मनोरञ्जन

अमेरिकाको टेक्ससमा सांगितिक महोत्सवमा भागदौड, कम्तिमा ८ मारिए

GETTY IMAGES\BBC

टेक्सस । अमेरिकाको टेक्ससमा एउटा साङ्गितिक महोत्सवको उदघाटनका अवसरमा भएको भागदौडमा परि कम्तीमा ८ जनाको मृत्यु भएको छ । घटनामा कैयौँ घाइते भएको बीबीसीले जनाएको छ । ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा भिड मञ्चको अगाडि जान खोज्दा भागाभाग मच्चिएको अधिकारीहरूले बताएका छ्न।

अधिकारीहरूका अनुसार ११ जना मानिसलाई हृदयाघात भएर अस्पताल लगिएको थियो र आठ जनाको मृत्यु भयो। करिब ३०० जनालाई चोटपटक लागेर उपचार गरिएको थियो। महोत्सवमा करिब ५० हजार मानिसको सहभागिता थियो। घटना शुक्रवार राति स्थानीय समय अनुसार करिब सवा ११ बजे भएको थियो।

मानिसको भिडले मञ्चको अघिल्लो भागलाई थिच्यो र मानिसहरू आतङ्कित हुन थाले, ह्युस्टन, अग्नि नियन्त्रक प्रमुख स्यामुयल पेनाकाले पत्रकारहरूलाई बताए। उनका अनुसार भागाभागमा परी मानिसहरू घाइते भएपछि त्यहाँ उपस्थित अरू मानिस झनै आत्तिएका हुन्।


ह्युस्टन क्रोनिकलका अनुसार, सोही सहरका र्‍यापर ट्राभिस स्कट आफ्नो ७५ मिनेट लामो प्रस्तुति अवधिमा धेरै पटक रोकिएका थिए। उनले अगाडि बसेका दर्शकहरूबीच तनाव सिर्जना भएको देखेका थिए। स्कटले सुरक्षाकर्मीहरूलाई उपस्थित दर्शक ठीक छन् भन्ने सुनिश्चित गर्न र भिडबाट बाहिर निक्लन मद्दत गर्न समेत आग्रह गरेका थिए। आकस्मिक सवारी साधनहरू, बत्तीहरू र आपत्कालीन फ्ल्यास, भिडमा धेरै पटक देखिएको सञ्चार माध्यममा जनाइएको छ।

मानिसहरू घाइते भएको देखिएपछि आयोजकले कार्यक्रम बन्द गरे। तर, घाइतेहरूको सङ्ख्या ठूलो भएका कारण उपलब्ध चिकित्सा सुविधा पर्याप्त नभएको अग्नि नियन्त्रक प्रमुखको दाबी छ। एबीसी थर्टिनले जनाए अनुसार शुक्रवार सयौँ मानिसहरू कार्यक्रम परिसरमा पुगेका थिए। कन्सर्टमा प्रवेश गर्नका लागि उनीहरूले सुरक्षा जाँच गर्ने मेटल डिटेक्टरजस्ता उपकरणहरू नै तोडमोड गरेका थिए। महोत्सवको दोस्रो र अन्तिम दिन शनिवार हुने कार्यक्रम रद्द गरिएको छ। आयोजक लाइभ नेसनले तत्काल घटनाबारे कुनै प्रतिक्रिया नजनाएको समाचार एजेन्जी रोयटर्सले जनाएको छ।