फिचर

वायुसेवा कम्पनी भन्छन्, हवाई उडान सुरक्षित छ

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण देशका विभिन्न जिल्लामा पुनः प्रतिवन्ध शुरु भएको छ । यस अवस्थामा आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले कोभिड–१९ महामारीको जोखिम न्यूनीकरणका लागि सङ्क्रमणरहित उडानको प्रतिबद्धता जनाएका छन् । उनीहरुले उडान नियमित राख्न र नरोक्न समेत आह्वान गरेका छन् ।

नेपाल वायुसेवा सञ्चालक सङ्घले सङ्क्रमणरहित उडानका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कोभिड–१० सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) तथा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहकार्य तथा हातेमालोका लागि निरन्तर तयार रहेको बताएको छ । वायुसेवा कम्पनीले स्वास्थ्य मन्त्रालय र नियामक प्राधिकरणले सुझाएको निर्देशिकाअनुरुप पूर्ण सावधानीका साथ हवाई सेवा सञ्चालन गरिरहेको सङ्घको भनाइ छ । सङ्क्रमणलाई मध्यनजर गर्दै प्राधिकरण सहज सरल उडानका लागि प्रतिघण्टा आठ वटा उडानको मात्र तालिका सञ्चालन ल्याएको छ ।

त्यसअनुरुप बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म स्लटअनुसार काठमाडौँबाट उडान हुने अवस्था रहेकाले काठमाडौँँ तथा बाहिरी विमानस्थलमा यात्रुको चाप न्यून देखिएको र विमानस्थलका उच्च अधिकारीबाट हरेक दिन अनुगमन भइरहेको जनाइएको छ । विगत केही सातादेखि परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा बाटोघाटो क्षति पु¥याएको तथा कतिपय डाइभर्सन बगाउनुका साथै पुलमा क्षति पुगेको अहिलेको परिस्थितिमा वायुसेवा कम्पनी सहज भाडा दरमा यात्रु ओसारपसार गरिरहेको विज्ञप्तिमा उल्लेख छ । अहिले दैनिक एक हजार २०० भन्दा बढी यात्रु आवतजावत गरिरहेको विमानस्थलले जनाएको छ ।