मनोरञ्जन

आज हरिबोधिनी एकादशी, उपबास बसी मनाईदै

काठमाडौं । आज हिन्दु धर्मावलम्बीले धुमधामका साथ हरिबोधिनी एकादशी मनाउँदैछन् । एक वर्षभर चौबीस वटा एकादशी पर्छन् । जसमध्ये ठूली एकादशीको महत्व बढी रहेको छ । चार महीनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आआफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा छ ।

आज सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल भगवान विष्णुलाई चढाएर प्रसादको रुपमा खाने गरिन्छ । हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्छ । सुनसरीको बराह क्षेत्र र काठमाडौंको बूढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशंखुनारायण, इचंगुनारायण र शेष नारायणमा विशेष मेला लाग्छ । हरिबोधनी एकादशीको दिन काठमाडौंका बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाले आज सार्वजनिक बिदा समेत गरेका छन् ।

हरिबोधनी एकादशीको अवसरमा संखुवासभाको खाँदबारी नगरपालिका, खोटाङको बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाले पनि कात्तिक २८ र २९ गते दुई दिन सार्वजनिक बिदा गरेका छन् । हरिबोधनी एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसी भगवान विष्णुको आराधना गरिन्छ ।

हिन्दू धर्मग्रन्थहरुमा तुलसी, पीपल, दुबो र शालिग्रामलाई भगवान विष्णुको प्रतीकको रुपमा मानेर पुजिन्छ । आषाढ शुक्ल एकादशीको दिनबाट भगवान विष्णु क्षीर सागरमा सुत्ने र कात्तिक शुक्ल एकादशीको दिनमा उठ्ने विश्वास गरिन्छ । त्यसैले आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने कात्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिएको हो ।