फिचर

रुसी राष्ट्रपति र भारतका प्रधानमन्त्रीले दिए संविधान दिवसको शुभकामना

Photo : DNA India

काठमाडौं । नेपालको संविधान एवं राष्ट्रिय दिवसका अवसरमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइतबार एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति पुटिनले रसिया र नेपालबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको जनाएका छन् । उनले विविध क्षेत्रका दुईपक्षीय सहायता अझ अभिवृद्धि हुने विश्वास समेत व्यक्त गरेका छन् । दुवै देशका जनताको हितमा हाम्रो सम्बन्ध अघि बढ्ने र त्यसले क्षेत्रीय सुरक्षा र स्थायित्व सुनिश्चित गर्ने विश्वास पनि राष्ट्रपति पुटिनले सन्देशमा व्यक्त गरेका छन् । उनले राष्ट्रपति भण्डारीको सुस्वास्थ्य सफलताका साथै नेपाली जनताको शान्ति र हितको कामना गरेका छन् ।

उता, नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले नेपाली जनताका साथै प्रधानमन्त्री देउवाप्रति बधाई ज्ञापन गरेका हुन् । संस्कृतिको सुदृढ सूत्र, पारस्परिक सम्पर्क र जनता(जनताबीचको सम्बन्धले भारत र नेपाललाई जोडेको बताउँदै उनले सन्देशमा दुवै देशबीचको अनुपम एवम् विशेष साझेदारीयुक्त समान सम्बन्ध विश्वका केही देशबीचमात्र रहेको उल्लेख गरेका छन् । अकल्पनीय कोभिडको महामारीबाट मुक्त हुनेतर्फ विश्व अग्रसर भइरहेको अहिलेको अवस्थामा महामारीका कारण सिर्जित चुनौतीको सामना गर्न नेपाललाई भारतबाट निरन्तर एवम् अविचलित सहयोग हुने प्रतिबद्धता प्रधानमन्त्री मोदीले सन्देशमा लेखेका छन् ।