समाचार

ओली सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज, रेलका हाकीमलाई स्पष्टीकरण

काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । केपी शर्मा ओलीको नेतृत्वको सरकारले एमाले नेता देवीप्रसाद ज्ञवालीलाई संयोजक राखेर आयोग बनाएको थियो । आयोगको देशका ७५ वटै जिल्लामा स्थानीय एमाले नेतालाई संयोजक तोकिएको थियो । मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको जानकारी दिएका हुन् ।

सरकारले अघिल्लो सरकारले एकलौटी गरेका निर्णयहरु धमाधम सच्याइरहेको छ । सरकारले आजै रेल विभागका महानिर्देशक गुरुप्रसाद भट्टराईसँग समेत स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । कानुन मन्त्री कार्कीका अनुसार रेल विभागका महानिर्देशक भट्टराईले आचरण विपरित कार्य गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको हो । रेल विभागमा बसेर उनले सरकारको आलोचना गर्ने गरेका छन् । उनलाई समेत केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्ति दिएको हो ।