विज्ञान प्रविधि

संसारले भुल्न नसक्ने मिति ९\११, के भएको थियो यो दिन ?

GETTY IMAGES\BBC

वासिंटन डिसी । कोरोना भाइरसको महामारी भन्दा अगाडी संसारभर पर्यटकीय आवागमन ठप्प बनाएको एक घटना थियो सेप्टेम्बर ११ । यो घटनाले अमेरिकालाई त धेरै सालसम्म झस्काइरहने छ नै, संसारले नै भुल्न भने सक्ने छैन । सन् २००१ को सेप्टेम्बर ११ मङ्गलवारका दिन आत्मघाती आक्रमणकारीले अमेरिकी यात्रुवाहक विमानहरूलाई आफ्नो नियन्त्रणमा लिएर न्यूयोर्कका दुई गगनचुम्बी भवनमा जोताएका थिए । सो क्रममा हजारौं मानिसले ज्यान गुमाएका थिए ।

उक्त आक्रमण अमेरिकीहरूका लागि मात्रै नभई समस्त विश्वकै लागि यो शताब्दीकै सबैभन्दा पीडादायक घटना थियो । बीबीसीका अनुसार संयुक्त राज्य मेरिकाको पूर्वी भेगमा उडिरहेका चारवटा विमान एकपछि अर्को गर्दै अपहरणमा परेका थिए। त्यसपछि तीनलाई नियन्त्रित मिसाइलक रूपमा न्यूयोर्क र वाशिङ्टनका महत्त्वपूर्ण भवनमा ठोक्काइएको हो ।

दुईवटा विमानले न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा आक्रमण गरेका थिए। पहिलो विमानले नोर्थ टावरमा स्थानीय समयानुसार बिहान ८ :४६ मिनेटमा आक्रमण गरेको थियो। दोस्रो विमान साउथ टावरमा स्थानीय समयानुसार ९ः०३ मिनेटमा ठोक्काइएको थियो। ती भवनहरूमा आगो लागेको थियो र माथिल्ला तलामा मानिसहरू फसेका थिए ।

धूँवाको बाक्लो मुस्लोमा सहर ढाकिएको थियो। दुई घण्टाभन्दा कम समयमा ११० तले दुवै भवन ढलेर धूलोको विशाल मुस्लो र भग्नावशेषमा परिणत भएका थिए। ९ बजेर ३७ मिनेटमा तेस्रो विमानले राजधानी वाशिङ्टन डीसीभन्दा केही बाहिर रहेको अमेरिकी सेनाको मुख्यालय पेन्टगनको पश्चिमी मोहडालाई क्षति पुर्‍याएको थियो। यात्रुहरूले प्रतिरोध गरेपछि चौथो विमान पेन्सिल्भेनीआको एउटा मैदानमा दुर्घटनाग्रस्त भएको थियो।

अपहरणकारीहरूले उक्त विमानको प्रयोग गरी अमेरिकी संसद् भवनमा आक्रमण गर्ने लक्ष्य राखेका थिए । यी घटनाहरूमा १९ अपहरणकारीबाहेक २,९७७ जनाले ज्यान गुमाएको तथ्यांक छ । तीमध्ये अधिकांश न्यूयोर्कमा मारिएको समेत बीबीसीले लेखेको छ । चारवटा विमानमा सवार चालकदलका सदस्य र यात्रु गरी सबै २४६ जनाको मृत्यु भयो ।

ट्विन टावरमा तत्कालै र पछि चोटका कारण २६,०६ जनाको मृत्यु भयो । पेन्टगनमा १२५ जनाको मृत्यु भयो । पहिलो विमानले ठक्कर दिँदा अनुमानित १७,४०० जना उक्त टावरभित्र रहेको ठानिएको छ। नोर्थ टावरमा प्रभावित क्षेत्रभन्दा माथि रहेका कोही पनि बाँचेनन् भने साउथ टावरमा प्रभावित क्षेत्रभन्दा माथि रहेका १८ जना भागेर ज्यान जोगाउन सफल भएका थिए।

GETTY IMAGES\BBC

ज्यान गुमाउनेमा विभिन्न ७७ वटा देशका नागरिक थिए। न्यूयोर्कले ४४४ जना आपत्कालीन उद्धारकर्ता गुमाएको छ । एउटा इस्लामवादी उग्रवादी सञ्जाल अल(कायदाले अफगानिस्तानबाट ती घातक आक्रमणहरूको योजना बुनेको थियो। ओसामा बिन लादेनको नेतृत्वमा रहेको अल(कायदाले मुस्लिम देशहरूमा भएका द्वन्द्वमा अमेरिका र उसका साझेदारलाई दोषी ठहर्‍याउने गर्थ्यो। अपहरणमा संलग्न १९ जना पाँच जनाको तीन वटा र चार जनाको एउटा समूहमा विभाजित थिए।

प्रत्येक समूहमा विमानचालकको तालिम लिएको एक व्यक्ति थिए। त्यस्तो तालिम अमेरिकाकै उड्डयन प्रशिक्षण केन्द्रहरूमा लिइएको थियो। बिन लादेनजस्तै १५ जना अपहरणकारी साउदी अरबका थिए। दुई जना संयुक्त अरब एमिरेट्स, एक जना इजिप्ट र एक जना लेबनानका थिए। आक्रमणको एक महिना नबित्दै तत्कालिन राष्ट्रपति जर्ज डब्ल्यू बुशले अन्तर्राष्ट्रिय गठबन्धनको साथ लिएर अल(कायदालाई उन्मूलन गर्न र बिन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गरे। सन् २०११ मा मात्र पाकिस्तानमा अमेरिकी सेनाले उनलाई मार्न सफल भयो ।