फिचर

एनआरएनएको ६० मुलुकका राष्ट्रिय समन्वय परिषद्को निर्वाचन सकियो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संसारभरका ६० मुलुकमा राष्ट्रिय समन्वय परिषद्को निर्वाचन सम्पन्न गरेको छ । संघका अनुसार आगामी २०२१,२०२३ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै निर्वाचन भएको हो । विश्वभर विभिन्न ६ क्षेत्रका ८४ वटा मुलुकमध्ये २० वटा राष्ट्रिय समन्वय परिषद भने निस्क्रिय छन् । संघका महासचिव डा. हेम राज शर्माले बुधबार महाधिवेशन सम्बन्धी संक्षिप्त प्रतिवेदन सार्वजनिक गरेका छन् ।

उनका अनुसार निर्वाचन सकिएका ४२ वटा राष्ट्रिय समन्वय परिषदहरुमा सर्वसम्मत कार्यसमिति आएको छ । ११ वटा राष्ट्रिय समन्वय परिषदहरुमा अनलाइनमार्फत र सात वटा राष्ट्रिय समन्वय परिषदमा भौतिक रुपमा उपस्थित भई निर्वाचन भएको छ । चार वटा राष्ट्रिय समन्वय परिषदमा कार्यसमिति चयन हुन बाँकी रहेको उनको प्रतिवेदनमा उल्लेख छ । यूएई, डेनमार्क, पोर्चुगल र स्लोभानियामा छिट्टै नयाँ नेतृत्व आउने बताइएको छ ।

अफ्रिकी मुलुकमध्ये बोत्स्वाना, कंगो, इक्वेटोरियल गिनिया, घाना, केन्या, म्याडागास्कर, नाइजेरिया, सेसेल्स, दक्षिण अफ्रिका, तान्जानिया, युगाण्डा र जाम्बियामा सर्वसम्मत तथा निर्विरोध कार्यसमिति चयन भएको छ। अफ्रिकाको लेसोथो, लिविया, मालावी, दक्षिण सुडानमा निस्क्रिय छ ।

अमेरिकी मुलुकमध्ये मेक्सिको र कोस्टारिकामा सर्वसम्मत कार्यसमिति चुनिएको छ । चिली र अमेरिकामा अनलाइनमार्फत निर्वाचन भएको छ । क्यानाडामा भौतिक रुपमा उपस्थित भई निर्वाचन सम्पन्न भएको छ । राष्ट्रिय समन्वय परिषद् ब्राजिल निस्क्रिय एनसीसीको सूचीमा राखिएको छ ।

एसिया प्रशान्त क्षेत्रमा कम्बोडिया, हङकङ, मकाउ, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, ताईवान, थाइल्याण्ड र भियतनाममा सर्वसम्मत कार्यसमिति छानिएको छ । चीन, जापान र दक्षिण कोरियामा अनलाइनमार्फत चुनाव सम्पन्न भएको छ । ब्रुनाई, पूर्वी टिमोर, इण्डोनेसिया संघका निस्क्रिय एनसीसीको सूचीमा छ ।

यूरोपमा बुल्गेरिया, ग्रिस, हंगेरी, रोमानिया, यूक्रेनजस्ता एनसीसी निस्क्रिय छन्। बेलारुस, चेक(रिपब्लिक, फिनल्याण्ड, आयरल्याण्ड, इजरायल, इटाली, लग्जेम्वर्ग, रसिया, टर्की, स्वीडेन र स्विट्जरल्याण्डमा सर्वसम्मत कार्यसमिति छानिएको छ । साइप्रस, जर्मनी, स्पेन, नर्वे, फ्रान्स, र यूकेले अनलाइनमार्फत चुनाव भएको छ । अष्ट्रिया, बेल्जियम, माल्टा, नेदरल्याण्डस्, पोल्याण्ड र पोर्चुगलले भौतिक रुपमा नै उपस्थित भएर निर्वाचन भएको हो ।

मध्यपूर्व क्षेत्रमा कुवेत, ओमान र कतारमा सर्वसम्मत भएको छ । बहराइन र साउदी अरेबियाले अनलाइनमार्फत निर्वाचन सम्पन्न गरेका छन् । इजिप्ट, इराक, जोर्डन, लेबनान र यमन निस्क्रिय एनसीसी हुन्। ओसेनिया क्षेत्रमा अष्ट्रेलियाले अनलाइनमार्फत निर्वाचन सम्पन्न गरेको छ । पपुवा न्यूगिनी र न्युजिल्याण्डमा सर्वसम्मत तथा निर्विरोध कार्यसमिति चयन भएके छ । भानुआटु निस्क्रिय छ ।