समाचार

म्यानमारले एकसाथ ५ हजार जनालाई रिहा गर्ने

Photo : Sky News

काठमाडौं । म्यान्मारमा देशको शासनसत्ता सेनाले लिने कदमको विरोध गर्दा पक्राउ परेका साढे पाँच हजारभन्दा बढी मानिसलाई मुक्त गरिने भएको छ । बीबीसीका अनुसारसैन्य सरकारले यस्तो घोषणा गरेको हो । गत फेब्रुअरीमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि रक्तपातपूर्ण विरोधप्रदर्शनहरू भएका थिए। त्यस क्रममा हजारौँ मानिसहरू पक्राउ परेका थिए भने सयौँ जनाको मृत्यु भएको थियो।

म्यान्मारका सैन्य नेता जेनरल मिन ओङ ह्लाइङले मानवीय कारणले ५,६३६ बन्दीलाई रिहा गरिने बताएका छन्। सेना प्रमुखलाई राजनीतिक सङ्कट अन्त्य गर्नका लागि पर्याप्त कदम नचालेको भन्दै एउटा वार्षिक क्षेत्रीय सम्मेलनमा आमन्त्रण नगर्ने निर्णय गरिएको केही दिनमा नै यस्तो घोषणा भएको हो। दक्षिण पूर्वी एशियाली देशहरूको सङ्गठन (आसियान)ले जेनरल मिन ओङ ह्लाइङको सट्टा म्यान्मारबाट एकजना गैरराजनीतिक व्यक्तिलाई निम्तो गर्ने निर्णय गरेको थियो।

एउटा निगरानी समूहका अनुसार म्यान्मारमा आङ सान सू चीलाई सत्ताबाट हटाइएपछि गरिएको दमनका क्रममा कम्तीमा १,१७८ जनाको मृत्यु भएको छ भने ७,३५५ जनलाई पक्राउ गर्नेदेखि अभियोग लगाउने र सजाय दिने काम भएको छ। सेना प्रमुख मिन ओङ ह्लाइङले अक्टोबर महिनाको अन्त्यतिर पर्ने एउटा महत्त्वपूर्ण बौद्ध पर्वलाई ध्यान दिएर उनीहरूलाई रिहा गरिन लागेको बताएकाछन् ।