फिचर

अगष्टमा अन्तर्राष्ट्रिय उडानको तालीका सार्वजनिक, कुन मुलुकमा कति उडान ?

काठमाडौं । नेपाल नागरिक प्राधिकरणले अगष्ट महिनाका लागि उडान सार्वजनिक गरेको छ । अगष्ट २०२१ भर सातामा कुल ६७ उडान गर्ने गरी उडान तालीका तोकेको छ । पछिल्लो तालीका ३१ अगष्ट २०२१ सम्म कायम हुने छ । प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सले दोहाको कतारमा दैनिक एक उडान गर्ने गरी अनुमति पाएको छ ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा साताको दुई (सोमबार र बुधबार), मलेसियाको क्वालालाम्पुरमा साताको दुई (मंगलबार र शुक्रबार), भारतको नयाँ दिल्लीमा साताको तीन (सोमबार, बुधबार र शनिबार) र जापानको नारितामा हरेक बिहीबार उडान गर्ने गरी अनुमति पाएको प्राधिकरणको तथ्यांक छ ।

हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुरमा आइतबार, बुधबार, बिहीबार, शुक्रबार र शनिबार गरी पाँच उडान गर्ने छ । दुबईमा हिमालयले साताको तीन (सोमबार, बुधबार र शनिबार) उडाउने गरि अनुमति पाएको छ । हिमालयले कतारको राजधानी दोहामा भने साताको पाँच (सोमबार, शुक्रबारसम्म) उडान गर्न अनुमति पाएको हो ।

एयर इण्डियाले भारतको राजधानी नयाँ दिल्लीबाट हरेक आइतबार, मंगलबार र शुक्रबार नेपाल उडान गर्नेछ । फ्लाई दुबईले भने दुबईबाट मंगलबार, बुधबार र शुक्रबार गरि सातामा तीन उडान गर्न अनुमति पाएको छ । जजिरा एयरवेजले कुवेतबाट हरेक दिन नेपाल उडान गर्नेछ । कोरियन एयरले हरेक बुधबार काठमाडौं उडान गर्ने भएको छ ।

मालिन्दो एयरको जहाज क्वालालाम्पुरबाट सोमबार, बुधबार र शनिबार काठमाडौं आउनेछ । मलेसिया एयरलाइन्सले हरेक शनिबार क्वालालाम्पुरबाट काठमाडौंमा उडान गर्ने गरि अनुमति पाएको छ । कतार एयरवेजले कतारको दोहाबाट काठमाडौंमा दैनिक २ उडान गर्ने गरि अनुमति पाएको छ ।

सलाम एयरले ओमानको मस्कटबाट आइतबार, मंगलबार र बिहीबार नेपालमा जहाज ल्याउने छ । टर्किस एयरलाइन्सले सोमबार, बिहीबार र शनिबार नेपाल उडान गर्ने भएको छ । सिंगापुर एयरलाइन्सले भने हरेक आइतबार नेपाल उडानको अनुमति पाएको छ ।