फिचर

नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने तयारी गरेको छ । उनी प्राधिकरणका निवर्तमान प्रमुख कार्यकारी निर्देशक हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई नियुक्त गर्न आवश्यक प्रक्रिया थाल्न निर्देशन दिएसँगै उनको नियुक्ति प्रक्रिया अगाडी बढ्ने भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सिफारिसमा उनको नियुक्ति हुन लागेको हो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारले उनलाई पुननियुक्ति नदिएर प्राधिकरणकै हितेन्द्रदेव शाक्यलाई प्राधिकरणमा नियुक्ति दिएको थियो । उर्जा जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुषालले मंगलबार नै शाक्यलाई प्रधानमन्त्रीसँगै राखेर राजिनामा दिन आग्रह गरेकी छिन् । उनले मार्गप्रशस्त गर्न भनेकी हुन् ।

प्रधानमन्त्रीबाट समेत निर्देशन आएका कारण अब मन्त्रालयले नियुक्ति प्रक्रिया थाल्ने छ । चार वर्ष प्राधिकरणको नेतृत्व गरेका कुलमानले नेपालबाट लोडसेडिङ्ग हटाउन महत्वपूर्ण भूमिका खेलेका थिए । आम मानिसले समेत उनको पुननियुक्तिको खबरलाई उत्साहजनक रुपमा लिएका छन् ।