मनोरञ्जन

महिलाहरुको महान पर्व तीज आज, महादेवको व्रत र पूजा गरिँदै

काठमाडौं । नेपाली हिुन्दु महिलाहरुको महान पर्व हरितालिका तीज आज देश तथा विदेशमा रहेका नेपालीले मनाउँदैछन् । नेपाली महिलाले भगवान महादेवको पूजा आराधना तथा निराहार व्रत बसी यो पर्व मनाउने प्रचलन रहेको छ । यस दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गर्दा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ । अघिल्लो दिन राति दर खाएर महिलाहरुले आज निराहार व्रत राख्छन् । तीजको दिन शिव पार्वतीको पूजा आरधनासँगै नाचगान समेत हुने गर्छ ।

आज साविकमा जस्तै पशुपतिनाथ मन्दीर परिसरमा दर्शन गर्न पाइने छैन । तर, सामुहिक रुपमा भेला भई नाचगान र रमाइलो गर्न भने छूट छ । सत्ययुगमा आजको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको विश्वास छ । अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको बताइन्छ ।

दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । तीजमा महिलालाई सार्वजनिक बिदा हुन्छ ।