बिचार

मान्छे मरेर जाँदा के लैजान्छन् ? के छाड्छन् ?

योगेश आदी, न्युयोर्क

ब्रमाण्डमा २ प्रमुख सत्य छन् । जन्म र मृत्यु । जन्ममा उत्सव र मृत्युमा शोक मनाउँछन् । आफ्नो जन्मको कुरा गरिरहन्छन् तर आफ्नो मृत्युको कुरा गर्न समेत डराउँछन् । किनकि जीवन र जीवनका सपनाहरु प्यारा हुन्छन् । जीवनमा मनले चाहेका सपनाहरु कति पुरा हुन्छन् कति अधुरै रहन्छन् । जीवनका संकल्प र सपनाका चर्चा गर्दा संसार जित्ने सपना देख्ने अलेक्जेन्डरको जीवनि मननीय लाग्छ ।

ग्रिकका राजा अलेक्जेण्डर द ग्रेटले ३२ वर्षको उमेरमा नै सर्वाधिक बलियो शैन्य शक्ति कायम गरे । चर्चा संसारभर चल्यो तर युवावस्थामा नै मृत्युवरण गरे । उनको लास गिर्जाघर लैजादैं गर्दा उनको दाहिने हत्केला कफनबाट बाहिर निस्केको थियो । देख्नेहरुले लख काटे ।
“मान्छेले मरेर जाँदा केही लैजादैन, अलेक्जेण्जर पनि खाली हात गए” धेरैले त्यही सोचे । किनकि तात्कालिन समयमा उनले संसारभरका राजाहरु मध्येमा ‘द ग्रेट’को उपमा समेत पाइसकेका थिए । उनका लागि असम्भव केही थिएन । यसर्थ धेरैले उस्तै सोचे । तर सबैले गलत सोचिरहेका थिए । किनकि उनीसँग सुन्दर सपनाका फहरिस्ते थियो, स्वर्णीम कल्पना थियो । आफुसँग जोडिएका सुमधुर संकल्पहरु थिए । ति सम्पूर्ण सपना, कल्पना र संकल्पहरु उनी मर्दा अधुरा नै अवस्थामा आफुसँगै लिएर मरेका थिए । जुन कहिल्यै पुरा भएन । आत्मा तृप्त थिएन । उनका अधुरा निजी संकल्पहरु उनको आफ्ना सपना थिए । अरुले पुरा गरेर उनका आत्मा कसरी तृप्त हुन सक्छ र ?

त्यसैले मान्छे मरेर जाँदा अधुरा सपनाहरु पनि सँगै लिएर जान्छन् । पुनर्जन्म, आत्मा र मृतात्माको स्वस्तिशान्तिको पूजा अर्चना गर्नेहरुले सायद अधुरा सपनाको सानिध्य गर्छन् । चन्द्रमामा वस्ति बसाउने योजनाकार वैज्ञानिक पनि घर फर्कदा बाटोमा पर्ने पुर्खाको चिहानमा ढोग्छन् । अदृष्य शक्तिमा श्रद्धा राख्छन् । नदेखिएका जीवनका पाटाहरुको महत्व कहाँ छैन ? वास्तवमा मानव जीवनमा देखिएका भन्दा नदेखिएका चिजले कालान्तरमा पछ्याइ रहदो रहेछ । मनको कुनामा सजाइएका चाहनाहरुको दैनिक चर्चा गरिदैन तर त्यही चाहनामा नै आत्माको प्यास मेट्ने ताकत हुन्छ । तसर्थ; मनको कुनामा दबिएका इच्छा र चाहना पुरा गर्ने जीवित रहँदा नै हो । अन्यथा मरेर जाँदा सबै अधुरा चाहना सँगै लिएर जानुपर्ने अवस्था आउँछ ।

मान्छेले मरेर जाँदा छाड्ने भनेको प्रयोग गरेका बस्तुहरु र दोश्रोसँग जोडिएका भावना हुन् । एकाधले यश र कृति छाडेर जान्छन् । ऋग्वेदले मृत्युपछिको मानव अस्तित्वलाई ३ भागमा बिभाजन गरेको छ; परमात्मा, आत्मा र प्रकृति । मान्छे मरेपछि ऊ पुन: प्रकृतिमा मिसिन्छ । तर आत्मा भने शक्तिको भण्डारमा रहिरहन्छन् । शक्ति भण्डारमा त्यही अधुरा चाहना नै भट्किने हो । यसर्थ; यो जीवनकालमा बनाएका साना ठुला सपनाहरु यै जीवनकालमा साकार पार्ने यत्न गरौं । पुनर्जन्ममा विश्वास गर्नेहरुका लागि अर्को जन्मका लागि नयाँ सपनाहरु तयार रहने छन् । जीवनमा मान्छेसँग अन्योन्याश्रित जोडिने उसको कर्म हो । कर्म अनुसार नै उसको भाग तयार हुन्छ । कर्म यस जन्मको भोगको लागि गरिनु पर्दछ । त्यागेर जाने त भोग गरिसकेका वस्तुहरु हुन् ।

भौतिक चिजबिजहरु ईच्छा, चाहना र सपना पुरा गर्ने साधन हुन् । साध्य मनशान्ति हो । भौतिक संसारको सास नै मन हो । नदेखिएका, नदेखाइएका चिजले नै पर्दा अगाडिका वस्तु नचाइ रहेको हुन्छ । मन गतिशिल हुन्छ । अवस्था अनुसार बदलिन सक्छ ।
मान्छेले निश्चित उमेर समुह पार गर्दै गर्दा थुप्रै देखिने आदतहरु थप्दै, त्याग्दै जान्छन् । नदेखिने कैयन गुण अवगुण पनि थप्छन्, गुमाउँछन् । बाँचुन्जेल महत्व राख्ने मुर्त वस्तुसँग मानिस प्रत्यक्ष जोडिन्छन् भने अमुर्त बस्तुसँग मनले सम्वन्ध जोडेको हुन्छ । मनले साँचेका, ठानेका र मानेका सपना पुरा गर्ने जीवित रहँदा नै हो । नत्र मरेर जाँदा सँगै लिएर जानुको विकल्प रहदैन ।