मनोरञ्जन

सिन्धुलीमा तयार भयो युद्ध संग्रहालय, राष्ट्रपतिद्धारा उद्घाटन

Photo : RSS

सिन्धुली । सिन्धुलीमा युद्ध संग्रहालय तयार भएको छ । दुई वर्ष अगाडी शुरु भएको संग्रहालय निर्माणको काम सकिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् । राष्ट्रपति बुधबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सिन्धुलीगढी पुगिन । कमलामाई नगरपालिकासँगको सहकार्यमा नेपाली सेनाले युद्ध संग्रहालय निर्माण गरेको छ । संग्रहालय छ हजार २७५ स्क्वायर फिटमा फैलिएको छ ।

कुल ६ करोड ५० लाख रुपैयाँ लागतमा संग्रहालय बनाइएको हो । संग्रहालयमा वीर योद्धाको परिचय, तत्कालीन समयमा प्रयोग भएका हातहतियार राखिएका छन् । सिन्धुली अंग्रेजसँगको नेपालको युद्धको सबैभन्दा चर्चित स्थान हो । अब सिन्धुलीमा यहाँको ऐतिहासिक गढीसँगै युद्ध संग्रहालय समेत एक आकर्षक पर्यटकीय गन्तब्य बन्ने छ ।


ऐतिहासिक सिन्धुलीगढीमा निर्माण भएको युद्ध संग्रहालयमा वीर गोर्खा फौज र अंग्रेज सेनाबीच विक्रम संवत १८२४ मा भएको लडाइँलाई स्मरण गराउने सामग्रीहरु राखिएको छ । तत्कालीन समयमा गोर्खा फौजले इस्ट इन्डिया कम्पनीका अंग्रेज फौजलाई हराएर थियो । संग्रहालयको डिजिटल बोर्डमा वीर योद्धाहरुको नामांकन गरिएको छ । ६ हजार २८१ स्क्वायर फुटको यो संग्रहालयमा युद्धको झल्को दिने लोपोन्मुख सामग्री छन् ।

६ कोठे यो संग्रहालयमा राखिएका युद्धकालीन हातहतियार र दस्तावेजले इतिहासको खोजी गर्न थप मद्दत मिल्ने छ । संग्रहालयभित्र वृतचित्रमार्फत गढीको ऐतिहासिक सामरिक महत्त्व प्रर्दशनगर्न सकिने थिएटर, तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्ताबेज, युद्धकालीन समयमा घरेलु सेना र अंग्रेज सेनाको पोशाक प्रर्दशनलगायत संग्रहित गरी राखिएको छ ।

नेपाल एकीकरणका समयमा गोर्खाली सेनाले अंग्रेज फौजलाई सिन्धुलीको सिन्धुलीगढी, मकवानपुरको मकवानपुरगढी, रौतहटको समनपुर र रुपन्देहीको जितगढी युद्धमा हराएको इतिहास रहेकोले ती स्थानमा नेपाली सेनाले युद्ध संग्रहालय बनाउने योजना अघि सारेको बताएको छ ।

Photo : RSS