समाचार

आज बस्ने एमाले माधव समुहको बैठकमा पार्टीको नाम जोडेको भन्दै ओली समूहको आपत्ति

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक बुधबारका लागि बोलाइएको थियो । तर, केही सदस्य उपत्यका भन्दा बाहिर रहेपछि बैठक आजका लागि सारिएको हो । यो बैटक बिहान ११ बजे क्वालिटी ब्यांक्वेट बुद्धनगरमा बस्नेछ । संसद् पुनर्स्थापना भएपछि पहिलोपटक बस्न लागेको बैठकमा केन्द्रीय सदस्यहरुको सुझाव सुन्ने र शीर्ष नेताहरुले राजनीतिक घटनाक्रमबारे बताउने भएका छन् । तर, यो बैठकप्रति अध्यक्ष केपी शर्मा ओली पक्षका नेता भने ससंकित छन् ।

उनीहरुलेले पार्टी विभाजन गर्न यो बैठकले महत्वपुर्ण निर्णय लिन सक्ने समेत बताएका छन् । बैठकप्रति अध्यक्ष केपी शर्मा ओलीले समेत ध्यानाकर्षण भएको जनाएका छन् । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गर्दै बैठक राखिएकोमा आपत्ति जनाएका हुन् । पार्टी विधान, संविधान र प्रचलित ऐन विपरीत गतिविधि गरिएकोमा ध्यानाकर्षण भएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।