डायस्पोरा

तीज मनाउँदै तरकारी बारीमा रमाउँदै सुवेदी परिवार

सुपेन्द्र बस्नेत, बोष्टन

चाहे नेपालमा हुन् या नेपाल बाहिर यतिबेला नेपाली नारीहरुलाई हरितालिका तीजका कारण भ्याइनभ्याइ छ । नेपाली महिलाहरुको महान चाडका रुपमा चिरपरिचित यो चाड नजिकिएका कारण नारीहरु आफ्नो अनुकूल मिलाउदै उत्साहका साथ चाड मनाउदै छन् । मुलत: हिन्दू धार्मिक तथा साँस्कृतिक क्रियाकलापहरुमा आधारित भएतापनि लामो समयदेखि यो चाडलाई बहूआयामिक रुपमा मनाउदै आइरहिएको छ । जस अन्तरगत हुने जमघट, मिष्ठान्न भोजन र नाँचगान जस्ता क्रियाकलापहरुले, यो चाडको अझ रौनक थप्न, महत्व बढाउन र हर्षोल्लासमय बनाउन महत्वपूर्ण योगदान पुर्याइरहेको छ । तीज मनाउने क्रममा केही दिन अघिदेखि नै नारीहरु रातो पहिरन र सौभाग्यका आभूषणहरुले सुसज्जित भएर जमघट हुने, दर खाने र नाँचगान गरी मनोरञ्जन गर्ने कार्यक्रमहरुमा सहभागी हुन व्यस्त छन् । जसमा पुरुषहरुको पनि प्रतक्ष्य अप्रतक्ष्य साथ सहयोग र सहभागिता रहेको छ । यसबाट अछुतो हुनुहुन्न – उषा खड्का सुबेदी र उहाँको परिवार । नेपालको हेटौंडा जन्मथलो भएकी सुबेदी अमेरिकाको न्यू हेम्पसायरमा बस्नु हुन्छ । १५ वर्षअघि सपरिवार अमेरिका छिर्नु भएकी यि नारी एक सशक्त कदरयोग्य परिचय बनाउन सफल व्यक्तित्व हुनुहुन्छ। नेपालमा रहदा प्रजातन्त्रको पुनर्स्थापनासंगै राजनीतिमा होमिनु भएकी सुबेदीले नेपाल महिलासंघ, मकवानपुरकी जिल्ला सभापतिको जिम्मेवारी सम्हाल्दा , राजनीतिक र महिला शसक्तिकरणको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो । सामाजिक क्रियाकलापहरुमा पनि त्यतिनै सक्रिय रहनु हुने उहाँ एक कृषि व्यवसायी पनि हो। झण्डै २० वर्ष अघि कुखुरा पालन व्यवसाय गरेर जिल्लाकै एक सफल व्यवसायीको परिचय बनाउदै मनग्य दाम र नाम कमाउन पनि सफल हुनु भएको थियो । जुन कर्म अरुका लागि पनि प्रेरणादायी बनेको थियो ।


विवाह पश्चात मकवानपुर छोड्न बाध्य हुनु भएकी सुबेदीलाई परिस्थितिले परदेशको यात्रा गरायो । र सपरिवार अमेरिका भित्रिनु भयो । अमेरिका छिरेपछि पारिवारिक जिम्मेवारीका कारण राजनीतिलाई निरन्तरता दिन सक्नु भएन । तर, सामाजिक क्रियाकलापहरुमा भने आफूलाई सकभर सक्रिय बनाउन चुक्नु भएको छैन । जसले गर्दा उहाँ न्यु हेम्पसायरमा बसोबास गर्ने नेपाली समुदायबीच चिरपरिचित हुनुहुन्छ । नेपाली भाषा, धर्म, भेष भुषा, संस्कृति , परम्परा, रितिरिवाज, पहिचानको संरक्षण तथा संबर्धनमा उहाँ र उहाँको परिवारको अमुल्य योगदान रहदै आएको छ । यसै सिलसिलामा नेपालीहरुको महान चाड हरितालिका तीजलाई समय तथा अवस्था अनुसार भरसक उल्लासमय र यादगार बनाउनमा सक्रिय रह्यो यो सुवेदी परिवार । गत वर्ष कोरोनाको कहरका कारण एकान्तवासबाटै तीजलाई बिदाइ गर्नु परेको थियो । यस पटक भने गत वर्षको भन्दा अवस्था केही सहज भएकाले अमेरिकाको मजदुर दिवसको बिदाको मौका छोपी आफ्नै निवासमा नजिकका साथीसंगीहरु जमघट गरेर ‘दर’ खाने कार्यक्रम गरिएको सुबेदीले बताउनु भयो। हरितालिका तीजका सम्बन्धमा थप जिज्ञासा राख्दा अलग धारमा कुरा गर्दै यस पटकको ‘तीज’ नारी र करेसाबारी बिचको समिश्रण स्मरण योग्य रहेको बिचार व्यक्त गर्नु भयो । यस पटकको ‘दर’ लाई आफ्नै करेसाबारीको तरकारीले स्वस्थ्य , स्वादिष्ट र भरसक अर्ग्यानिक बनाउने कोसिस गरिएको उहाँले जिकिर गर्नु भयो । हरेक वर्ष झै यस वर्ष पनि उहाँ र उहाँको परिवारको कडाँ मेहनतले करेसाबारीमा लोभै लाग्दा विभिन्न प्रकारका तरकारीहरुले भरिभराउ भएका छन् । सुबेदी भन्नु हुन्छ ‘ यसपालीको तीजको ‘दर’ आफ्नै करेसाबारीको तरकारीले स्वस्थ्य , स्वादिष्ट र भरसक अर्ग्यानिक बनाउने कोसिस गरियो । पाहुनाहरुले प्रसंशा गरिदिएका कारण खुसीले सारै गदगद छु । दर खाने निम्तो मान्न आएका पाहुनाहरु स्वादिष्ट दर खादै जिब्रो पड्काउदै धित मर्ने गरी नाँचगान समेत गरेर रमेका थिए ।
केही दिन यता कोरोना संक्रमण बढेकाका कारण ठूलो संख्यामा जमघट हुन पावन्दी लागेका कारण घरघरमा ससानै जमघट गरेर भएपनि नारीहरु वर्ष दिनको चाड मनाउन भने चुकेका छैनन् ।


करेसाबारीमा तरकारी गत वर्षको भन्दा पनि सप्रिएको र पर्याप्त भएको सुबेदीले बताउनु भयो । सुबेदी परिवारले हरेक वर्ष गर्मी मौसम प्रारम्भ भएसंगै करेसाबारीमा तरकारी खेति गर्ने, त्यही तरकारीले आफ्नो भान्सा रमाइलो र स्वादिष्ट बनाउने, छरछिमेकीहरुलाई पनि बाँड्ने र बाँकी रहेको तरकारीहरुलाई जाडो महिनाका लागि संचित गरेर राख्ने गर्दै आएको छ । यस पटक भने तीजको अवसर पारेर ‘दर’ खाने कार्यक्रम मार्फत आफ्नै करेसाबारीको तरकारी आफैले पकाएर दर खाने निम्तो मान्न आएका पाहुनाहरुलाई खुवाउन पाँउदा खुसीको छुट्टै अनुभूति भएको सुबेदीको भनाइ छ । मेरो अहोभाग्य रहेछ । यस पटकको तीजमा आफ्नै घरमा आफ्नै करेसाबारीको तरकारी सदुपयोग गरेर पाहुनाहरुलाई ‘दर’ खुवाउन पाँए। उहाँ भन्नु हुन्छ दर त हरेक वर्ष खाएकै हो । खुवाएकै हो । तर , यस वर्ष भने नेपाली पहिचान बोकेका परिकारहरुका साथमा आफ्नै करेसाबारीको तरकारी सदुपयोग गरेर ‘दर’ खान र खुवाउन पाएकोमा छुट्टै खुशीको अनुभूति भइरहेको छ।”
झट्ट सुन्दा सामान्य बिषय जस्तो लागे तापनि डलर फल्ने ठाँऊ भनि चिनिने अमेरिकाको सन्दर्भमा भने, करेसाबारीमा तरकारी खेति र ‘दर’ खाने कार्यक्रमा त्यसले पुर्याएको महत्वपूर्ण योगदान निकै महत्वपूर्ण , कदरयोग्य, प्रेरणादायी र अर्थपूर्ण रहेको छ । फलेका बोडी, लौका, काउली, खुर्सानी , घिरौला, फर्सी, आलु, चिप्लीभेडा, भन्टा , गोलभेडा , लसुन , प्याज , हरिया सागपात लगायत अर्ग्यानिक तकारीहरु लटरम्मै फलेको करेसाबारीबाट उत्प्रेरित हुदै पाहुनाहरुले करेसाबारीको सुन्दरता र दरको स्वादको खुलेर प्रशंसा गरिदिदा आफूमा थप उत्साह र उत्प्रेरणा जागेको सुबेदी बताउनु हुन्छ । दर खाने कार्यक्रममा सहभागी हुनु हुने गीता भट्टराईले सुबेदी परिवारको प्रशंसा गर्दै कार्यक्रम निकै रमाइलो भएको प्रतिकृया दिनु भयो । दरलाई करेसाबारीका ताजा तरकारीहरुको साथले स्वादिष्ट बनाएको उहाँको भनाइ थियो । करेसाबारी साह्रै लोभलाग्दो रहेको भनी प्रशंसा गर्दै उहाँले भन्नु भयो ,हामीले त करेसाबारीको अवलोकन पनि गर्यौ , तस्बिर पनि खिच्यौं, खायौ र नाँचगान गरेर रमाइलो पनि गर्यौं ।
अमेरिकामा महिनौ अघिदेखि टिपेर चिसोमा भण्डारण गरिएका तरकारी खाएर छाक टार्न विवस जिन्दगीमा , आफ्नै करेसाबारीबाट ताजा र स्वस्थ्य तरकारी टिपेर भान्सा मिठो र रमाईलो बनाउन पाँउनु अमेरिकाबासी नेपालीका लागि अत्यन्त खुसी र आनन्दको कुरा हो । आर्थिक हिसाबले पनि करेसाबारीले तरकारीमा हुने ठूलो खर्चमा निकै कटौति गरिरहेको सुबेदी परिवारको जिकिर छ ।
करेसाबारी लोभलाग्दो तरकारीहरुले भरिभराउ हुनुमा उहाँका श्रीमान घनश्याम सुबेदीको पनि महत्वपूर्ण योगदान छ । फुर्सद मिल्ने बितिकै करेसाबारीतिर टहलिन मनपराउने घनश्याम, त्यसको रेखदेखमा पनि त्यतिनै खटिने गर्नु हुन्छ । जाँगरिलो छोरा बबी सुबेदी र छोरी सूचना सबेदीको सहयोगी भूमिकाले पनि करेसाबारी मौलाउनमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ भनेर खुसी व्यक्त गर्न चुक्नु भएन सुबेदी । उहाँका अनुसार समग्रमा सपरिवारको योगदानको परिणाम हो, लटरम्मै तरकारी फलेको लोभलाग्दो करेसाबारी । अमेरिकामा आफ्नै घर भएका अधिकांश नेपालीहरुले सुबेदी परिवारले जस्तै धेरथोर करेसाबारीमा तरकारी लगाउने गरेका छन् । जसले आत्मसन्तुष्टि लिन , टहलिएर थकान मेटाउन , स्वस्थ र ताजा अर्ग्यानिक तरकारी खान , तकारी खरिदमा हुने खर्च कटौति गर्न र बालबालिकाहरुलाई कृषि सम्बन्धि सैद्धान्तिक ज्ञान र ब्यवहारिक सीप प्रदान गर्नमा यस्ता करेसाबारीले महत्वपूर्ण योगदान पुर्याइरहेको छ। अर्को कुरा करेसाबारीले नेपालीपन, पहिचान र बिशेषताहरुको प्रदर्शन, संरक्षण र संबर्धनमा महत्वपूर्ण योगदान पुर्याइरहेको तथ्यमा दुइमत छैन।