समाचार

इटलीमा कर्मचारीले अनिवार्य खोप लगाउनु पर्ने, सरकारले दिने भयो 'ग्रीन पास'

Photo source : CNN

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण यूरोपमा सबैभन्दा प्रभावित मुलुकमध्ये एक इटलीमा मानिसहरुले अझै खोप लिन आनाकानी गरिरहेका छन् । यहाँ खोप अभियान बढाउन सरकारले कडा नियम ल्याएको छ । अब यस मुलुकमा सबै कर्मचारीले अनिवार्य खोप लगाउनु पर्नेछ । नभए उनीहरुले कोभिड परीक्षण गर्दा नतिजा नेगेटिभ आएको वा कोरोनाभाइरसबाट सङ्क्रमित भएर निको भएको प्रमाण अनिवार्य पेस गर्नुपर्ने छ ।

बीबीसीका अनुसार त्यहाँ सरकारले खोप लगाउने कर्मचारीलाई हरियो पास दिनेछ । हरियो पास नहुने कर्मचारी निलम्बनमा पर्नसक्ने छन् । उनीहरूको पारिश्रमिक पाँच दिनसम्म रोक्न सकिने समेत बताइएको छ। अक्टोबर १५ तारिखबाट कार्यान्वयनमा आउने उक्त व्यवस्था कोभिडको व्यापक असर झेलेको इटलीमा खोप लगाउनेहरूको सङ्ख्या बढाउन गर्न लागिएको समेत बीबीसीले उल्लेख गरेको छ ।

डिजिटल माध्यमबाट र कार्डका रूपमा उपलब्ध गराइने हरियो पास रेल स्टेसन, सिनेमा हल, रेष्टुराँ, व्यायामशाला र पौडी पोखरीका लागि उपलब्ध गराउनुपर्ने व्यवस्था इटलीमा विद्यमान छ। विद्यालयका कर्मचारीहरूले पनि हरियो पास देखाउनुपर्ने हुन्छ। केही शिक्षकहरूलाई त्यस्तो गर्न नसकेका कारण कामबाट फर्कन भनिएको बताइएको छ।

इटलीमा मध्य अक्टोबरदेखि झन्डै २ करोड ३० लाख मानिसहरूले त्यस्तो प्रमाणित गर्नुपर्नेछ। हालसम्म खोप नलगाएका ४० लाख कामदारहरूलाई प्रेरित गर्न यो व्यवस्था सार्वजनिक गरिएको समाचारमा उल्लेख छ ।