विश्व

ओमानी तटमा रहेको इजरायली तेल ट्यांकरमा इरानले आक्रमण गरेको अमेरिका र बेलायतको दावि

file

लण्डन । इजरेलको स्वामित्त्वको कम्पनीले सञ्चालन गरिरहेको एमभी मर्सर स्ट्रिट नामक एक ट्याङ्करमा बिहीवार ओमानी तटमा आक्रमण भयो । यो आक्रमणमा दुई जना मारिएका छन् । घटनामा इरानको हात रहेको अमेरिका र बेलायतले दावि गरेका छन् । बीबीसीका अनुसार उनीहरूले घटना अन्तर्राष्ट्रिय कानुन विपरीत भएको भन्दै त्यसको जवाफ दिइने समेत चेतावनी दिएका छन् । इरानले घटनामा आफ्नो संलग्नता भने अस्वीकार गरेको छ। यो घटनामा एक जना बेलायती र एक जना रुमेनियाली नागरिकको ज्यान गएको थियो ।

इजरेली प्रधानमन्त्री नाफ्ताली बेनेटले उक्त घटनामा आफ्नो चिरकालीन शत्रु इरानको हात रहेको प्रमाण रहेको बताएका थिए । त्यसपछि अमेरिका र यूकेको प्रतिक्रिया सार्वजनिक भएको हो । उता, इरानले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । उक्त ट्याङ्करमा भएको हमला इजरेल र इरान बीचको अघोषित छद्म युद्धमा तनाव बढाउने पछिल्लो घटनाका रूपमा देखापरेको समेत संचारमाध्यमले लेखेका छन् । गत मार्चदेखि इजरेल र इरानद्वारा सञ्चालित कैयौँ पानी जहाजहरूमा आक्रमण भइरहेका छन् ।