फिचर

इजरायलमा एक हजार नेपालीलाई आकर्षक जागिर, कसरी जान सकिन्छ ?

Photo : TOI\ Moshe Shai/Flash90

काठमाडौं । इजरायलले एक हजार नेपाली नागरिकलाई कामदारका रुपमा माग गरेको छ । नेपाली श्रमिकले वैधानिक च्यानलबाट इजरायलमा रोजगारी पाउने छन् । वैदेशिक रोजगार विभागले मंगलबार एक सूचना निकाल्दै औपचारिक रुपमा इजरायलमा रोजगारीका लागि खुला भएको जानकारी गराएको हो । सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार आवेदन खुला गरिएकामा पहिलो चरणमा इजरायलले सुसारे (केयरगिभर)को कामका लागि एक हजार नेपाली श्रमिक मागेको हो ।

सूचना अनुसार ३ सय पुरुष र ७ सय महिला कामदारको माग भएको छ । उनीहरुको मासिक तलव ५३०० एनआईएस (रु १ लाख ९३ हजार) तय भएको छ । तलब सातामा ४२ घण्टाको हिसाबमा प्रदान गरिने छ । सरकारले गतवर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गरेको थियो । त्यसबेला पहिलो चरणमा ५ सय कामदार पठाउने समझदारी भएको थियो । इजरायल जाने कामदारले खानाको प्रबन्ध आफैले मिलाउनुपर्ने तर बस्ने प्रबन्ध भने रोजगारदाताले नै उपलब्ध गराउने छ ।

रोजगारमा जाने करार अवधि एक वर्षको हुनेछ । करार थपेर पाँच वर्षसम्म बस्न पाइनेछ । रोजगारीका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् । उचाइ कम्तीमा एक दशमलव पाँच मिटर र ४५ किलो तौल हुनुपर्छ । कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी तालिम लिएको हुनुपर्छ ।

१० जोड दुई सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यताप्राप्त तालीम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी तीन महिना तालीम लिएको भएपनि हुने गरि योग्यता तोकिएको छ । आवेदन दिनेहरु विगतमा इजरालयलमा गई काम नगरेको र तिनका बुबाआमा, पतिपत्नी वा छोराछोरी त्यहाँ बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने शर्त रहेको छ ।