मनोरञ्जन

१ असोजबाट दशैं लक्षित सहुलियत पसल खोल्ने तयारी

काठमाडौं । सरकारले चाडवाडको अवसरमा आम उपभोक्तालाई लक्षित गरी असोज १ देखि कात्तिक २४ गतेसम्म सुपथ मूल्यको पसल सञ्चालन गर्ने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस्तो व्यवस्था गर्न लागेको हो । यो वर्ष असोज १ गतेदेखि देशभर सुपथ मूल्य पसल सञ्चालनको तयारी कम्पनीले गरेको छ । हरेक वर्ष दशैं, तिहार र छठ पर्वका बेला सरकारले सुपथ मूल्य सपल सञ्चालन गर्दै आएको छ ।

कम्पनीले देशका ३९ जिल्लाका ४३ स्थानहरुमा सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको हो । । लिमिटेडले हरेक वर्ष चाडवाडको अवसरमा आम उपभोक्तालाई लक्षित गरी देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । उपत्यकाभित्र नख्खु, थापाथली, रामशाहपथ, जावलाखेल, बल्खु, टेकु, जडीबुटी र सल्लाघारी लगायतका स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।

उपत्यका बाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौंडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुँदै छ । यसबाहेक हरेक वर्ष साल्ट ट्रेडिङ कर्पोरेसन, नेशनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान र दुग्ध विकास संस्थापनले पनि विभिन्न ठाउँहरुमा सुपथ मूल्य पसल सञ्चालन गर्छन् । सुपथ मूल्य पसल बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म खुला हुनेछ । सुपथ मूल्य पसलमा चामल, दाल, चिउरा, पिठो र तेलमा पाँच रूपियाँ छुट गरिएको छ । त्यस्तै भटमासको तेल, मासु र कर्णाली सिमीमा दश रुपियाँ छुट गरिएको छ ।