विश्व

नोबेल शान्ति पुरस्कार फिलिपिनी र रसियाली पत्रकारलाई

काठमाडौं । सन् २०२१ को नोबेल शान्ति पुरस्कार फिलिपिन्स र रूसका दुई जना पत्रकारले पाएका छन् ।

नोबेल पुरस्कार कमिटीका अनुसार यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिनो(अमेरिकी पत्रकार मारिया रेसा र रुसी पत्रकार दिमित्री मुरातोभलाई प्रदान गरिने भएको हो।

ती मुलुकमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि उनीहरूले गरेको साहसपूर्ण कामका लागि नोबेल पुरस्कार छनौट समितिले नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो ।

स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित पत्रकारिताले शक्तिको दुरुपयोग हुनबाट जोगउने, असत्य र युद्ध हुनबाट जोगाउने काम गर्ने बताइएको छ।

रेसा फिलिपिन्सको पेसिगबाट सञ्‍चालन हुने समाचार वेबसाइट र्‍यापलरकी संस्थापक तथा सीईओ हुन्। त्यसअघि उनले झन्डै २० वर्ष सीएनएनका लागि दक्षिणपूर्वी एसियाबाट खोज पत्रकारका रूपमा काम गरेकी थिइन्।

फेक न्युजविरुद्धको अभियानका लागि टाइम म्यागजिनले उनलाई सन् २०१८ मा वर्ष व्यक्तिसमेत घोषणा गरेको थियो। उनी फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेको कट्टर आलोचक हुन्।

उनलाई सन् २०१९ साइबर अपराधको आरोपमा पक्राउ गरिएको थियो। उनी रिपोर्टर्स विदाउथ बोर्डर्सको सूचना तथा प्रजातन्त्र आयोगकी सदस्यसमेत हुन्।

त्यस्तै मुतारोभ रूसी अखबार नोभाया ग्याजेटाका प्रधान सम्पादक हुन्। उनले सन् १९९५ देखि २०१७ सम्म अखबारको सम्पादन गरेका थिए। नोभाया ग्याजेटालाई कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले ‘आजको रूसमा एक मात्र राष्ट्रिय रूपमा प्रभाव पार्न सक्ने आलोचनात्मक अखबार’ को संज्ञा दिएको छ।

सन् १९९३ मा रुसमा स्थापना भएको स्वतन्त्र पत्रिका नोभाजा गजेटका संस्थापकमध्ये उनी एक थिए। १९९५ देखि उक्त पत्रिकाको उनी प्रधान सम्पादक समेत रहँदैआएका छन्।

१९९३ मा सुरु भएदेखि नै नोभाया ग्याजेटाले भ्रष्टाचार, प्रहरी हिंसा, गैरकानुनी गिरफ्तारी, चुनावी अनियमितताविरुद्ध थुप्रै आलोचनात्मक आलेख प्रकाशन गर्दै आएको छ।

यस वर्ष नोबेल शान्ति पुरस्कारका लागि ३२९ जनाको आवेदन परेको थियो ।

यसअघि साहित्यतर्फ, रसायनशास्त्र, भौतिकशास्त्र र चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा गरिसकिएको छ ।

यसबर्षको साहित्यतर्फको नोबेल पुरस्कार उपन्यासकार अब्दुलरजाक गुर्नहलाई प्रदान गरिएको थियो भने २०२१ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जर्मनीका वैज्ञानिक बेन्जामिन लिस्ट र अमेरिकी वैज्ञानिक डेविड म्याकमिलनलाई दिने घोषणा गरिएको छ ।

त्यस्तै भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार सुकोरो मनाबे, क्लाउस हेसलमन र जर्जियो परिसीलाई दिने घोषणा गरिएको थियो भने चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी डाक्टर डेभिड जुलियस र लेबनानी डाक्टर अर्डम पाटापोटियनलाई संयुक्तरुपमा प्रदान गरिएको थियो ।

स्नायु प्रणालीले तापक्रम र स्पर्श थाहा पाउँछ भन्ने कुरा पत्ता लगाएका जुलियस र पाटापोटियनलाई नोबेल पुरस्कार दिइएको थियो ।

अक्टोबर ४ देखि ११ सम्म चल्ने पुरस्कार घोषणा कार्यक्रममा सोमबार अर्थशास्त्रतर्फको पुरस्कार घोषणा गरिँदै छ।