समाचार

काठमाडौंमा दशैंका खसी-बोका शनिबारबाट किन्न सकिने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्रि गर्ने दशैँका खसीबोका शनिबारबाट किन्न सकिने भएको छ । कम्पनीले आजबाटै खसीबोका बेच्ने लक्ष्य राखेपनि काठमाडौं ल्याउन र मूल्य निर्धारणमा समय लागेका कारण बिक्रि गर्न नसकेको कम्पनीका अधिकारीहरुले जनाएका छन् । कम्पनीले आज मूल्य निर्धारण गर्नेछ । खाद्यले बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सस्तोमा खसी बोका बेच्ने योजना बनाएको छ ।

दशैँका लागि दाङ, मकवानपुर लगायतका ठाउँबाट खसी बोका ल्याइएकोछ । खसीबोका कम्पनीको केन्द्रीय कार्यालय थापाथलीमा राखिएको छ । दाङबाट पहिलो खेपमा एक सय ९० वटा खसीबोका ल्याइएको छ । दाङबाट जम्मा ८ सय खसीबोका ल्याउने योजना छ । मकवानपुरबाट आजदेखि खसीबोका काठमाडौं ल्याउने छ । मकवानपुरबाट एक हजार दुई सय खसीबोका काठमाडौं ल्याउने योजना छ । खाद्यले प्रतिकिलो ५ सय ४५ देखि पाँच सय ६५ रुपैयाँमा खसीबोका खरिद गरेको बताइएको छ ।