समाचार

पुनर्निर्माण पुरा नभएको काम सरकारी निकायमा हस्तान्तरण, रणनीतिक महत्वका आयोजना भने प्राधिकरणमै

Photo : Prasasan.com

काठमाडौं । नेपालको पुनर्निर्माण कमजोर आयस्रोत भएका विश्वका अन्य मुलुकको तुलनामा छिटो र नमुनायोग्य बनेको छ । २०७२ सालको भूकम्पबाट भत्किएका संरचनाको पुनर्निर्माण गर्न स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आगामी पुसबाट अवधि पुरा भई विघटन हुने छ । त्यसअगाडी नै प्राधिकरणले निजी आवासलगायतका संरचनाको पुनर्निर्माणसम्बन्धी बाँकी काम सम्बन्धित निकायमा हस्तान्तरण गरेको छ ।

बुधवार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित कार्यक्रममा पुनर्निर्माण हुन बाँकी निजी आवास, बस्ती विकास, सरकारी एवम् सार्वजनिक भवन, स्वास्थ्य संस्था, शैक्षिक संस्था, गुम्बा तथा सडक एवम् पुलको काम हस्तान्तरण गरिएको छ । निजी आवास तथा बस्ती विकासतर्फका बाँकी काम सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरियो । यसका साथै सरकारी, सार्वजनिक भवन एवम् स्वास्थ्य संस्था र अहिले केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) मार्फत सञ्चालित सम्पदा एवम् गुम्बाको पुनर्निर्माणसम्बन्धी काम पनि विभागलाई हस्तान्तरण गरिएको छ ।

यसका साथै केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले गर्दै आएको निजी आवास तथा बस्ती विकासतर्फको वित्तीय एवम् प्राविधिक व्यवस्थापनसहितका पुनर्निर्माणसम्बन्धी बाँकी काम पनि सहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण भएको छ । शैक्षिक संस्थाको पुनर्निर्माणसम्बन्धी बाँकी काम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र त्यसअन्तर्गतका तोकिएका जिल्लामा रहेका कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

सडक तथा पुल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागलाई हस्तान्तरण भएको छ । अब यो विभागले गुम्बा व्यवस्थापन समितिको समन्वयमा एक सय वर्ष नपुगेका पुनर्निर्माण गर्न बाँकी गुम्बाको पुनर्निर्माणसम्बन्धी काम पनि गर्नेछ । पुनर्निर्माण गर्न बाँकी रहेका कामसहित सम्बन्धित केन्द्रीय एवम् जिल्ला आयोजना कार्यान्वयन इकाइअन्तर्गत रहेका सम्पत्ति, दायित्व, श्रेस्ता कागजात, बेरुजु विवरण एवम् कार्यालयसमेत सम्बन्धित निकायमा हस्तान्तरण भएका छन् ।

हस्तान्तरणपछि जिम्मेवारी लिएका निकायले तत्कालै पुनर्निर्माणका काम सञ्चालन गर्नेछन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण प्राधिकरणका पाँच वर्ष आठ महिना २० दिनमा पुननर्निर्माण गर्नुपर्ने कुल संरचनामध्ये प्रायः सबै काम सम्पन्न भएका वा सम्पन्न हुने चरणमा रहेको बताए । ज्ञवालीले नेपालको अनुभव अन्तर्राष्ट्रिय समुदायलाई बाँड्न आउँदो मङ्सिर २१ देखि २३ सम्म अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको र त्यस अवसरमा ‘विपद्–जोखिमबाट सुरक्षित नेपाल निर्माणसम्बन्धी मार्गचित्रसहितको खाका’ प्रस्तुत गरिने पनि जानकारी दिए ।

यही भदौ ९ गते प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको २० औँ बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण गर्न बाँकी रहेका काम सम्बन्धित निकायमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो । पुनर्निर्माण गर्न बाँकी रहेका काम हस्तान्तरण भए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भने आउँदो पुस १० गतेसम्म क्रियाशील रहनेछ । यसबीचमा प्राधिकरणले धरहरा, रानीपोखरी, सिंहदरबार एवम् नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रहेको रणोद्वीप दरबारको पुनर्निर्माणको काम हेर्नेछ । यस्तै लेखा परीक्षणका साथै हस्तान्तरण गर्ने कामको सहजीकरण, लेखा परीक्षण र अन्तर्राष्ट्रिय सम्मेलनका काम पनि सम्पादन गर्नेछ ।