समाचार

आज संविधान दिवस, राष्ट्रपति र प्रधानमन्त्रीले के भने ?

काठमाडौं । आज नेपालमा संविधान दिवस मनाइंदै छ। नेपालमा सरकारले २०७२ साल असोज ३ मा संविधान जारी भएको अवसर पारी सार्वजनिक बिदा दिने गरेको छ । यस उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु युगीन अभिभारा भएको बताएकी छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्न, नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्न समेत आवश्यक रहेको बताइन् । नेपाली जनताको बलिदानपूर्ण सङ्घर्षको फलस्वरुप जननिर्वाचित संविधानसभाद्वारा २०७२ साल आश्विन ३ गते नेपालको संविधान जारी भएकामा सम्मान र त्यस दिनको स्मरणस्वरुप आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेको समेत उनले बताएकी छिन् ।

लामो समयको सङ्क्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दलहरू संविधानप्रदत्त नागरिक अधिकारको उपयोग गरी शान्तिपूर्ण माध्यमबाट आफ्ना राजनीतिक उद्देश्य हासिल गर्न सकिने दृष्टिकोणसहित राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल भइरहेका तथा नयाँ संविधान जारी भएयताका वर्षमा संविधानप्रतिको ग्रहणशीलता बढ्दै जाँदा मुलुकको शान्ति र राजनीतिक स्थायित्वका लागि ठूलो योगदान पुगेको राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

उता, प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन् । उनले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प गर्नु आवश्यक रहेको भनेका छन् ।

प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको सरकारका पालामा संविधानसभाबाट विसं २०७२ असोज ३ गते घोषणा भएको नेपालको संविधान लामो संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । उनले चैतभित्र सबै नेपालीलाई पूर्ण खोप लगाउनु सरकारको मुख्य लक्ष्य भएको समेत बताएका छन् ।