डायस्पोरा

नेकोन नेपाली विद्यालयको दीक्षान्त समारोह सम्पन्न

कनेक्टिकट, अमेरिका

कनेक्टिकट नेपाली समाज (नेकोन) द्वारा संचालित गृष्मकालीन नेपाली विद्यालयको दीक्षान्त समारोह गत अगस्ट २८ तारिख शनिवार वेस्ट हार्टफोर्डमा सम्पन्न भयो। वेस्ट हार्टफोर्ड पब्लिक स्कूलका सहायक सुपरिटेण्डेन्ट पाउल भिकिसनको प्रमुख आतिथ्यमा एक भव्य कार्यक्रमका साथ् ३५ जना छात्र-छात्रा दीक्षित भए ।

अमेरिकामा रहेर पनि नेपाली भाषा, कला साहित्य र संस्कृतिको विस्तार र प्रवर्धन गर्ने उदेश्यले विगतको वर्षहरुमा झैँ यस वर्ष पनि नेकोनले गत जुलाई १० तारिख देखि गृष्मकालीन नेपाली भाषा विद्यालय संचालन गरेको थियो । नेपाली र अमेरिकी राष्ट्रिय गीतबाट शुरुवात गरिएको दिक्षान्त समारोहका प्रमुख आकर्षणका रुपमा विद्यालयमा अध्ययनरत छात्र-छात्राहरुको सांगीतिक प्रस्तुति रहेको थियो । जसको संयोजन संगीत प्रशिक्षक केशब शर्मा दाहालले गर्नु भएको थियो । समारोहमा उपस्थित महानुभावहरुलाई स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रघुनाथ गिरीले दिनु भएको थियो भने विद्यालय र कार्यक्रमका बारेमा विद्यालयका संयोजक दिपेश भट्टले प्रकाश पार्नु भएको थियो ।

उक्त विद्यालयमा सफल छात्र-छात्रालाई प्रमुख अतिथि सहायक सुपरिडेण्टेण्ड पाउल विकिसन जुनियर तथा संस्थाका अध्यक्ष नारायण पौडेलले संयुक्त रुपमा दीक्षित गर्नु भयो । नेपाली राष्ट्रिय टोपीमा सजिएका पाउलले हामी जहाँ भए पनि आफ्नो भाषा, ईतिहाँस, कला संस्कृतिको संरक्षण गर्नु पर्ने बताउँदै नेपाली विद्यालय संचालनको लागि नेकोनलाई विशेष धन्यवाद दिनु भयो । साथै वहाँले नेपाली समुदायको शैक्षिक विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो।

समारोहका सभापति एवं संसाथाका अध्यक्ष नारायण पौडेलले विद्यालय संचालनमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै आगामी वर्षहरुमा पनि नेपाली विद्यालय संचालन गर्ने जानकारी दिनु भयो । कार्यक्रमका समिक्षा समालोचक एवं समिक्षक वक्ता प्रो. डा. केशव आचार्यले गर्नु भयो भने प्रमुख सल्लाहकार कृष्ण अधिकारीले दीक्षित भाई बहिनीहरुको उज्वल भविष्यको कामना गर्नु भयो । कार्यक्रमको संचालन संस्थाका सचिव राजन तिम्सिनाले गर्नु भएको थियो भने शिक्षक प्रतिनिधिको रुपमा सानुमाया महर्जन, अभिभावक प्रतिनिधिको रुपमा डा. देवेन्द्र के.सी तथा विद्यार्थी प्रतिनिधिको रुपमा स्वस्तिक पन्तले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । दुई महिनाको लागि संचालित गृष्मकालीन नेपाली भाषा विद्यालयमा ३६ जना विद्यार्थी भाइबहिनीहरुको सहभागिता थियो ।