फिचर

ए-डिभिजन लिगको मूख्य प्रायोजक कतार एयरवेज, १ लाख ५० हजार डलरमा सम्झौता

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको मूख्य प्रायोजक कतार एयरवेज बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार एयरवेजबीच मूख्य प्रायोजकको सम्झौता भएको हो । पछिल्लो सिजन समेत लिगको प्रायोजक कतार एयरवेज नै थियो । यस पटक मूख्य प्रायोजक बनेवापत कतारले एन्फालाई १ लाख ५० हजार डलर प्रदान गर्नेछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार आयोजित कार्यक्रममा संघका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद अल इमानबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

कतार एयरवेज विश्व खेलकुदको विकास र विस्तारको पक्षमा रहेको भन्दै उनले नेपाली फुटबलमा पनि निरन्तर सहयोग रहने बताए । कतार एयरवेज बायर्न म्युनिक र पेरिस सेन्ट जर्मेन (पीएसजी) जस्ता विश्वस्तरीय क्लवको समेत मुख्य प्रायोजक हो । ‘ए’ डिभिजन लि शुक्रबारबाट सुरु हुनेछ ।