फिचर

महिला फुटबल : आज नेपाल र बंगलादेश दोस्रो खेलमा भिड्दै

Photo : goalnepal.com

काठमाडौं । नेपाल एएफसी एसियन कप २०२२ छनोटको तयारीमा छ । यसै सिलसिलामा नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलिरहेको छ । जसमध्ये पहिलो खेलमा नेपाल विजयी भइसकेको छ । दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ । यसअघि बिहीबार नेपालले बंगलादेशमाथि २–१ को जित निकालेको थियो । सिनियर टिममा पहिलोपल्ट अवसर पाएका सविता राना र प्रीति राईले पहिलो हाफमा गोल गरेपछि नेपालले बंगलादेशविरुद्ध जित निकालेको हो ।

प्रशिक्षक ग्यारी फिलिप्सले पहिलो खेल राम्रै भए पनि उच्चस्तरको नभएको प्रतिक्रिया दिएका थिए । सोहीकारण आइतबार नेपालले अझ उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । नेपाल सन् २०१४ यता नेपाली टिम अग्रपंक्तिकी भरपर्दा खेलाडी सावित्रा भण्डारीबिना नै मैदानमा छ । उनी घुँडाको शल्यक्रियापछि दोहामा उपचार गराइरहेकी छिन् ।

नेपाल एसियन कप छनोटमा फिलिपिन्स र हङकङ समावेश समूह ‘एफ’ मा खेल्दैछ । उज्वेकिस्तानमा हुने छनोटमा नेपालले फिलिपिन्सविरुद्ध असोज २ र हङकङविरुद्ध असोज ५ मा खेल्ने कार्यक्रम छ । समूह विजेताले भारतमा आयोजना हुने एसियन कप खेल्नेछ । आज नेपाल र बंगलादेहश साँझ ५ बजे भिड्दैछन् ।