समाचार

काबुलबाट अन्तर्राष्ट्रिय उडान सूचारु, ३४ नेपाली कहिले घर फर्कन पाउँछन् ?

Reuters

काबुल । अफगानिस्तानको राजधानी काबुलबाट अन्तर्राष्ट्रिय उडान सूचारु भएको छ । यससँगै त्यहाँ रोकिएका ३४ जना नेपालीको घर फिर्ताी समेत सहज हुने अपेक्षा गरिएको छ । बीबीसीका अनुसार नयाँ दिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तानमा अलपत्र परेका ३४ नेपाली नागरिकलाई यही साताभित्र चार्टर्ड उडानमार्फत् स्वदेश फर्काउन पहल भइरहेको जानकारी गराएको छ । अमेरिकी सेना फर्किएपछि बन्द रहेको काबुल विमानस्थल पुनः सञ्चालनमा आएपछि विभिन्न मुलुकले अफगानिस्तानमा अलपत्र नागरिकहरूको उद्धारमा पहल थालेका छन् ।

यसअघिको उद्धारमा छुटेका ३४ जना नेपाली नागरिक काबुलमा सुरक्षित अवस्थामा रहेको बताइएको छ । उनीहरुको उद्धारको पहल भइरहेको समेत दूतावासले जनाएको छ । एक निजी सुरक्षाकर्मी आपूर्तिमा संलग्न कम्पनीको चार्टर्ड उडानमा नेपाली नागरिक फर्काउन पहल भइरहेको छ । आईडीजीले अफगानिस्तानसहित म्यानमार, सोमालियासहितका मुलुकमा निजी सुरक्षाकर्मी उपलब्ध गराउँछ ।

अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घ अन्तर्गतका विभिन्न निकायमा कार्यरत ४६७ नेपालीमध्ये ४२४ जना भने सोही मुलुकमा छन् । अगस्त ३१ मा अमेरिकी सेना फिर्ता भएपछि बन्द रहेको काबुल विमानस्थलमा गत साताबाट सीमित अन्तराष्ट्रिय उडानहरू सुरु भएका छन्। अफगानिस्तानमा रहेका करिब १५०० नेपालीमध्ये अघिल्लो बिहीबारसम्म ९०६ जना नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयको तथ्यांक छ ।