बिचार

न्यूजविकले नेपालमा किन जन्मायो मार्क्स ?

पुरुषोत्तम लम्साल
[email protected]

प्रसिद्ध अमेरिकी अखबार वाशिंगटन पोष्ट कम्पनीको सहप्रकाशन न्युजविकले १९९१ मे २७ मा नेपालमा कार्ल मार्क्स जीवित छन् (इन नेपाल, कार्ल माक्र्स लाइभ्स) शीर्षक दिएर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) का तात्कालीन महासभिव मदन भण्डारीको एउटा अन्तर्वार्ता प्रकाशन गर्यो । न्युजविकमा प्राथमिकतासाथ छापिएको त्यो नै नेपालका राजनीतिककर्मीको पहिलो अन्तर्वार्ता थियो । झन् त्यसमा प्रयुक्त विचारोत्तेजक, सनसनिपूर्ण शीर्षक अर्को अचम्म थियो । त्यसैले आज पनि मदन भण्डारीको नामको ब्यापार गर्नेहरु कि उक्त अन्तर्वार्ताको ‘कटिंग स्लिप’ देखाउँछन् कि उदाहरण दिन्छन् । एमालेका सामान्य कार्यकर्ताले मात्र होइन हिजोका र आजका एमाले सबैका लागि न्युजविकको त्यो अन्तर्वार्ता अजम्बरी बुटी जस्तै उल्लेख गर्नैपर्ने, भन्नै पर्ने विषय बनेको छ । अझ बढी, हिजो तिनै मदन भण्डारीले सैद्धान्तिक जलप लगाइदिएको जनताको बहुदलीय जनवाद (जबज) र भण्डारीले नेतृत्व गरेको राजनीतिक कार्यक्रमप्रति तीखो र तुच्छ व्याख्या र टिप्पणी गर्ने स्वघोषित क्रान्तिकारीका लागि अहिले त्यो अन्तर्वार्ता उधुम महान लागेको पनि देख्न र सुन्न पाइन्छ ।

अन्तर्वार्तामा जम्मा १२ वटा सालाखाला र औसत प्रश्न छन् । सोभियत संघ त ढल्यो तपाईहरु कसरी सफल हुनुहुन्छ ? भन्ने आशयको पहिलो प्रश्नदेखि संसारका विभिन्न देशमा कम्युनिष्ट शाषकहरुविरुद्ध जनता उठिरहेको बेलामा यहाँ पनि (नेपालमा) उठ्यो भने के हुन्छ भन्ने अन्तिम प्रश्न छ । प्रश्नोत्तरमा कहीं पनि मार्क्सवादी सौन्दर्य चेतनाबारे, लेनिनवादबारे, माओवादबारे विमर्श छैन । उत्तर कोरिया र चीनलाई पुस्तकसँग जोडेर छोटा दुई प्रश्न छन् । पार्टीमा बैदेशिक सहयोग र लगानीको आशंकाबारे दुई, भूमिसुधार, बैदेशिक लगानि र धर्म एवम् जातीबारे एकएक प्रश्न छन् । उत्तरहरु सिधा र स्पष्ट छन् । ब्यवहारधर्मीले दिने सिधा र स्पष्ट जवाफमा मदन भण्डारी जमेका छन् । पहिलो उत्तरबाटै मदन भण्डारीले प्रजातन्त्र र निर्वाचन प्रक्रिया एवम् प्रणालीमा प्रतिवद्धता जनाएका छन् र अन्तिम जवाफमा यदि ‘जनता हामीविरुद्ध जुटे भने पनि राज्यशक्तिको प्रयोग नगर्ने’ प्रतिवद्धता झैं उत्तर छ ।

त्यो बेलामा पनि न्युजविकसँग विश्वका दुई करोड पाठक रहेको देखिन्छ (न्युजविक हिस्ट्री) । एउटा पत्रिका सरदर ६ जनाले पढ्दा न्युजविकसँग त्यतिबेला दुई करोड पाठक रहेको प्रकाशनको दावी देखिएको रहेछ । अतएवः नेपालमा पञ्चायतविरुद्ध भएको जनआन्दोलनपछि निर्माण भएको ‘लेफ्ट पावर’लाई अन्तर्राष्ट्रिय प्रकाशनको मञ्चले ‘सेन्सेसनल’ बनाएर प्रस्तुत गर्नुलाई ठूलै चमत्कारको रुपमा व्याख्या भएको होला भनेर अहिलेका लागि मानौं । सञ्चार संस्थानको नीतिबारे जान्न नचाहने भएपछि यसमा बहस ब्यर्थ हुन्छ । किनकि, खुट्टामा ठोक्किए मात्र ढुंगा हुन्छ शिर झुकाएपछि देवता त भइहाल्छ ।

यसको अर्थ मदन भण्डारीको अन्तर्वार्तालाई लिएर न्युजविकले कम्युनिष्ट वा राजनीतिको साम्यवादी धार वा वामपन्थीलाई कसरी हेर्दथ्यो भनेर बुझ्न नै हामीले खोजेनौं । न्यूजविकलाई वाशिंगटनले कसरी हेर्दथ्यो वा त्यसमा प्रकाशित सामाग्री (कन्टेन्ट) लाई कसरी मूल्यांकन गर्दथ्यो र त्यो मूल्यांकन गर्ने अलग्गै संयन्त्र पनि थियो कि थिएन भनेर हामीले खोजी नै गरेनौं । हो न हो नेपालमा कार्ल माक्र्स नै जन्मिएका रहेछन् भनेर आज पनि उस्तै प्रचार छ जसरी हिजोका दिनमा थियो । नेपालमा माक्र्स जन्मिएका थिए कि जन्माइएका थिए भनेर न अरुसँग प्रश्न सोध्यौं न आफैंलाई सोध्यौं ।

तात्कालीन रुसी राष्ट्रपति मिखायल गोर्वाचोभको विगतलाई न्युजविकले कसरी, कुन तस्वीरबाट, कुन कोणबाट साथ, समर्थन र सहयोग गर्दथ्यो भनेर केलाउने अध्ययनहरु पनि छन् । सोभयित संघ मामिलामै मात्र न्यूजविकमा प्रकाशित झण्डै एक हजार सामाग्री (तस्वीरसमेत), त्यसको बिवरण र त्यसले ग्रहण गरेका सन्देश केलाएर विद्याबारिधीकै शोधहरु भएका छन् । यस्ता शोध तथा अनुसन्धानहरु रुसी सन्दर्भमा मात्र होइन पूर्वी एसिया, दक्षिण एसिया र मध्य एसियाका सन्दर्भमा पनि भएका छन् । र, आश्चर्य न्यूजविकले मदन भण्डारीको देवत्वकरण गराईदिएको छ र आजका एमालेजन त्यसैले खैंजडी बजाइरहेका छन् ।

निश्चय नै सञ्चार सामाग्रीमा प्रदर्शन र आशय (लेटेन्ट र मेनिफेस्ट) को नापतौल गर्नु सहज र सरल काम होइन । यसको अर्थ रुप र आशय केलायउनै हुँदैन वा त्यो कोणलाई बर्जित नै गर्नपर्दछ भन्ने पनि नहुन सक्दछ । यसैले अमेरिकामा जिम्मी कार्टर, रोनाल्ड रेगन र जर्ज बुशसम्मको राष्ट्रपति कार्यकालमा न्युजविकले प्रतिनिधित्व गर्ने अमेरिकी स्वार्थ र दृष्टिकोण भने महत्वपूर्ण हुनसक्दछ । पत्रकारितालाई अमेरिकी प्रकाशनले कसरी अनअफिसियल अब्जरभर बनाउँदछ भनेर केलाउनेका लागि यो विचारणीय सन्दर्भ हुनसक्दछ । प्रकाशित सामाग्रीलाई स्वार्थ समूहले कसरी सतर्कताको विश्लेषण (अटेन्सन एनालिसिस) र इन्टेन्सन एलालिसिस (नियतको विश्लेषण) गर्दछन् भनेर बुझ्नका लागि पनि न्यूजविकमा प्रकाशित मदन भण्डारीको अन्तर्वार्ता एउटा नमूना हुनसक्दछ ।

‘द इफेक्ट अफ द गोर्वाचोभ एरा अन न्यूजविक कभरेज’का शोधकर्ता रुथ विन्चेस्टरले ७ वर्ष (सन् १९८५ देखि १९९१) न्यूजविकमा प्रकाशित शीर्षक, शब्द, तस्वीर र, कटलाइनमार्फत कसरी वाशिंगटनको कान ठाडो पार्दथ्यो भनेर केलाएका छन् । विन्चेस्टरले दावीसहित प्रस्तुत गरेको तथ्यले के भन्दछ भने ‘सोभियत संघ विघटनताक अमेरिकी राष्ट्रपति जर्ज बुशको कार्यकालमा सोभियत – चिनियाँ धूरीको सूचनाको मुख्य स्रोत नै न्युजविक थियो ।’ उनी भन्दछन् ‘न्युजविकलाई वाशिंगटनले आँखाको रुपमा मात्र होइन मुद्दाको तर्जुमा गर्ने हतियारको रुपमा समेत हेर्दथ्यो ।’

अखबारी विषयवस्तुका विख्यात शोधकर्ता बोल्डिंगको मत मान्ने हो भने ‘समाचारको आकार र स्थानले स्वार्थ र प्राथमिकता निर्धारण गर्दछ ।’ न्युजविकमा मदन भण्डारीको अन्तर्वार्ता छापियो मात्र भनेर हावामा जुंगामा ताउ लगाउने नेपाली समूहले बोल्डिंगको उक्त मतलाई कहिल्यै केलाएको पाइदैन । प्रोपोगाण्डा म्यागेजिन भनेर चिनिएको अमेरिकन इलुस्ट्रेटेडले कसरी बैदेशिक सम्बनधबारे मुद्दा स्थापित गराउँदथ्यो र प्रशासनले कसरी त्यसलाई कि सोर्स बनाउँदथ्यो भनेर भएका अध्ययन पनि मदन भण्डारीको अन्तर्वार्ताको सन्दर्भमा टिप्नलायक सन्दर्भ हुनसक्दछ । न्युजविकमै प्रकाशित सामाग्री (विषयवस्तु) बारे अध्ययन गरेका एवीनले ‘बाक्लो नंग्रा भएको रुसी मयुर’ कसरी फरकफरक भुगोलमा फैलिरहेको छ भनेर दिएको दक्षिण एसियाको सन्दर्भ (एविन, १९८८) को कडी जोड्दा पनि न्युजविकले सतर्कता र नियत दुबैलाई ध्यानमा राखेर नेपाली वामपन्थको गोर्वाचोभकरणमा यथासक्य भूमिका खेलेको दावी गर्न सकिन्छ । यही प्रसंगमा ‘अमेरिकी मिडिया बिदेश मामिलामा शक्तिशाली छैनन् र सरकारद्वारा नियन्त्रित पनि छैनन तर तिनीहरुले फरक कोणबाट कसरी राष्ट्रिय स्वार्थमा आफ्नो प्रभावशाली भूमिका निभाइरहेका हुन्छन् (बेरी, १९९०) भनेर लामो बहस भएको भेटिन्छ ।

न्युजविकले अमेरिकी बिदेश नीतिको अनुकूलतामा बैदेशिक सम्बन्धलाई (राजनीतिक दलहरुको सम्बन्धसमेत) मैत्रीपूर्ण र शत्रुतापूर्ण, शान्तिपूर्ण र आक्रामक, प्रगतिशील र यथास्थिति, स्थीर र अस्थीर, खुल्ला र सङ्कीर्ण बर्गीकरणमा रहेर सूचना र सतर्कता दुबैमा आँखा र कानको भूमिका निभाएको दावीलार्य निश्चित बिन्दूमा रहेर तर्कशास्त्रको घोलमा डुबाउने हो भने मदन भण्डारीको अन्तर्वार्ता र विषयवस्तुको सेन्सेटाइजेसन (अतिरञ्जनाकरण) बाट हामीले शिक्षा लिनपर्ने ठाउँहरु प्रशस्त भेटिन्छन् । किनकि, उमेर, विचार, प्रभाव र विस्तारमा मदन भण्डारी आँधीको गतिमा दौडिएका वामपन्थी घोडा थिए । अभिव्यक्ति, नेतृत्व, संगठन र अन्तर्राष्ट्रिय सीमामा समेत मदन भण्डारीको आयतनले देशीय परिधी काट्दै थियो । र, त्यो बेलामा न्युजविकको बाटो र माइकल लेट्विनको रेकर्डरबाट मदन भण्डारीले नीति, कार्यक्रमबारे प्रतिवद्धतापूर्ण सन्देश अमेरिकी धुरीलाई दिएका थिए ।

ठीक त्यही बेला न्यूयोर्क टाइम्स, वाशिंगटन पोष्ट, न्युजविक र एबीसी न्युज जस्ता प्रभावशाली अमेरिकी सञ्चार माध्यममा प्रकाशन प्रशारण भएका एसियाली विषयवस्तुबारे अध्ययन गरेपछि एउटा निश्कर्ष आएको रहेछ ‘जहाँ सङ्कट, विकास र सत्ता सबैमा मिडियामा अमेरिकी नीतिकै पक्षपोषण हुने रहेछ (लेन्ट र राव, १९८९) ।’ उनीहरुको निश्कर्ष ‘अमेरिकाको आन्तरिक तथा बाह्य नीतिको सापेक्षताभन्दा बापहर नगएका समाचारहरको योगफल नै दुईतिहाई भन्दा बढी (लेन्ट र राव, १९८९, पृष्ठ २२)’ रहेको भेटिन्छ ।

यति भनिसकेपछि न्युजविकले प्रकाशन गरेको मदन भण्डारीको अन्तवार्ताको पृष्ठभूमिसँग के के घटना र सन्दर्भहरु जोडिन्छन् भनेर तपाईमा चासो पलाउला । मदन भण्डारीले आफ्नै मौलिकतामा प्रतिपादन र विकास गरेको भनिएको जनताको बहुदलीय जनवादको पृष्ठभूमिमा के के अन्तर्राष्ट्रिय कडी ठोक्किन आउने रहेछन् भन्ने जिज्ञासा पनि रहला । सामाजिक खुल्लापनको अवधारणा र जबजको अवधारणामा के के तात्विक भिन्नता रहेछन् र त्यसलाई न्युजविकले कसरी प्रवर्धन गरेको रहेछ भन्ने पनि प्रश्न होला । माथिका तीन सवालका लागि तपाईले आगामी हप्ता “विश्वसन्देश साप्ताहिक” को यही कुनो पल्टाउनपर्नेछ । फेरि भेटौंला ।