समाचार

फास्ट ट्रयाकमा काम गर्न चिनियाँ प्राविधिक टोली नेपाल आयो

File

काठमाडौं । निर्माणाधीन काठमाडौँ–तराईरमधेस द्रुतमार्गको पहिलो प्याकेज अन्तर्गत पर्ने सुरुङमार्ग र पक्की पुलको डिजाइन बनाउन चिनियाँ निर्माण कम्पनीका विशेषज्ञ प्राविधिक टोली नेपाल आएको छ । द्रुतमार्ग अन्तर्गत महादेवडाँडामा तीन किलोमिटरभन्दा लामो सुरुङमार्ग बन्ने छ । साथै पक्की पुल निर्माणको ठेक्का पाएको चीनको एमएस चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीका २३ जना प्राविधिक नेपाल आइपुगेका हुन् । उनीहरु नेपाली सेनाको समन्वयमा नेपाल आएका हुन् ।

सरकारले द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको छ । प्राविधिक टोलीको मुख्य काम सुरुङमार्ग र पुलको डिजाइन तयार गर्नु रहने छ । टोलीमा हाइवे इन्जिनियर, टनेल इन्जिनियर, जियोलोजिस्टसहितका प्राविधिकहरू रहेका छन् । निर्माण सम्झौता भएको छ महिनाभित्र प्राविधिकले डिजाइन तयार गर्ने छन् । त्यसपछि उनीहरु चीन फर्कने छन् । निर्माणका लागि भने अर्को प्राविधिक टोली नेपाल आउने छ ।

द्रुतमार्गको दुइटै प्याकेजअन्तर्गतको सुरुङमार्ग र पुल (हाइब्रिज) निर्माण गर्न नेपाली सेना र चिनियाँ कम्पनीसँग वैशाख २९ गते सम्झौतामा हस्ताक्षर भएको हो । एक महिनाअघि द्रुतमार्गको दोस्रो प्याकेजअन्तर्गतको मकवानपुरको धेद्रे–लेनडाँडा खण्डमा सुरुङमार्ग र पुल (हाइब्रिज) डिजाइन गर्न सो खण्डको निर्माण ठेक्का पाएको चीनको पोली च्याङ्दा इन्जिनियरिङ कम्पनीका परियोजना प्रबन्धकसहितको १४ जनाको प्राविधिक टोलीले कार्यस्थलमा पुगी काम सुरु गरिसकेका छन् । पहिलो र दोस्रो प्याकेजको निर्माण लागत क्रमशः २१ अर्ब ६१ करोड र २८ अर्ब ५३ करोड रुपैयाँ हो ।