स्वास्थ्य

साइकल स्वस्थ जीवनको पर्याय

कुमार न्यौपाने, न्युयोर्क

सन् २०१८ मा संयुक्त राष्ट्रसंघ महासभाले जुन ३ लाई साईकलको दिन अर्थात ‘साइकल डे ‘ भनेर घोषणा गरेसंगै साईकलसंगको मानव सम्बन्ध र आगामी दिनमा यसको प्रयोग अत्याधिक रुपमा बढ्दैछ भन्ने पुष्टि भएको छ । यो मानवको स्वास्थ्य, स्वच्छ वातावरण र सुगम र सहज यात्राको बिषय पनि बनेको छ । यस अर्थमा साईकलको बिश्वव्यापी मान्यताले साईकलको इतिहासको कदर भयो र यसका यात्रीहरुकालागि खुसीको खवर बन्यो । यस खबरले जीवन गुजाराका लागि साईकलमा भर पर्ने एउटा मजदुर कति खुसी भयो होला थाहा भएन तर करोडौं साईकल यात्रीहरुको प्रतिनिधि पात्रको रुपमा साईकललाई नै आफ्नो व्यवसाय बनाई टुर डे फ्रान्स जस्तो प्रतियोगीताको लगातार सातौं पटकको किर्तिमानी बिजेता लान्स आम्स्ट्रङ्ग या विश्वशान्ति नारा बनाइ साईकलबाट नै संसार घुमेका किर्तिमानी नेपाली साईकल यात्री पुष्कर शाह पनि खुसी भए होलान ।


जर्मन आविष्कारक वारोन भन ड्राइसले सन १८१७ मा प्याडल विनाको साईकल बनाएपछि फ्रेन्चहरुले साईकलको डिजाइनहरुमा परिमार्जन गर्दै लगे । क्रमिक रुपमा साईकलको आकार प्रकार र विकसीत सुबिधाहरुमा भएका परिवर्तनहरु आजपर्यन्त पनि कायमै छन । युग अनुसारको सुहाउँदो साईकलहरु बजारभरी पाइन्छ । बिश्वको उपभोग्य बस्तुहरुको उत्पादन, माग र त्यसको आपूर्तिलाई हेर्ने हो भने आज चीन बिना कल्पना गर्न नसकिने भएको छ । अन्य उपभोग्य सामानहरु जस्तै साईकलमा पनि चीनियाँ उत्पादनले बिश्वको ९.७ अरव डलरको साईकलको व्यापार मध्ये झण्डै ४०% (३.७ अरव) माग पूर्ति गर्ने रहेछ । कुनै बेला विश्वको साईकलको देश भनेर चिनिने चीन आर्थिक सम्बृद्धिसंगै साईकललाई मोटरकारले प्रतिस्थापन गर्दैछ । ठुलो जनसंख्या भएका देशहरुमा साईकलको प्रयोग घट्दै जाँदा वातावरण प्रदुषण बिन्दु चाँहि बढ्दै गएको प्रमाणहरु भेटिदैछन । पर्याबरणको संरक्षण हेतु नेदरल्याण्ड, डेनमार्क, अन्य स्केण्डीनेभियन देशहरु, जापान, कोरीया, कम्बोडिया, फ्रान्स र अन्य युरोपीय देशहरु साथै अमेरीकाले साईकल र साईकल यात्री सम्बन्धि नीति बनाई लागू गरेका छन । विश्वभरी साईकलको प्रयोगमा बिबिधता देखिएको छ । हिजोको दिनमा बाध्यताको रुपमा वा जिविकोपार्जनको लागि प्रयोग हुँदै आएको साईकल आज स्वस्थ जीवन, ओलम्पिक खेल, व्यवसायिक गतिविधि, रोमाञ्चक खेल (माउन्टेन बाईकिङ्ग) र यात्राको पर्याय बनेको छ
केही समयदेखिको बसोवासको अनुभवले यो न्युयोर्क सहरको साईकल जीवन हेर्दा मिश्रित प्रकारको देख्छु । यँहा साईकलमा रोमाञ्कता छ र अर्कोतिर नैराश्यता । नैराश्यतालाई बिषय बनाई न्युयोर्केली साईकल यात्रीहरुको टाउको दुखाई भनेर लेख नै छापेको न्युयोर्क टाइम्स भन्छ, साईकलको सुरक्षा भएन अनि पर्याप्त साईकल स्ट्याण्डहरु खै ? यस सहर र वरपर झण्डै २० लाख साईकल छन । दैनिक साईकलबाट ओहोरदोहोर गर्नेको संख्या मात्रै झण्डै ६ लाख छन तर साईकल स्ट्याण्डहरु जम्मा ५६ हजारको लागि मात्र ! भएका साईकल स्ट्याण्डहरुपनि थोत्रा र पुराना साईकलहरुको थुप्रोले भरिएका । ति जंक (फोहोर) मानिने थोत्रा साईकलहरुको उचित व्यवस्थापन नभएसम्म साईकल स्ट्याण्ड थपेपनि समस्या जहाँको त्यही हुने देखिन्छ । छाना तथा सुरक्षा नभएका कारण छोटो वा लामो समयको लागि साईकल अड्याउन पनि मुश्किल छ । केही घण्टाका लागि साईकल बिसाउँदा नै सिङ्गै साईकल वा साईकलका महत्वपुर्ण भागहरुको चोरीको विगविगीले साईकल यात्रीको टाउको दुखाएको छ । सहरका कयौं साईकल बिसौनीहरुमा ताल्चा मारिएको भाग मात्रै भेटिनुले साईकलको असुरक्षाको मापन गर्न सकिन्छ र आफु बस्ने घर, अपार्टमेण्टमा साईकल राख्ने ठाँउको अभावले ईच्छा हुँदाहुँदै पनि साईकल किन्न नसकेकाको पिडा पनि उत्तिकै छ ।


साईकलको उज्यालो पाटो पनि छ । विश्वव्यापी रुपमै साईकलको प्रयोगमा हिजो भन्दा बढोत्तरी हुदैछ । साईकलको स्वर्ण समय भनेर मानिने यो कोरोना कालले साईकलको महत्वलाई नयाँ उचाइमा पुर्याएको छ । १,३५० माइल साईकल बाटाहरु भएको न्युयोर्क सहरमा साइकलको लागी बाटाहरु थपिदै छन र साईकल बिसौनीहरु पनि व्यवस्थित र सुविधासम्पन्न बन्नुपर्छ भन्नेमा सबै जागरुक देखिन्छन । साईकलको अर्को अनौठो लाग्ने पक्ष छ त्यो हो यँहा पाईने साईकलमा प्रकारहरु । सानो ठुलो, सस्तो महँगो, होचो अग्लो, मोटो पालतो, गह्रुङ्गो, हलुङ्गो, व्यवसायिक, खेलकुदको लागी, शारीरिक फरकपन भएकाहरुको लागी, सामान बोक्नको लागी, बच्चाहरु डुलाउनको लागी, बिद्युतीय, या सोलारबाट चल्ने या दोब्र्याएर लैजान मिल्ने (फोल्डिङ्ग) साईकलहरुले साईकल यात्रीहरुलाई रौनकता थप्दो छ । सहरले व्यवस्था गरेको सिटीवाइक नाउँका साईकलहरु पनि प्रसस्त नै छन । आफैले सिटिवाइक एप डाउनलोड गरी साईकल बिसौनिबाट साईकल लिई मन लागेको ठाँउ जाने र नजिकैको बिसौनीमा छोड्न मिल्ने साईकलको सहर बनाउने योजना अनुसार हाल भएको १८ हजार सीटीबाइकको संख्यामा थप गरी ४० हजार बनाउने भन्ने योजनाले साईकल र साईकल यात्रीहरुको हितमा काम हुदैछ भन्ने देखिन्छ ।
लण्डनको भन्दा एकतिहाई कम साईकल स्ट्याण्ड भएको न्युयोर्क सहरले व्यवस्थित गर्न नसकेको अर्को पाटो सववेमा साईकल अड्याउनको लागी स्ट्याण्डहरुको अभाव । न्युयोर्कमा सववे भने झैं लण्डनका अण्डरग्राउण्ड ट्रेन सिस्टममा टाढाका जागीरे यात्रुहरुकोलागी निकै राम्रो व्यवस्था भएको पाइन्छ । यस्तो पुर्वाधारमा बेइजिङ्ग, टोकियो र सोल अव्वल मानिन्छन । युरोपका कयौं सहरहरुले साईकललाई साच्चिकै माया गरेका छन, नेदरल्याण्ड र डेनमार्कका प्रधानमन्त्रीहरु नै नियमीतरुपमा साईकल चढी कार्यालय जाने भएकोले आज ती देशहरु मोटरजन्य प्रदुषणलाई उल्लेख्यरुपमा कम गर्न सक्षम भएका छन । विश्व पर्यावरण, नागरीक स्वास्थ्य, साईकल यात्रीहरु र बटुवाहरुको हितकोलागी कोपनहेगनाइजेसन मोडलको साईकल सम्बन्धी पुर्वाधारको बिकास आजको आवश्यकता हो भनि विज्ञहरु बताउँदैछन ।
आफ्ना कुराहरु ठुला र लामा परियोजनाहरु नभएपनि काठमाडौंका केही सडकहरु, पाटनको मुख्य सडक तथा भक्तपुरको बाटोहरुमा साईकल मैत्री बाटोहरु बन्दै जानु सकारात्मक कुरा हो । पुष्कर शाह लगायत कयौं साईकल यात्री तथा सम्बन्धित संघसंस्थाहरुको बारम्वारको माग, परामर्श र आव्हनमा नेपालमा पनि साईकल मैत्री सडक बनाउन पर्ने र साईकलको सुविधाकोलागी राज्यले लगानि गर्नुपर्ने बिषय सुन्न पाईदैछ ।
साईकल चलाउन सबैलाई मनपर्छ होला । एकताका भनेको सुनिन्थ्यो कि चितवन तिर साईकल चलाउन नजान्ने छोरीमान्छेको बिहे नै हुन्न । हाम्रो तिर चितवनको जस्तो नभएतापनि दिदीहरुले सिक्नको लागि भाडामा साईकल ल्याउनुहुन्थ्यो, त्यसैको मौका छोपी साईकलसंग नजिकिन पाउँथें । १८९० ताका न्युर्योकको हार्लेमतिर महिला उत्थानको नारा संगै साईकल चलाउन सहरले नै सिकाउदै गर्दा १९९० तिर मेरो दिदीहरु चाँहि स्वतस्फुर्तरुपमा साईकल चलाउन जान्नुपर्छ भन्दै सिक्दैथिए । स्वतन्त्रता र उत्थानको आन्दोलनमा होमिएको साईकलसंगको मेरो त्यस्तो अविष्मरणीय सम्बन्ध त छैन तर केही सम्झनाहरु भने पक्कै छन ।
सानोमा दिदीहरुले सिक्नको लागी भाडामा ल्याउने फुच्चे साईकलहरु मौका पाउँदा घुमाएको भरमा सिकेको मलाई साहिँलो दाजुले रक्सौलबाट सिटिजन घडिसंगै ल्याइदिनुभएको मझ्यौलो साईकलले निकै खुसी दिएको थियो । एसएलसी परीक्षा र ट्युसनको चक्करले नयाँ साईकल जुराइदियो । हेटौंडा वरपर साईकल कुदाएको सम्झना ताजै छ, पछि काठमाण्डौंमा साईकलसंग खासै नाता रहेन । त्यसपछिको बाह्र पन्ध्र बर्षको समय मोटरसाईकल र मोटरगाडी भनेरै बित्यो । अघिल्लो महिना आल्बनि घुम्ने क्रममा छोरीको करले भाडामा लिएको साईकलको छोटो यात्रा नै उ बेलाको साईकलको यात्रा सम्झाउने माध्यम बन्यो । हरिया घाँसबीचका गोरेटो बाटोहरुमा साईकल कुदाएको गहिरो आनन्दपुर्ण सम्झनाले मन पुलकित भयो । हाल बसोवास रहेको इष्ट भिलेजको पिटर कुपर अपार्टमेण्टमा साईकलको लागी स्टोरेज छ छैन बुझ्दैछु, तिव्र गतिको यो व्यस्त सहरमा आफु र परिवार सुहाउँदो साईकल किन्ने सोच्दैछु ।
भनिन्छ नि हजारौं माइलको यात्रा पनि पहिलो पाईलाबाटै सुरु हुन्छ त्यही नै सही, यो एउटा सानो पहलले विश्व जलवायु परिवर्तनको उग्रतालाई मत्थर पार्न झिनो काम गरोस र आफ्नै वरपरको पर्यावरण र स्वास्थ्य जोगाउन साईकल किन्ने मेरो सोचाईसंग धेरैको सोचाई मिलोस ।