डायस्पोरा

म्यासाच्यूसेट्समा नेपाली राजदूतावासले घुम्ती शिविर गर्ने

सुपेन्द्र बस्नेत, बोष्टन

अमेरिकाको वाशिङ्गटन डिसीस्थित नेपाली राजदूतावासले आफ्ना सेवाग्राहीहरुलाई लक्षित गरी म्यासाच्यूसेट्स राज्यको बोस्टनमा दुइ दिने घुम्ति कन्सुलर सेवा शिविर गर्ने भएको छ। उक्त शिविर मार्फत म्यासाच्यूसेट्स राज्यसहित न्यु ह्याम्सायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी आफ्नो सेवा प्रदान गर्न लागेको हो । त्यसका लागि नेपाली राजदूतावास, बोस्टनस्थित एनआरएनए(NRNA) म्यासाच्यूसेट्स च्याप्टर, ग्रेटर बोष्टन नेपाली कम्युनिटी र एनआरएनए न्यु ह्याम्सायर च्याप्टरको संयुक्त आयोजनामा यही सेप्टेम्बर २५ तारिख शनिवार र २६ तारिख आइतवारका दिन हुनगइरहेको उक्त घुम्ती शिविर, म्यासाच्यूसेट्स राज्यको Arlington city को 15 Winslow Street, स्थित Columbus club of Arlington मा हुने आयोजक संस्था एनआरएनए (NRNA)म्यासाच्यूसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङले जानकारी दिनु भयो। तामाङले दिनु भएको जानकारी अनुसार कन्सुलर सेवा शिविर मार्फत सेवाग्राहीहरुले राहदानी नविकरण (अगष्ट २०२२ सम्म बहाल अवधि रहेकाहरुले नविकरण गर्न सक्ने), गैर आवासीय नेपाली परिचयपत्र (NRN ID), अधिकृत वारेसनामा (Power of Attorney), कागजात प्रमाणिकरण(Attestation), एकतर्फी यात्रा अनुमतिपत्र (One way Travel Document)।
र पर्यटक भिषा(Tourist Visa)
सेवाहरु प्राप्त गर्न सक्ने छन्।चाहेर पनि कोरोना कहरका कारण नेपाली समुदायलाई यस प्रकारको सेवा प्रादान गर्ने व्यवस्था गर्न नसकिएको तर अहिले स्थिति सहज भएकाले घुम्ति शिविर सञ्चालन गर्न लागिएको तामाङले बताउनु भयो। घुम्ती शिविरबाट प्रदान गर्न लागिएका सेवाहरु लिन वासिङटन डिसीसम्म पुग्नु पर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर गर्दै स्थानीय स्तरबाटै सहज तरिकाले सेवा प्रदान गर्ने उद्देश्यले गरिएको प्रयासबाट बढि भन्दा बढी सेवाग्राहीहरु लाभान्वित हुने आयोजकलाई विश्वास छ । दैलोमै आइपुगेको यस घुम्ती शिविरबाट बढी भन्दा बढी सेवा लिइ लाभान्वित हुन सेवाग्राहीहरुलाई अनुरोध गर्दै तामाङ भन्नु हुन्छ ” दैलोमै सेवा लिने यो सुवर्ण अवसर हो। यो मौकामा आवश्यक परेका सेवाहरु लिएर लाभान्वित हुन सबैलाई अनुरोध गर्दछु ।”
घुम्ती शिविरलाई बढी भन्दा प्रभावकारी र फलदायी बनाउन आयोजक संस्थाहरु कार्यविभाजन गरी आवश्यक तयारीमा जुटिसकेको आयोजक संस्था ग्रेटर बोष्टन नेपाली कम्युनिटिका उपाध्यक्ष परशुराम फुयालले जानकारी दिनु भयो ।
” हामी कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक तयारीमा जुटिसकेका छौं । घु्ती शिविरलाई बढी भन्दा बढी प्रभावकारी र उपलब्धिमूलक बनाउन, व्यापक प्रचार प्रसारको खाँचो छ । त्यसैले अहिले अन्य तयारीसंगै प्रचार प्रसारलाई बढी जोड दिइरहेका छौं । ” फूयालले भन्नु भयो ” सेवाग्राहीहरुसम्म सूचना पुर्याउन आवश्यक प्रभावकारी प्रचार प्रसारका लागि सहयोग पुर्याउन सबैलाई अनुरोध गर्दछौं ।”उपाध्यक्ष फुयालले शिविर सफलता पूर्वक सम्पन्न हुनेमा समेत विश्वास व्यक्त गर्नु भयो। उहाँका अनुसार अमेरिका लागि नेपाली राजदूत युवराज खतिवडाको समुपस्थितिमा हुने
उक्त शिविरबाट करिब दुइ सय जना सेवाग्राहीहरुले सेवा लिने आयोजकले अनुमान गरेको छ । राजदूतावासले घुम्ती शिविरबाट प्रदान गर्न लागिएका सेवाहरु प्राप्त गर्नका लागि आवश्यक कागजात, शुल्क र प्रक्रियाबारेमा विस्तृत जानकारीको लागि राजदूतावासको आधिकारिक वेबसाइडमा हेर्न अनुरोध गरेको छ ।
कोभिड-19 का कारण स्वास्थ्य सुरक्षार्थ आफूलाई चाहिएको सेवाका लागि चाहिने आवश्य पूरा विवरण खुल्ने गरी अग्रिम आफ्नो नाम दर्ता गर्न सेवाग्राहीहरुलाई अनुरोध समेत गरेको छ ।