समाचार

जापानले नेपाललाई दिएको खोप शनिबार काठमाडौं आउने निश्चित

काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप शनिबार काठमाडौं आउने भएको छ । काठमाडौंस्थित जापानी दूतावासका अनुसार शनिबार र आइतबार गरि पहिलो लटमा कुल ८ लाख डोज खोप काठमाडौं आउने भएको छ । यो खोप पहिलो डोज लगाएर दोस्रो डोज कुरिरहेका जेष्ठ नागरिकका लागि उपलब्ध हुने छ ।

काठमाडौंस्थित जापानी दूतावासले विज्ञप्ति जारी गरी जापानले अनुदानमा दिएको १६ लाख डोजमध्ये ८ लाख खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने निश्चित भएको जानकारी दिएको हो । बाँकी खोप उपयुक्त समयमा नेपाल आउने जापानी दूतावासको भनाई छ । जापानले २९ असारमा कोभ्याक्स सुविधामार्फत खोप आउने जानकारी गराएको थियो । जापानका परराष्ट्रमन्त्री मोतेगी तोसिमित्सुले यस्तो घोषणा गरेका थिए । कोभ्याक्स सुविधा मार्फत नेपाललाई एस्ट्राजेनेकाको १६ लाख खोप दिने घोषणा जापानले गरेको हो ।