बिचार

बृहत् रुपमा मनाऔं महान चाड- बडा दशैं

सुपेन्द्र बस्नेत, बोष्टन

दशैं आयो, खाउँला पिउँला ।
कहाँ पाउँला – चोरी ल्याउला ।
धत्त पापि म त छुट्टै बसौंला ।।

निकै महत्पूर्ण सन्देश बोकेका यि हरफहरुमा भाखा हालेर बाल्यकालमा खुबै खेलिन्थ्यो। नेपालीहरुको महान चाड बडा दशैं नजिकिन थालेपछि यो निकै प्राथमिकताका साथ गुन्जिने गर्दथ्यो। जो आजसम्म पनि प्राथमिकताका साथ स्मरण गरिने गरिन्छ।र, निरन्तर गुन्जिनै रहेको छ।
वर्षा ऋतु समाप्ति पछि जब सरद ऋतुको आगम हुन्छ। तब, बिहानी पख हल्का हुस्सु लाग्न थालेर चिसोको अनुभूति हुन्छ।दिउसो पारिलो घाम लागेर घमाइलो र आकाश खुलेर रमाइलो देखिन थाल्छ। गाइने किरा(फिरफिरे)हरुको आगमन, झ्याकिरीहरुको झ्याउ झ्याउ, बिहानी पख चराको चिरबिर, बत्तिमा पुतलीहरुको आकर्षण आदि इत्यादिले नेपालीहरुको महान चाड बडा दशैं आएको सन्देश दिन्छ।
यतिबेला स्वदेशमा रहने नेपालीलाई मात्र हैन, विदेशमा रहने नेपालीहरुलाई पनि नेपालीहरुको महान चाड ‘बडा दशैं’ ले मज्जाले छोइसकेको छ।हिन्दु धार्मिकग्रन्थ अनुसार, रामले रावरणको र महादुर्गा भवानीले महिसासुर राक्षसको बध गरेको खुशीयालीको महाउत्सव हो यो बडा दशैं।जसलाई असत्य माथि सत्यले विजय प्राप्त गरेको महत्वपूर्ण क्षणका रुपमा स्मरण, चर्चा, चित्रण र पूजन गर्ने गरिन्छ। यस अर्थमा धार्मिक दृष्टिकोणले बडा दशैंको मूल मर्म शक्ति र सत्यको पूजा, अर्चना, साधना र आराधन हो। सामाजिक, साँस्कृतिक ,परम्परा, चालचलन र रहनसहनका दृष्टिकोणले बडा दशैंलाई पारिवारिक मिलन, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, एकता, पहिचान र मनोरञ्जनको एक महान महोत्सवको रुपमा चित्रण र व्याख्या पनि गर्न गरिन्छ।तर, मुलत: बडा दशैंको मूल मर्म धार्मिक क्रियाकलाप, आस्था र विश्वासमा नै केन्द्रिकृत रहेको छ। हिजोआज यस महान पर्वलाई ‘विजयादशमी’ भनेर सम्बोधन गर्ने, चिन्ने, चिनाउने, व्याख्या गर्ने र सोही अनुसार मनाउने गरेको पाइन्छ। खास गरी सामाजिक सञ्जालहरु र सञ्चार माध्यमहरुमा जानेर वा नजानेर यस महान चाडलाई ‘बडा दशैं’ को सट्टा प्राथमिकताका साथ ‘विजयादशमी’ मात्र भनेर सम्बोधन गर्दै शुभकामना आदानप्रदान गरिरहेको देखिन्छ।जसले नजानिदो ढंगले बृहत महिमा, गरिमा र महत्व बोकेको चाडलाई संकुचित र कुन्ठित गरिरहेको छ।अझ भनौं चाडको मूल मर्मलाई नै ओझेलमा पारिरहेको छ। हिन्दु धार्मिक पात्रो अनुसार सोह्र श्राद्ध (भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी(जमरे औंसी)सम्मका १६ तिथि समाप्त भएर नौरथा प्रारम्भ भएसंगै बडा दशैं शुभारम्भ हु्न्छ।मुलत: जमरा राख्ने दिन घटस्थापनादेखि टिका लगाउने दिन दशमीसम्मको दश दिनलाई बिषेश मानिन्छ। यद्यपि, पूर्णिमाको दिनसम्म दशैंको टिका लगाएर हर्षोल्लास मनाउने चलन छ।
हिन्दु धर्मग्रन्थ अनुसार आश्विन शुक्लपक्षको प्रतिपदा अर्थात घटस्थापनादेखि नवमीसम्मको हरेक दिन नवदुर्गाको भिन्न भिन्न स्वरुपले दशैंको क्षेत्र बृहद रहेको पुष्टि गर्दछ।
धार्मिकग्रन्थका अनुसार महिसासुर लगायतका दानवहरुको बध गर्ने अभियानका क्रममा नौं रुप धारण गरेको विश्वास गरिन्छ। त्यसैले दुर्गालाई नवदुर्गाका नामले पनि पुकारिने गरिन्छ। यसरी धार्मिक ग्रन्थ अनुसार हरेक दिन(नौ दिन) र असत्य माथि सत्यको विजय प्राप्त भएको दशमीको दिन, जसलाई विजयादशमी भनेर पुकारिन्छ, सहितलाई समेटेर संयुक्त रुपमा ‘बडा दशैं’ भनेर सम्बोधन गरिनु पर्दछ। नकि ‘विजयादशमी’ मात्र । तब मात्र यो बृहत चाडको यथार्थ मर्म, महत्व, गरिमा र महिमा दर्शाउन र बचाउन सकिन्छ । जसलाई पुष्टि गर्न नवदुर्गाको नौं रुप, त्यसको शक्ति, भूमिका र महत्वलाई यसरी उल्लेख गरिएको पाइन्छ ।

१) शैलपुत्री – हिमालय पर्वतकी पुत्रीको रुपमा उत्पन्न ६ वटा हात भएकी नवदुर्गाको पहिलो रुपलाई शैलपुत्री भन्ने गरिन्छ। जसको हातहरु शंख, चक्र, गधा, पध्म, त्रिशुल र डम्बरुले सुशोभित भएका हुन्छन्। महिसासुर सहित दानवहरुले देवगण माथि अति नै अत्याचार गरेपछि दानवहरुको नष्ट गरेर देवगणको रक्षा गर्ने महाअभियान सफल पार्न आफ्नो रुपधारण गरेकी नवदुर्गाको पहिलो रुप हो यो। सोही अनुसार यस दिन उनको पूजा, अर्चना र साधना गर्ने गरिन्छ।
२) ब्रम्हचारिणी – नवदुर्गाको दोस्रो रुपलाई ब्रम्हचारिणी भनिन्छ। यो पाँचवटा हात भएकी ब्रम्हचारिणी शंख, चक्र, गधा, पध्म, जपमाला तथा अमृतले भरिएको अमृतघडाले सुशोभित रुप हो। जो उनको ध्यान जपको रुप हो। शास्त्र अनुसार, नव दुर्गा महिसासुरको वध गर्नु उचित हो वा होइन ? भन्ने यकिन गर्नका लागि आत्मज्ञान प्राप्त गर्न यो रुप धारण गरी ध्यान जपमा लिन भएकी विश्वास गरिदै आइएको छ।

३) चन्द्रघण्टा – चार हातमा शंख, चक्र, गधा र पध्म बोकेकी र मस्तकमा घण्टा आकारको अर्ध चन्द्र रहेको नव दुर्गाको तेश्रो रुप चन्द्रघण्टा हो।शास्त्र अनुसार, घण्टालाई सञ्चार र चन्द्रलाई फैलाउनुको रुपमा अर्थ्याइएको पाइन्छ। यस दिन सोही अनुसार दुर्गाको पूजा, अर्चना, आराधन र प्रार्थना गर्ने गरिन्छ।

४) कुष्माण्डा – दुर्गा भगवतीको चौथो रुप कुष्माण्ड हो। महिसासुरको बध गर्ने अभियान अन्तरगत ब्रम्हाण्ड उत्पन्न गर्नका लागि उनले यो रुप धारण गरेको मान्यता रहेको छ। आफ्नो मुस्कानबाट ब्रम्हाण्ड उत्पन्न गरेकी हुनाले यिनलाई कुष्माण्डा भनिएको हो। देवीले महिसासुरलाई यस रुपले आफ्नो बसमा ल्याएकी थिइन्। जसलाई शक्तिशालिनी तथा शान्तिदायनी रुप पनि भन्ने गरिएको छ। नवरात्रको यस दिनलाई शक्ति पूजाको विशेष दिन पनि मानिन्छ ।

५) स्कन्दमाता – देवताका सेनापति स्कन्द कुमारकी माताको रुपलाई स्कन्दमाता भनिन्छ।दुर्गाले यस रुप धारण गरेर सत्यका लागि असत्यका विरुद्ध लड्न सेना तयार पारेको कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ ।

६. कात्ययानी –दुर्गाको छैटौं रुपलाई कात्ययानी भनिन्छ। कात्ययानले घोर तपश्या गरेर दुर्गालाई छोरीको रुपमा प्राप्त गरेकाले यस रुपलाई कात्ययानी भनिएको पाइन्छ। महिसासुरले आफ्नो मृत्यु जल, थल र वायु कहि पनि हुन नसकोस् ।र, कुनै पनि हतियारबाट नहोस् भनि बिष्णुबाट बरदान पाएका थिए। जसले गर्दा उनको बध गर्न असम्भव झै थियो। यस्तो निकै गम्भीर अवस्थालाई दुर्गामाताले यही रुपमा गहन चिन्तन मनन गरेर उसको बध गर्ने सही उपाय पहिचान गरेको विश्वास गरिन्छ ।

७) कालरात्री – यो दुर्गाको सातौं रुप हो। यो रुपमा दुर्गाको दाँयापट्टि ५ र बाँयापट्टि ४ हात रहेका छन्। उनको यस रुपको बाँया हातमा मुसल र दण्ड र दाँया हातमा त्रिशुल र तरवार सुशुजित छन्। देवीको यस अद्भुत शक्तिको कालरात्री स्वरुपलाई विनाशिनी पनि भनिन्छ । देवीले यस रुपमा महिसासुरलाई आफ्नो काखमा राखेर नङको सहायतामा पेट चिरेर बध गरेकी थिइन्। जसलाई असत्य माथि सत्यको विजय भएको विश्वास गरिन्छ। यसै विश्वासका कारण देवीको असत्यमाथि सत्यको विजय अभियान सफल भएको दिन भन्दै देवीको पूजनीय कर्मको सम्मान स्वरुप बली दिने प्रचलन चलिआएको मानिन्छ। जस अनुसार सप्तमीदेखि महाअष्टमीको दिनसम्म राँगा, बोका, भाले, हाँस, भेडाहरुको बली दिने प्रचलन छ। हिंसा गर्न नचाहनेहरुले भने घिरौँला, लौंका जस्ता तरकारीका कैडालाई पशुको स्वरुप दिएर बली दिने प्रचलन पनि छ।अहिंसावादीहरुले भने नवदुर्गालाई कदर स्वरुप नरिवल चडाउने गरेको पाइन्छ।

८) महागौरी – धर्मशास्त्रले नवदुर्गाले महिसासुरको बध गर्ने महाअभियानमा सफलता प्राप्त गरिसकेपछि आफ्नो आठौं रुपमा सबै बस्त्र तथा पहिरण सेतो धारण गरेको बताएको छ। शास्त्र अनुसार यस रुपमा उनले महिसासुर लगायतका दानवहरुको शरिर कुहाउने र उनीहरुलाई शान्ति दिलाउने काम फत्ते गरेको विश्वास गरिन्छ ।

९) सिद्धिधात्री – नव दुर्गाको अन्तिम रुप सिद्धिधात्री हो। यस रुपमा देवी दुर्गा बाँया हातमा अमृतघडा र दाँया हातमा स्वस्तिक तथा कमल र लिएकी छिन्। देवीले यस रुपमा यस अणिमा, महिमा, गरिमा, लधिमा, प्राप्ति, प्राकम्प, इशित्व र वशित्व नाम भएका आष्ट सिद्धि दिन सक्ने विश्वास गरिन्छ। नवमीको दिन शक्तिपीठ तथा देवीको पूजा, अर्चना, साधना र आराधना गर्नाले देवीको शक्ति र सिद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यहि विश्वासका आधारमा हिन्दु धर्मावलम्वीहरुले यस दिन माता नवदूर्गा भवानीको पूजा, अर्चना, साधना र आराधना गर्ने गर्दछन्।

बडा दशैंको दशौं दिन (जसलाई ‘विजयादशमी’ भन्ने गरिन्छ) लाई विजयोत्सवको मुख्य दिन मानिन्छ । यो दिन देवताले दानव माथि अर्थात सत्यले असत्यमाथि विजय प्राप्त गरेको विजयोत्सव मनाउने हर्षोल्लासको दिन हो। यो दिन नव दुर्गा दानवी शक्तिमाथि र भगवान रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा हर्षोल्लासका साथ खुसीयाली मनाउदै नव दुर्गा भवानी र भगवान श्री रामको पूजा, अर्चना, आराधन, साधना र प्रार्थना गर्दै विजयको प्रसाद ग्रहण गर्ने गरिन्छ।जस अनुसार, निधारमा विजयको प्रतिक रातो अबिरमा मुछिएको अक्षताको टिका र घटस्थापनाका दिन अर्थात नव दुर्गाले महिसारसुरलाई बध गर्ने अभियान फत्ते गर्न पहिलो रुप धारण गरेको दिन राखिएको जमरा शिरमा लगाउने चलन छ। यो नेपाली पात्रो अनुसार हरेक वर्ष आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिमा पर्दछ। यस दिन एक आपसमा उत्तरोत्तर प्रगति उन्नति, आरोग्य र दिर्घायुको कामनासहित शुभकामना आदानप्रदान गर्नुका साथै आफन्तजन, नातेदार, नाता कुटुम्ब, गुरु, मान्यवरहरुको हातबाट टिका तथा जमरा, दक्षिणा ग्रहण गर्दै अमुल्य गआशिर्वाद लिने प्रचलन चलिआएको छ।

बडा दशैंमा टिका लगाउदा पुरुषलाई दिने आशिर्वाद यस प्रकार रहेको छ :

आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।”

यसको अर्थ हो :-

द्रोणपुत्र अस्वत्थामको जस्तो लामो आयु अर्थात दीर्घायु होस्। दशरथ राजाको जस्तो धनसम्पति होस् । भगवान रामको जस्तो शत्रु नाश होस् । नहुष राजाको जस्तो ऐश्वर्य होस् । पवनसुत हनुमानको जस्तो गतिशिलता होस्।दुर्योधनको जस्तो मान होस् । सूर्यपुत्र कर्णको जस्तो दानवीरता होस्।हलधर बलरामको जस्तो बल होस् । कुन्ती पुत्र युधिष्ठरको जस्तो सत्यवादिता होस्।विदुरको जस्तो ज्ञान होस् । भगवान नारायणको जस्तो कृति वा प्रशिद्धि होस् ।

महिलालाई दिइने आशिर्वाद यस प्रकार रहेको छ :

“जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।”

यसको अर्थ हो:-

जयंती देवीको जस्तै महेश्वरीको रूप र विजयशलिनी होस्। मंगला देवीको जस्तो स्वतन्त्र ,मुक्ति देवीको रूपमा प्रसिद्दि होस्।काली देवी जसले सम्पूर्ण सृष्टिलाई आफूसँग समयमा लिने हुनु।भद्रकालीको जस्तै भद्र, खुशी, मंगल हुनु।कपालिनी देवीको जस्तो दुश्मनहरूका लागि भयानक हुनु।दुर्गाले जस्तै कर्म र उपासनाबाट दुर्गतिको नष्ट गर्नु। क्षमाकी देवीले जस्तै क्षमा दिनु।शिव देवी जस्तै कल्याणकारी र सर्वशक्तिमान हुनु।धातृ देवीले जस्तै सम्पूर्ण जीवको रक्षा गर्नु। स्वाहा देविले जस्तै हरेक यज्ञ र दानपुण्य गर्नु र स्वधा देवीले जस्तै मानवका हरेक यज्ञ दानपुण्यको संकल्प लिनु।

बडा दशैंको बृहत गरिमा, महिमा र महत्वका कारण टिका, जमरा, प्रसाद, आशिर्वाद र दक्षिणा ग्रहण गर्ने कार्य, पूर्णिमाको दिनसम्म गर्ने गरिन्छ। वर्ष दिनमा एक पटक विषेश र भव्य रुपमा मनाइने यस महान चाडलाई थप रौनक र हर्षोल्लासमय बनाउन शक्तिपीठहरुको दर्शन तथा पूजा आराधन गर्नुका साथै आफन्तजनहरुसंग भेटघाट गर्ने,
नयाँ नयाँ बस्त्रहरु लगाउने, मिष्ठान्न भोजन गर्ने गराउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती, चोक चौतारो, मठमन्दिर सरसफाइ तथा रंगरोघन गर्ने, पिङ खेल्ने, चङ्गा उडाउने, जस्ता क्रियाकलापहरु पनि गरिन्छ।यस अर्थमा ‘बडा दशैं’ धार्मिक ,साँस्कृतिक, सामाजिक , पारिवारिक , शैक्षिक, ज्ञान, पहिचान, परम्पार, रितिरिवाज, एकता, उत्सव आदिका दृष्टिले बहुआयामिक महान चाड हो।

यसरी घटस्थापनादेखि नवमीसम्म नव दुर्गाको नौं रुपको पूजा, अर्चना, आराधना, प्रार्थना र उपासना गर्ने र दशमीका दिन टिका, जमरा, प्रसाद, दक्षिणा र आशिर्वाद ग्रहण गर्दै हर्षोल्लासका साथ बृहत रुपमा मनाइने चाड भएकाले यो चाडलाई केबल ‘विजयादशमी’ मात्र नभनेर महान चाड ”बडा दशैं” कै नामले पुकारेर चाडको मूल मर्म अनुसार बृहत् रुपमा मनाउदै धार्मिक विधि र परम्पराको अनुसरण गर्ने, प्रचारप्रसार गर्ने, शुभकामना आदानप्रदान गर्ने, चर्चा परिचर्चा गर्ने, प्रवर्धन गर्ने र संरक्षण गर्ने गर्नु अपरिहार्य छ। नेपाल र नेपालीको सक्कली पहिचान पनि हो। यसर्थ, यस महान शुभ घडिमा सबैलाई यही नै अपिल गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ! असत्य माथि सत्यको विजय प्राप्त गर्न आवश्यक शक्ति मिलोस् ! नव दुर्गा भवानीले सबैको कल्याण गरुन् !