समाचार

मेलम्चीको भौगर्भिक अध्ययन गर्न बिहीबारबाट ड्रोनसहित टोली खटिने

काठमाडौं । बाढी र पहिरोका कारण सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र आक्रान्त बनेको छ । यसले ठूलो मानवीय तथा भौतिक क्षति निम्त्याएको छ । यहाँका बासिन्दाले आफ्नो जिवनकालमा यसअघि कहिल्यै पनि कल्पना समेत नगरेको यो विपदको कारण पत्ता लगाउन र भौगर्भिक अध्ययन गर्न भूगर्भविद्को टोली खटिने भएको छ । बिहीबार खानी विभागको प्राविधिकहरुको टोली सो क्षेत्रमा जाने भएको हो । प्राविधिक टोलीले बाढी र पहिरोको कारण बारे विस्तृत अध्ययन गर्ने बताइएको छ ।

बाढीमा लेदो बगेको छ । यसकारण पहाड नै फुटेर त्यसबाट निरन्तर माटो र ढुंगा पानीसँगै बगेको हो । यसले मेलम्ची खानेपानी आयोजना समत अन्यौलमा परेको हो । यो टोलीले सकेसम्म मेलम्ची खोलाको मुहान सम्म नै पुगेर अध्ययन गर्ने भएको हो । अध्ययनको लागि चाहिने उपकरणको साथै डोनमार्फत त्यस क्षेत्रको अवस्था हेरिने बताइएको छ । विज्ञ टोली मुहानमा पाल टाँगेर बस्नेछ ।

स्थलगत अध्ययन पछि कसरी के कारणले बाढी पहिरो आयो भनेर कारण पत्ता लाग्ने अपेक्षा विभागले गरेको छ । यसअघि स्थानीय तहबाट हेलिकोप्टरका माध्यमबाट सो क्षेत्रको अवलोकन गर्दा ठूल्ठूलो पहिरो गएको र चौरमा दरार फाटेका कारण अझै ठूलो जोखिम रहेको देखिएको थियो । अध्ययन पछि लेदो बग्नुको कारण र त्यस क्षेत्रका आगामी दिनमा हुने सक्ने थप क्षतिबारे विस्तृतमा थाहा हुने भएको हो । टोलीमा विभाग, र प्राकृतिक विपत् जोखिम न्यूनीकरण तथा व्यावस्थापन प्राधिकरणबाट विज्ञहरु खटिँदैछन् ।