समाचार

चिनियाँ समकक्षीले देउवालाई दिए बधाई, मिलेर काम गर्न चाहेको सन्देश

Photo : britannica.com

काठमाडौं । चीनका प्रधानमन्त्री ली खछयाङले नेपालका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई ज्ञापन गरेका छन् । उनले चीन प्रधानमन्त्री देउवासँग मिलेर काम गर्न आतुर रहेको समेत बताएका छन्। प्रधानमन्त्री देउवालाई सरकारको नेतृत्व गरेकोमा बधाई सन्देश दिँदै चिनियाँ प्रधानमन्त्री लीले दुवै देशबीच रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने बताएको नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छिन् ।

नेपालका लागि चीनकी राजदूत होउ यान्छीले प्रधानमन्त्री लीले पठाएको सन्देशलाई ट्वीटमार्फत सार्वजनिक गरेकी हुन् । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले समेत यसबारे जानकारी गराएको छ । चिनियाँ प्रधानमन्त्री लीले चीन र नेपाल हिमालय र नदीले जोडिएको तथा एउटा ढुंगामा रहेर एक अर्कालाई सहयोग गर्ने रहेको उल्लेख गरेको समाचारमा उल्लेख छ ।