएको “सबैलाई सेवा र सम्मान गर” कही कतै लागू नभएको आफ्नै ऑखाले देखे। मानवता मरेको देखेर उनको ऑखाबाट ऑसु आयो। घडीको सुई झै नरोईकन लगातार घोटिई रहँदा उनको मानवता र मानव सेवा पनि मेसिनरी भै सकेको उसलाई भान भयो। सम्भ्रान्तको वाहीवाहीको घेरामा उनको कम्पनीले मानवीय सेवा र सत्कारको सानो ख़्यालसम्म नगरेको उनलाई भान भयो। जुन धरातलमा टेकेर उनी सफल भएका थिए। त्यही भासिएको महसुस हुँदै गयो उनलाई ।

सडक छेउको बेन्चमा बसेर चराचुरूङी र लोखर्कै हेरिरहे । आफूले तालिम दिएको स्टाफबाट यस्तो हर्कतको अपेक्षा थिएन उनलाई। हात समाएर काम सिकाएका भान्सेहरूले व्यवसायिक मर्मलाई भूलेकोमा स्तव्ध बन्दै गए उनी । नजिकै बगैचाबाट ओईलिएको एउटा गुलाबको फूल टिपे। सुगन्ध र सौन्दर्य बिनाको फूलसँगै दॉजे उनले आफूलाई। गतिशील जीवनरूपि रेलले ट्याक छोडेपछिको सम्भावित दुर्घटनाले अत्यास दिलाए जस्तो भयो उनलाई। चिटचिट पसिना आयो। ऑखाको कोश रसाएर आयो । एक थोपा ऑशु थपक्क चुंहियो उनको हातको गुलाबमा। नजिकै रहेको चर्चको ढोकामा फूल चढाएर भने ईश्वर यो सुन्दर शृष्टीको राम्रा रचनाहरूमा पनि कति धेरै कैफ़ियत किन लुकेको हुन्छ हँ?

उनको दिमागमा सहरको सबैभन्दा चलेको अर्को एक रेष्टुरा जहॉ आफ्नो सबैभन्दा नजिकको मित्रवत कर्मचारी थिए। जहॉ हलिउड र फ्रान्सका ठूला ठूला सिनेमा सुटिङ हुन्थ्यो। एक सुन्दर रेष्टुराँका सजावटमा ठूलो लगानि भएको थियो। जसको मेनेजर रोजारीयोलाई सम्झिए। उसकोमा त कम्पनीको मूल्यमान्यता बॉकी रहेको कुरामा उनलाई विस्वास थियो। उनी रोजरियोले चलाउने रेष्टुराँमा गए। उनी कतै नरोकिई सिधै रोजारियो बसेको बारमा गएर सामुन्ने कुर्सीमा बसे। रोजारियोले उनलाई तलदेखि माथीसम्म हेर्यो । दोन मोन्तेरोलाई लाग्यो रोजारियोले उनलाई चिने होला भनेर।

रोजारियोले झ्यालतिर हेर्दै उनलाई तिमी ग़लत ठाउँमा आएछौ भन्यो। दोन मोन्तेरोले अनुनय विनय गरे । म पनि रेष्टूरा मालिक थिएँ। स्टक व्यापारमा सबै चौपट भयो। म बरबाद भएँ । मलाई कमसेकम एउटा ब्रेड भएपनि दिनुस। मैले एक हप्तादेखि खान पाएको छैन। मलाई बचाउनुस म ज़िन्दगीभर तपाईको गुण भुल्ने छैन। अहमताले भरिएको रोजारियो पग्लिएन। उसले दोनलाई खिस्याउँदै भन्यो; “व्यापार गर्न दिमाग चाहिन्छ। दिमाग नहुनेहरू तिमी जस्तै भिखारी हुन्छन्। मेरो साहुजी पनि बेफाल्तुको कन्जुस थियो। स्वॉठ थियो। कुनै जुक्ति र तरिका नै थिएन। यो सबै मैले गर्दा भएको हो । मेरो मालिक एक दुई महिनामा क्यान्सरले मर्दैछ । त्यसपछि यो सारा चेन रेष्टुरा मेरै नाममा हुनेछ। म जतिको योग्य रेष्टुरेन्ट व्यापारी अर्को जन्मने नै छैन। तिमी जस्तो भिखारीको यो रेष्टुरामा कुनै स्थान छैन। तिमी बाहिर निस्किहाल”। उसले पालेलाई आदेशदियो “यस्ता भिखारीहरूलाई मेरो रेष्टुराको आसपास आउन नदिनु”। मोन्तेरोको ऑखा भरि ऑसु भरियो।

दोन मोन्तेरो भाव विव्हल भए। अन्तिममा सहर बाहिर पट्टी एकान्तमा रहेको एउटा भिलेज रिजोर्ट टाईपको सुन्दर रेष्टुरा भ्रमण गर्ने निधो गरे। सायद त्यस दिनको लागि त्यो उनको अन्तिम रेष्टुराँ भ्रमण थियो। उनको मनमा कुनै आशा बॉकि थिएन। मनमनै हदैसम्मको नराम्रो व्यवहार सहन उनले आफूलाई तयार पारे । उनले गेटपालेलाई देखे गेटपालेले नरम भएर अभिवादन गर्यो। मोन्तेरोले सबै ठाउँमा जस्तै व्यथा यहॉपनि बताए। गेटपालेले म्यानेजर बोलाई दिए । म्यानेजर आएर परिचय मागे उनको व्यथा सोधे। एक छिन मोन्तेरोलाई त्यही रोकिन भन्दै म्यानेजर भित्र पसे। मोन्तेरोलाई पटक्कै विश्वास थिएन। उनलाई यहॉ खाना मिल्छ तर उनले सोचेजस्तो भएन म्यानेजरले उनलाई भित्र लगे ठूलो डाईनिङ टेवलमा विभिन्न प्रकारको डिस राखिएको थियो। क्यानडल लाईट सजिएको सुन्दर टेवल तर्फ ईशारा गर्दै मेनेजर म्याटियोले दोन मोन्तेरोलाई बस्न अनुरोध गरे।

यी सबै तिमी र मेरोलागि हो । ल सुरू गर। म पनि तिमी जस्तै बेरोज़गार भएको थिएँ। बाटोमा माग्दै हिड्थे । एकदिन यो रेष्टुरा मालिकसँग मेरो भेटभयो । उनले मलाई भेटभरी खाना दिएर यहि रेष्टुरामा कामपनि दिए। म अहिले म्यानेजर भएको छु। यो समय गतिशील छ । समयले एकै झड्कामा कस्लाई कहॉ पुर्याउँछ थाहा छैन। त्यसैले तिमी हरेस नखाउ सफा भएर भोलिदेखि काम गर्न आउ म तिमीलाई काममा राख्ने छु। ईमान्दारी साथ काम गर। तिम्रो सबै ऋण चुक्ता हुनेछ । म तिमीलाई काम सिकाउँछु। दोन मोन्तेरोको ऑखामा खुसीको ऑशु टल्कियो । खाना खाएर उनी नमस्ते गरेर बिंदा भए। मेनेजरले ढोकासम्म छोडिदिए।

भोलीपल्ट दोन मोन्तेरोले सबै ब्रान्च मेनेजरको मिटिङ डाके । उनी त्यही ड्रेसमा थिए। मिटिङ स्थानमा उनलाई देखेर सबैले नाक खुम्च्याए। सभाहलना सबैको उपस्थितिपछि एकाएक आफ्नो गेटअप फ्याकेर आफ्नो असली रूप देखाए। सबै म्यानेजरहरूको होस उड्यो। म्याटियो बाहेक सबैको जागीर चैट भयो । उनले आफूलाई क्यान्सर भएको धेरै दिन नबॉच्ने भएकोले सही उत्तराधिकारी खोज्न यो सबै गरेको बताए। उनीसँग समय थिएन, राम्रो उत्तराधिकारीको खोजीमा थिए। म्याटियोलाई उनले आफ्नो वील (वारिस) हस्तान्तरण गरे। सबै श्री सम्पति र रेष्टुराहरू म्याटियोको हुने भयो। रोजारियो लगायतका म्यानेजरहरू सबै बेरोज़गार भए। दोन मोन्तेरोलाई मर्नुपूर्व एक गतिलो निर्णय लिन पाएकोमा गौरव महसुस भयो। तथास्तु !