समाचार

अस्पतालको शौचालयमा नक्कली बम राखेर तीन करोड फिरौती माग्ने तीन जना पक्राउ

काठमाडौं । गत साता पुराना बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने तीन जना पक्राउ परेका छन् । अस्पतालका डाक्टर र प्रशासनलाई मध्याएर तीन करोड फिरौती मागेको र त्यसका लागि नक्कली बमको प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । नक्कली बम बनाउन भने युट्युवबाट सिकेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ घर भई काठमाण्डौं फुटुङ बस्ने २५ वर्षीय आशिष कुँवर, उनका भाइ २० वर्षीय अभिषेक र रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर १ खोलावाङका ४० वर्षीय अम्मरबहादुर रोक्का मगर प्रहरीको फन्दामा परेका हुन् । गत बिहीबार आशिषले त्यहाँका एक डाक्टरलाई फोन गरेरअस्पताल र घरमा बम राखेर पड्काइदिने धम्की दिएका थिए । उनले परिवार र घर सुरक्षित राख्ने भए तीन करोड लिएर नागढुंगा आउन र प्रंहरीमा खबर नगर्न भनेका थिए ।

त्यसपछि उनीहरुले अस्पतालको तेस्रो तलाको रहेको शौचालयमा बम राखेका थिए । त्यो बम नक्कली भएको सेनाले बताएको थियो । प्रहरीले अस्पतालको सिसिटिभी फुटेजमा दुई जना व्यक्ति देखिएको बताएको थियो। फुटेज र मोबाइल ट्र्याकिङका माध्यमबाट तीन युवालाई फेला पारेको हो । उनीहरु शनिबार काठमाडौंबाट पक्राउ परेका थिए ।

प्रहरीका अनुसार आशिष कुँवरले सोही अस्पतालमा आँखाको शल्यक्रिया गराउँदा १७ लाख रुपैयाँ खर्च भएको बताएका छन् । यसका लागि आफुले ऋण लिएको उनको भनाई थियो । पैसाको लोभमा डाक्टरलाई धम्क्याएर पैसा असुल्न खोजेको देखिएको प्रहरीको भनाई छ ।