विश्व

अफगानिस्तानमा हिंसा रोक्न कर्फ्यू आदेश, सरकारी सेनाको कारवाहीमा २६० विद्रोही मारिए

File Source : AP Photo

काबुल । अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सुरक्षाफौज फिर्ता भएसँगै कब्जा जमाउन शुरु गरेको तालिबानविरुद्ध पुनः कारवाही तिब्र पारिएको छ । त्यहाँका अधिकारीहरूले तालिवानी आक्रमण बढेको भन्दै नियन्त्रण गर्न ३४ मध्ये ३१ प्रान्तमा कर्फ्यू आदेश जारी गरेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार तालिबान विद्रोहीले मुख्य सीमा नाका र दर्जनौं जिल्ला नियन्त्रणमा लिएसँगै पुनः अमेरिकी सेनाले हवाई आक्रमण शुरु गरेको छ ।

कर्फ्यू आदेश स्थानीय समयअनुसार बेलुका १० बजेदेखि बिहान ४ बजेसम्मका लागि प्रभावकारी हुने त्यहाँका आन्तरिक मन्त्रालयका नायब प्रवक्ता अहमद जिया जियाले पत्रकारलाई बताएका छन् । यो साता ईद अल–अधाको मुस्लिम बिदाको समयमा हिंसा केही कम भएपनि सरकारी सुरक्षा फौजलाई लक्षित गरी आक्रमण बढेको बताइएको छ ।

जवाफी कारबाहीमा विगत २४ घण्टामा विभिन्न प्रान्तमा २६० भन्दा बढी तालिबान लडाकू मारिएको सरकारी अधिकारीको दावि छ । मुर्घाब र हसानमा रहेको तालिबान लडाकूहरुको आश्रयस्थललाई लक्षित गरेर सुरक्षाकर्मीहरुले हवाइ आक्रमण गरेका थिए ।