समाचार

भिषण बाढीका कारण काठमाडौंको तिर्खा मेटाउने मेलम्चीको भविश्य अन्यौलमा

काठमाडौं । १ असारको प्रलयकारी बाढी र त्यसमा शनिबार राती थपिएको पहिराले काठमाडौं उपत्यकामा पानी ल्याउन ३० वर्ष अगाडी शुरु भएको मेलम्ची खानेपानी आयोजनाको भविष्य अन्यौलमा परेको छ । सिन्धुपाल्चोकको भ्रेमाथाङ क्षेत्रमा आइतबार हेलिकोप्टरबाट दृष्य हेरिएको छ । जहाँ मेलम्चि खोलाको अधिकांश स्थानमा पहिरो झरेको छ । यो पहिरोले ल्याएको माटो खोलाले तत्काल बगाउन सक्ने अवस्था छैन ।

तर, जुन दिन बगाउँछन्, त्यसले पुनः तटीय क्षेत्रमा ठूलो क्षति निम्त्याउन सक्छ । सोहीकारण विज्ञहरुले मेलम्चीको तटीय क्षेत्रमा तत्काल बस्ती नराख्न र बस्ती स्थानान्तरणको सुझाव दिएका छन् । साथै, यसले बहुप्रतिक्षित आयोजना मेलम्चीको भविश्व समेत अन्यौलमा पारेको छ । किनकी मेलम्ची खानेपानी आयोजनाको मुहान मानिने क्षेत्रलाई माथिबाट बगेर आएको माटो र ढुंगाले पुरेको छ । यसको मात्र ज्यादै धेरै छ । सोहीकारण तत्काल नदीबाट यो हटाएर आयोजना सूचारु गर्न सम्भव देखिएको छैन ।

मेलम्ची क्षेत्रको हेलिकप्टरबाट रेकी गरिएको छ । त्यसपछि विज्ञहरुले आयोजनाबाट तत्काल पानी आउने सम्भावना नरहेको निष्कर्ष निकालेका छन् । मेलम्ची आयोजनाको माथि रहेको भ्रेमाथाङ चौर वर्षौंअघि हिमनदीले बगाएर ल्याएको थेग्रिनीबाट बनेको विज्ञहरुले बताएका छन् । २०७२ सालको भूकम्पपछि उक्त चौर कमजोर बनेको थियो । भ्रेमाथाङमा रहेको ठूलो चौर मेलम्चीमा आएको भेलबाढीले कटान थालेको हो । विज्ञहरुले आयोजना निर्माण शुरु गर्दा जोखिम आंकलन नभएका कारण आयोजनाको भविश्य नै संकटमा परेको हो की भन्ने आंशका समेत गरेका छन् ।