समाचार

एक दिनमै चार हजार भन्दा माथि संक्रमण, कुन जिल्लामा कति थपिए ?

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणले उच्च गति लिँदै गर्दा अस्पतालहरुमा भिडभाड बढेको छ । कतिपय सरकारी अस्पतालमा बिरामीको चाप बढेपछि बेड पाउन मुस्किल भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुना पीसीआर परीक्षण गर्दा २,९७५ जना र ४,९४४ जनाको एन्टीजेन परीगक्षणबाट ११३२ जना गरी ४,१०७ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५ हजार ७२ पुगेको छ । तीमध्ये ९ हजार ९५७ जनाको मृत्यु भएको छ । ६ लाख ६१ हजार ६५१ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ जना रहेका छन् । जसमध्ये ३० हजार २७० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७१४ जना आईसीयू र १५६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९०८, झापामा २९६, कास्कीमा २२६, ललितपुरमा २०६, भक्तपुरमा १६५ र मोरङमा १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुरमा १०२, सुनसरीमा ९९, चिनवमा ९२, रुपन्देहीमा ६१, नवलपारसी पूर्वमा ५८, तनहुँमा ५५, नुवाकोटमा ५३ र गोरखामा ४९ जना कोरोना संक्रमित थपिएको तथ्यांक छ ।