विश्व

चीनमा वुहानपछिकै खतरनाक तरिकाले कोरोना संक्रमण बढ्यो, नान्जिङ सहर बढी प्रभावित

बेइजिङ । विश्वकै सर्वाधिक धेरै जनसंख्या भएको मुलुक कोरोनाको उत्पत्ति भएको देश हो । तर, उसले निकै सावधानीका साथ महामारी नियन्त्रणमा राखेको थियो । कम क्षति र पर्याप्त सचेतनाका कारण विश्वका अन्य भेगको तुलनामा चीनको अर्थतन्त्र समेत कम प्रभावित बन्यो । तर, पछिल्लो दिनमा भाइरसको वितरण तिव्र हुँदा समेत चीनमा बढेको कोरोना संक्रमणले भने यहाँ चिन्ता बढाएको छ । चीनको नान्जिङ सहर अहिले सबैभन्दा बढी प्रभावित बनेको छ ।

कोरोनाभाइरस प्रकोपका रूपमा अन्य पाँच प्रान्त र राजधानी बेइजिङसम्म विस्तार भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। बीबीसीका अनुसार उनीहरूले अहिलेको अवस्थालाई वुहानपछिको सबैभन्दा व्यापक महामारी भनेका छन् । जुलाई २० मा नान्जिङ विमानस्थलमा एक जनामा कोरोनाभाइरस फेला परेपछि झन्डै २०० जना सङ्क्रमित भइसकेका छन्। एउटा स्रोतलाई उद्धृत गर्दै चीनको ग्लोबल टाइम्सले आगामी अगस्ट ११ सम्म नान्जिङबाट हुने सबै उडान स्थगित गरिएको छ । अब सहरका ९३ लाख बासिन्दा र आगन्तुकहरूको परीक्षण गरिने भएको छ ।


अधिकारीहरूका अनुसार कोरोनाभाइरसको अतिसङ्क्रामक डेल्टा भेरिअन्टका कारण सङ्क्रमण तिव्र रुपमा फैलिएको छ । नान्जिङका एक स्वास्थ्य अधिकारीका अनुसार त्यहाँ फेला परेका सङ्क्रमितहरूको सम्बन्ध रुसबाट आएको एउटा विमान सफा गर्न गएका कर्मचारीसँग भएको बताएका छन्। उक्त विमान जुलाई १० मा रुसबाट आएको थियो। परीक्षणबाट भाइरस चङ्दू र बेइजिङसहित १३ वटा सहरमा फैलिसकेको पुष्टि भएको छ।