फिचर

एएफसी महिला एसियन कप छनोटमा नेपाल र फिलिपिन्स भिड्दै

Photo : NSJF

काठमाडौं । आज एएफसी महिला एसियन कपमा छनोट प्रतियोगितामा नेपालले आफ्नो यात्रा शुरु गर्दैछ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उज्वेकिस्तानमा आज फिलिपिन्सको सामना गर्दैछ । समूह एफ मा रहेको नेपाल र फिलिपिन्स दुबै स्पष्ट जित निकाल्दै अंक जोड्न चाहन्छन् । नेपालको महिला टिमले सन् २०१९ पछि पहिलो पटक प्रतिस्पर्धात्मक फुटबल खेल्न लागेको हो । महिला टीमले सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी साम्बालाई भने चोटका कारण गुमाएको छ । उनको अभाव टीममा स्पष्ट देखिन्छ ।

एसियन कप भने अर्को वर्ष भारतमा आयोजना हुने छ । यो प्रतियोगितामा नेपालले आफूभन्दा वरीयतामा माथि रहेका दुई टिम फिलिपिन्स र हङकङको सामना गर्दैछ । समूहमा शीर्ष स्थानमा रहने टोली मात्र एसिया कपमा छनोट हुनेछ । फिफा वरीयतामा फिलिपिन्स ६८औं, नेपाल १०१औं र हङकङ ७६औं स्थानमा छन् ।