फिचर

कतार प्रहरीमा नेपालीले भर्ति नपाउने, कारण के हो ?

काठमाडौं । कतार सरकारले त्यहाँको प्रहरीमा नेपाली नागरिकलाई भर्ति हुन रोकेको छ । कतार सरकारले दोहास्थित नेपाली दूतावासमा यसबारे औपचारिक जानकारी गराएको छ । नेपाली नागरिकलाई कतारी प्रहरीमा भर्ना दिने सम्बन्धमा नेपाल सरकारले समयमै निर्णय गर्न नसक्दा यस्तो अवस्था आएको बताइएको छ । पछिल्लो निर्णयपछि कतार प्रहरीमा भर्ना हुन छानिएका दुई सय जना नेपालीको समेत भविश्य अन्यौलमा परेको छ ।

कतारले सन् २०२१ का लागि प्रहरीमा लैजान अघिल्लो वर्ष माग गरेको थियो । त्यसको आवश्यकता, करारका साथसाथै कुन ठाउँमा काम गर्ने भनेर दूतावासलाई जानकारी समेत गराएको थियो । तर, नेपालले लामो समयसम्म जवाफ नदिएपछि यो प्रक्रिया तत्कालका लागि रोकिएको हो । कतारले गत मंसिरबाटै प्रहरी सेवामा भर्ना गर्न खोजेको थियो । म्यानपावर कम्पनी वा सरकारी संयन्त्रमार्फत भर्ना गर्ने भन्नेमा विवाद भएपछि यो प्रक्रिया अगाडि बढेको थिएन । मंसिर पहिलो साता मागपत्र प्रमाणीकरण नभई म्यानपावर कम्पनीले अन्तर्वार्ता राखेपछि वैदेशिक रोजगार विभागले हस्तक्षेप गरेको थियो ।

त्यसबेला अन्तर्वार्ता लिनका लागि कतारका उच्च अधिकारी काठमाडौं नै आएका थिए । कतारको आन्तरिक मन्त्रालयले अल तौकेत ओभरसिजमार्फत दुई सय नेपालीलाई भर्ना गर्ने भन्दै मंसिर अन्तिम साता नेपाली दूतावासमा प्रमाणीकरणका लागि मागपत्र पेस गरेको थियो । दूतावासले मागपत्र प्रमाणीकरण गर्ने कि नगर्ने भनेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्र पठाएको थियो । तर, मन्त्रालयले भने यसबारे जवाफ नै दिएन ।